काठमाडौं - नेपाली काँग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले सम्बन्ध विच्छेद जस्तो संवेदनशील विषयलाई नक्कली भनेर गरिएको प्रचारप्रसारप्रति गम्भिर आपत्ती व्यक्त गरेका छन । 

उपसभापति गुरुङले आज एक विज्ञप्ती निकालेर विभिन्न सञ्चार माध्यमहरुले दिनहूँजसो आफ्नो बारेमा गलत र तर्कहिन विषय उठान गरेर आफ्नो मानहानी गरेको उल्लेख गरेका छन । 

उनले विज्ञप्तीमा श्रीमती ज्योति गुरुङसँग सम्बन्ध विच्छेद गर्नुपरेको फेहरिस्तसमेत लेखेका छन । 

श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि पनि सहकारीको ऋण तिर्न आफूले मिनबहादुर गुरुङसँग ऋण लिएको पनि उल्लेख गरेका छन । मिनबहादुर आफ्नो नातेदार भएको उनको विज्ञप्तीमा उल्लेख छ ।

सहकारीको रकम हिनामिनामा आफ्नो कुनै भूमिका नभएको बरु आफूले नैतिकताको विषय भएकोले खोजेर भएपनि ऋण तिरेको उनको भनाइ छ ।

आफू कृष्णप्रसाद भट्टराईको अनुयायी भएको र सादगी जीवन विताउँदै आएकोले आफ्नो सम्पत्ती छानवीन गर्न पनि उनले चुनौति दिएका छन। 

गलत समाचारले आफू र आफ्ना छोराछोरीलाई अपमान गरेको उनको भनाइ छ । 

आफ्नो पूर्व श्रीमती ज्योति गुरुङलाई जहाँ भएपनि झिकाएर अनुसन्धान गर्न र सहकारी पीडितको रकम फिर्ता गर्न उनले माग गरेका छन्।