काठमाडौं - युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु-१९ महिला टि-२० विश्वकपको एसिया छनोटको आफ्नो चौथोँ खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो रनले पराजित गरेको छ ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आजको खेलमा नेपालले टस जितेर थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै १३९ रन बनाएको थियो । 

१४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड जम्मा ३३ रनमा समेटिएको थियो । 

गत बुधबारदेखि सुरु एसिया छनोटमा नेपालको यो चौथौँ खेल हो । नेपालले यसअघि दुई खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै, आफ्नो दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । साथै तेस्रो खेलमा हिजो घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो ।  

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।