काठमाडौं - विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु- १९ राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि साविक विजेता सुदूरपश्चिम प्रदेशले हासिल गरेको छ । 

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

यसअघि सन् २०२२ मा त्रियू क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरी उपाधि जितेको थियो । जितसँगै बिजेता टोलीले रु दुई लाखसहित ट्रफी तथा उपविजेता लुम्बिनीले एक लाखसहित ट्रफी हात पारे ।
 
टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव ३ बलमा सबै विकेट गुमाई एक सय २७ रनको योगफल बनायो । 

सुदूरका लागि अविशेक थापाले २९ रन बनाउँदा नरेन भट्टले २७ रन, नरेन राउदले १५ रन, राजेश एयेर १४ रन र दीपक रोकयाले ११ रनको योगदान दिए । लुम्बिनीका सन्तोष यादवले ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २८ रन दिए । त्यस्तै रमेश कुर्मीले ३ विकेट र शिव कुमार १ विकेट लिए । 
 
एक सय २८ रनको लक्ष्य पाएको लुम्बिनीले ४३ दशमलव १ बलमा सबै विकेट गुमाइ एक सय १९ रन मात्र बनाउन सक्यो । लुम्बिनीका आकाश त्रिपाठीले २२ रन बनाउँदा शिव कुमारले २० रन, विजय कोहरले १९ रन, समिर अलीले १८ रन र सन्तोष यादवले १२ रनको योगदान दिए । सुदूरका प्लेयर अफ द म्याच हेमन्त धामीले ४ विकेट लिँदा सचिन भट्ट र नरेन साउदले २/ २ विकेट लिए । 
 
प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनीका सन्तोष यादव घोषित भए । यादव उत्कृष्ट बलरसमेत भए । उत्कृष्ट ब्याटर कोशीका सोनु अन्सारी घोषित भए ।

उत्कृष्ट खेलाडीले नगद ५० हजारका साथ ट्रफी तथा उत्कृष्ट ब्याटर र बलरले जनही नगद २५ हजार सहित ट्रफी हात पारे ।  प्लेयर अफ द म्याच सुदूरका कप्तान हेमन्त धामीले पाएको नगद तीन हजार पुरस्कार  ग्राउण्ड स्टाफलाई वितरण गरे । 
 
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पूर्व मूख्यमन्त्री केदार कार्की, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजित पाण्डे र मोरङ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष महमद बाबु लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।