काठमाडौं ।
४ वर्षे कार्यकालको लागि अमेरिकमा राष्ट्रपतिको चुनाव सम्पन्न भइ मतगणना भइरहेको छ । अहिलेसम्मको नतिजा अनुसार ५० राज्यमध्ये ३० राज्यको नतिजा आइसकेको छ ।
आएको नतिजा मध्ये २० मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १० मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जित हासिल गरेकी जनाइएको छ । अहिलेसम्मको मतगणनामा यसअघि अनुमान गरिएको भन्दा केही फरक परिणाम नआएको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन ।
डेमोक्रेटिक पार्टीको राम्रो मानिएको ब्लू स्टेटमा कमला ह्यारिसले जित हासिल गरेकी छन् भने रिपब्लिकनको राम्रो मानिएको रेड स्टेटमा डोनाल्ट ट्रम्पले जितिरहेका छन् ।
निर्णायक मानिएको ७ स्वीङ स्टेटको नतिजा नआएसम्म नतिजा कसको पक्षमा जान्छ भन्न नसकिने अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन । ती स्टेटमा दुई उम्मेदवारबीच मतान्तर निकै कम रहेको छ । यहाँ नतिजा जहाँ पनि जान सक्छन् । अमेरिकाको ५० राज्यमा ५३८ इलेक्टोरेल मत अर्थात् सिटका लागि चुनाव भएको हो । अमेरिकी राष्ट्रपति हुनका लागि २७० सिट जित्नुपर्ने हुन्छ ।
राष्ट्रपति चुनावसँगै भइरहेको संसदीय चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीले अग्रता कायम गरिरहेको छ । यो चुनावमा ट्रम्पले जितेमा ४ वर्षपछि पुनः ह्वाइटहाउस फर्कनेछन् । ह्यारिसले जितेमा पहिलो अमेरिकी महिला राष्ट्रपतिको इतिहास बनाउनेछिन् । पछिल्ला ५ चुनावमा ३ वटा जित डेमोक्रेटिक पार्टीले निकालेको छ । अमेरिकाको राष्ट्रपतिको चुनावलाई विश्वले नियालीरहेको छ ।
0 comment