काठमाडौं - उत्तरी गाजाको बेइट लाहिया सहरमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ९३ जनाको मृत्यु भएको समाचार छ ।
उद्धारकर्ताहरुले पाँच तले आवासीय भवनमा आक्रमण भएको र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भुइँमा कम्बलले ढाकेको शव देखिएको बताएका छन् ।
इजरायली सेनाले 'बेइट लाहिया क्षेत्रमा सर्वसाधारणलाई क्षति पुगेको खबरबारे आफू जानकार रहेको समेत बताएको छ ।
घटनाको विस्तृत विवरण बारे अनुसन्धान भइरहेको बताइएको छ ।
इजरायली रक्षा बल आईडीएफले विगत दुई हप्तादेखि उत्तरी गाजामा विशेष गरी जबालिया,बेइट लाहिया र बेइट हानौन क्षेत्रमा आक्रमण गरिरहेको छ।
जबालियास्थित कमल अद्वान अस्पतालका निर्देशक हुसाम अबु साफियाले अस्पतालमा कर्मचारी र औषधिको अभाव रहेको बताएका छन् । जस्लेगर्दा बिरामीको उपचार गर्न धेरै समस्या भएको उनले बताएका छन् । अस्पतालमा धेरैजसो बालबालिकाको उपचार भइरहेको समाचार छ ।
सेनाले मेडिकल टोली र कामदारलाई पक्राउ गरेपछि कमल अद्वान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरु केही बाँकी नभएको अबु साफियाले बताएको बीबीसीले जनाएको छ ।
हमासका लडाकुले प्रयोग गरिरहेको भन्दै आईडीएफले गत साता अस्पतालमा छापा मारेको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यस घटनामा भएको जनधनको क्षतिप्रति अमेरिका निकै चिन्तित रहेको बताएका छन् ।
0 comment