काठमाडौं - लेबनानको दक्षिणपूर्वी क्षेत्रमा पत्रकारहरु रहेको भवनमा इजरायली हवाई आक्रमणमा परी तीन जना पत्रकारको मृत्यु भएको छ ।

हसबायाको एक कम्पाउन्डमा रहेको गेस्टहाउसमा  एक दर्जनभन्दा बढी पत्रकारहरु बस्दै आएका थिए।

तीनै जना पत्रकार अल-मनार टिभी र अल मायादीन टिभीका लागि काम गर्थे । ती संस्थाहरुले  आफ्ना मारिएका कर्मचारीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वक्तव्य जारी गरेको छ।

लेबनानका सूचना मन्त्रीले उक्त आक्रमण सुनियोजित भएको र यसलाई 'युद्ध अपराध' को संज्ञा दिएका छन् ।

इजरायली सेनाले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

मृत्यु हुनेमा इरान समर्थक समाचार च्यानल अल मायादीनका क्यामेरापर्सन घासन नज्जर र इन्जिनियर मोहम्मद रेडा तथा हिजबुल्लाहसम्बद्ध अल मनारका क्यामेरापर्सन विसम कासिम रहेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले विस्फोटमा परी अन्य तीन जना घाइते भएको जनाएको छ ।

यसअघि लेबनानमा इजरायली आक्रमणमा रोयटर्सका पत्रकार इसाम अब्दुल्लाहसहित पाँच जना पत्रकारको मृत्यु भएको थियो ।

अल–जादिद टिभीले प्रसारण गरेको फुटेजमा बम बारी भएको भवनको छाना भत्किएको र भुइँ भग्नावशेषले ढाकेको देखिएको छ ।

टिभी प्रसारणका लागि प्रयोग गरिने एउटा गाडी भवनको छेउमा पल्टिएको देखिन्छ ।

लेबनानको दक्षिणी भागमा जारी द्वन्द्वको रिपोर्टिङ गरिरहेका लेबनानी पत्रकारहरूलाई अहिले अन्यत्र स्थानान्तरण गरिएको बिबिसीले उल्लेख गरेको  छ ।