काठमाडौं - कालापानी भनेवित्तिकै हरेक नेपालीको मुटु चसक्क दुख्छ । त्यसो त हरेक नागरिकलाई आफ्नो देशको माटो प्राणभन्दा प्यारो लाग्छ । त्यसमा पनि हामी नेपाली हामी लडेर बचाएको देश हो यो । भारतले नेपाली सीमा अतिक्रमण गरेको कुरा निस्कने वितिक्कै कालापानीको नाम अग्रपंतीमा आउछ ।

सबैको ओठमा कालापानी झुण्डिन्छ । वर्षौंदेखि भारतीय अतिक्रमणको चपेटामा परेको कालापानी जति चर्चित छ, त्यक्तिकै वेवास्ता पनि गरिएकोे छ । तर हिमाली जिल्ला दार्चुलाबासीलाई भने कालापानीको घाउले सधै दुखाइ राख्छ । त्यही दुखाइको पीडामा अर्को बज्रपात भएर थपियो भारत–चीनबिच भएको लिपुलेक सम्झौता । मुलुकको दुर्भाग्य प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरे,अहिले चीन भ्रमणमा छन तर लिपुलेकको कुरा उठाएन् । अदृश्य सम्झौतासंग माटो साटो,राष्ट्रियता साटे र आमाको अस्मीता साटे ।

उत्तरतिर चीन र दक्षिणमा भारतसंग जोडिएको दार्चुलामा सीमा सम्बन्धी अन्य स्थानमा विवाद छैन । सीमावीद वुद्धिनारायण श्रेष्ठका अनुसार कालापानीमा मात्रै होइन,लिम्पीयाधुरा समेत नेपालको हो ।

नेपाल, चिन र भारतको सीमानामा कालापानी त्रिकोणाकारमा रहेको छ । कुटी याङ्दी (काली) र लिपु खोलाले यसलाई त्रिकोणाकारमा ढालेको हो । सामरिक दृष्टिले महत्वको यो क्षेत्र करिब १९ हजार ६ सय हेक्टर (१९५ वर्गकिलोमिटरमा छ) । नेपालले काली अर्थात कुटी याङ्दीको मुहानलाई महाकाली नदीको मुहान भन्दै आएको छ भने भारतले लिपु खोलाको मुहानलाई महाकाली नदीको मुहान भन्दै कालापानीमा अतिक्रमण गरेर कब्जा जमाएको छ ।

कालीको मुहानलाई महाकाली नदीको मुहान मान्दा कालापानी नेपालमा पर्छ भने लिपु खोलको मुहानलाई महाकालीको उद्गम स्थल मान्दा कालापानी भारतमा पर्छ । यहि विवादका कारण कालापानीको एक सय ९५ वर्ग किलोमिटर नेपाली भूमि भारतले कब्जा गरिरहेको छ,१९६२ देखि ।

कालापानीको पश्चिमतिरबाट बग्ने काली अर्थात कुटी याङ्दीको मुहान नै महाकालीको उद्गम स्थल भएको नेपाली पक्षको प्रमाणसहितको दावी छ । ऐतिहासिक तथ्यहरुले पनि कुटी याङ्दीको मुहानलाई नै महाकाली नदिको उद्गम स्थल देखाएको सीमाविदहरुको दावी छ । सन् १८१६ को सुगौली सन्धीको दफा ५ ले काली अर्थात कुटी याङ्दीलाई नै महाकालीको उदगम स्थल र महाकाली नदी साझा नभएर नेपालको भएको स्पष्ट पारेको छ ।
३९ वर्ष अघि पाल टागेर बसेको भारतीय सेनाले अहिले भने क्याम्प नै खडा गरेको छ । जमिन मूनी ठूल–ठूला घरहरु पनि बनाएको छ । बाह्रै महिना हिउ परिरहने यस क्षेत्रमा भारतीय सेनाले अति संवेदनशिल क्षेत्र घोषणा गरेर सुरक्षा स्थिती मजबुत पारेको छ । जहाँ नेपालीहरु छिर्ने कल्पनासम्म अब गर्न सकिदैन् ।

भारतले सीमाको अन्य क्षेत्रमा प्रान्तिय सरकारको मातहतमा सुरक्षा फौज राखेको भएपनि कालापानीमा केन्द्रीय सरकारको मातहतमा भारतीय सेना राखिएको छ । ठूलो संख्यामा भारतीय सेना राखिएको बताइन्छ ।

खासमा कालापानी क्षेत्रमा नेपाल प्रहरी पनि छैन भने नेपाली बस्ती पनि छैन । कालापानीबाट १० घण्टाको पैदल दूरीमा नेपाल प्रहरीका सीमा सुरक्षा चौकी रहेका छन् । सीमासंग जोडिएका सबै गाविसमा प्रहरी चौकी छन् । भारतीय सुरक्षा फौज बाह्रै महिना कालापानीमा बस्छ भने नेपाल प्रहरी कालापानी भन्दा १० घण्टा टाढाको व्यास, तिङ्कर र सीतापाईलामा पनि ६ महिना मात्रै बस्छ । हिउ जम्ने भएकाले बाह्रै महिना त्यहाँ बस्न कठिनाई भएको तिङकर प्रहरी चौकीमा कार्यरत प्रहरीहरुको प्रतिक्रिया छ ।

भारतीय सुरक्षा फौजले नेपाली नागरिकलाई विनाअनुमति कालापानी जान दिँदैन । नेपाली बाटो भएर जान मुस्किल छ भने भारतीय बाटो भएर नेपालीले जान अनुमति लिनु पर्छ । भारतीय सुरक्षा फौजको अवरोधका कारण नै कालापानी नजिक नेपाली बस्ती नै छैन ।

सुदुरवासी भने सरकारले कालापानीको वेवास्ता गरेको आरोप लगाउदै आएका छन् । ‘कसले सुन्छ, यहाँको कुरा,अब त लिपुलेक पनि लग्यो ?’ दार्चुलाको छाङरुका प्रमे कार्कीले भने । उनी थप्छन–‘माटो गुमाउदाको पीडा कस्तो हुन्छ, काठमाडौंलाई के थाहा ?’