काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

दक्षिणकाली नगरपालिकामा आज आयोजना गरेको जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिरोले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललितपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

खानेपानीको प्यासमा कोही तड्पाई रहेका छन भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताउनुभयो ।

“विगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधिबाट केही समस्या भएको होला । त्यसैले अहिले दक्षिणकालीका नागरिक ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन् । तपाईंहरूका समस्या के हुन् ? समाधानका लागि म पहल गर्नेछु । कृपया म हात जोडेर भन्छु । ललितपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस् ” उहाँले भन्नुभयो ।

बाढीपहिरोलगायत समस्याले अहिले देश बिपद्मा र समस्यामा परेकाले हामी सबै नेपालीले एक अर्कालाई मानवीय सहयोग गर्नका लागि एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो । 

“अविरल वर्षाका कारण गएको बाढी पहिराले देशका २१ जिल्ला प्रभावित भएका छन् । हामी बिपद्को घडिमा छौँ, नागरिक पानीका लागि तड्पि रहेका छन् । तपाईंहरूसँग पानी छ । अहिले नागरिकलाई पानी दिन तपाईँहरूको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।

यसैगरी मन्त्री यादवले केही दिन पहिले गएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रिपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो । 

सम्पूर्ण क्षतिको लागत तयार गर्नुहोला, जतिसक्दो चाँडो समस्या समाधान गराउन पहल गर्ने उहाँको भनाई छ ।