प्रा. डा शास्त्रदत्त पन्त
हिमाली क्षेत्रको दिगो विकास र विषेश व्यवस्था गरेर देशको बहुपक्षीय विकास गर्न सकिन्छ । यस क्षेत्रलाई विश्वको एक मात्र र सर्वोत्कृष्ट आकर्षक केन्द्र विन्दु बनाउन सम्भव छ । यसले देश सम्वृद बनाउन सक्छ ।
अहिले यस क्षेत्रले कुनै आर्जन गर्न सकेको छैन । तर यसो गरेमा यही ठाउँले देशलाई उँभो लगाउने खालका आर्जन गर्ने छन् । नेपालको उतरी भू–भागको करिब २३ प्रतिशत भू–भागलाई हिमाली राष्ट्रिय निकुञ्ज घोषणा गर्नू पर्दछ । यस क्षेत्रभित्र करिब २ लाख परिवार बसोबास गर्दछन् । यो क्षेत्रलाई बस्ती विहिन र प्रवेश निषेधित क्षेत्र बनाईनु पर्दछ । यहाँ बसेका थोरै बस्ती तथा पशुपालनले वन वुट्यान विनाश गरेर भूस्खलन गराएको छ । त्यस ठाउँको पर्यावरण बिगारेको छ । वातावरण दुषित पारेको छ। ज्डिबुटी विनाश गरेको छ । दुर्लभ पशु–पंक्षी तथा हजारौँ वनस्पति लोप हुने स्थितिमा पुर्याएको छ । त्यस्ता प्राकृतिक वैभवलाई बचाउन पनि यी वस्तीहरुलाई त्यहाँबाट हटाईनु पर्छ । भूस्खलन भएर पहाड र तराईमा वर्षेनी हुने बाढीपहिरोबाट बचाउन समेत यो अनिवार्य भएको छ ।
अवैज्ञानिक रुपमा पशुपालन गर्दा राष्ट्रमा विप्लव मच्चाउने गरि भूस्खलन भईरहेको छ । नदी किनारका उपत्यका र तराईको उर्वर फाँटलाई सिल्टिङ हुनबाट बचाउन र देशलाई मरुभुमि हुनबाट बचाउन पनि हिमाली क्षेत्रलाई बस्ती विहिन बनाईनु पर्दछ । त्यस भू–क्षेत्रबाट राष्ट्रिय आय बढाउन पनि त्यस क्षेत्रलाई वस्ती विहिन बनाईनु पर्दछ।
त्यहाँका बासिन्दाको पनि कल्याण यथास्थितबाट हुन सक्दैन । उनीहरुलाई प्रस्ताव गरे अनुसार व्यवस्थित बस्ती पद्धतीबाट पुर्नवास गराएर पूर्णकालिन रोजगार नदिने हो भने उनीहरुको जीवनस्तर कहिल्यै उठ्न सक्दैन । उनीहरु सधै पुरातन, अपठित र विपन्न रहिरहनेछन् । उनीहरु कै भलाईका लागी पनि यस क्षेत्रलाई बस्ती विहिन बनाउनु पर्दछ ।
हिमालय क्षेत्रका कति बस्ती हटाएर कहाँ कसरी पुनः व्यवस्थित गर्ने भन्ने कुरा प्रावधिक अध्ययनले निधो गर्न विषय हो । मोटामोटी रुपमा हेर्दा हिमाली क्षेत्र भन्नाले दार्चुला, हुम्ला, कालिकोट, मुगु, जुम्ला, डोल्पा, मुस्ताङ, मनाङ, गोर्खा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका उतरी भाग पर्दछन् । अर्को शब्दमा दाचुर्लाको टिंकरतिरको उतरी भाग हुम्ला, मुगु, जिल्लाका अधिकांश भाग अर्थात कालिकोटको जाङ, होल्र्जी, तिउ, प्यालुप्टा, पारी, तुम्कोट, भुचु, थेगाउँ, छिप्रा, भारगोर, लोग्ना, मेल्छाउ, लिमि, मुगु, लुम्सा, पाका, दोल्पु आदि, डोल्पाको याङजोर, फोपा, बिजेर, सेसुम्वा, समिेन, पान्जाङ, साल्दाई, रिग्मी, तारा, छार्का, कफकोट, मुकुट, आदि, मुस्ताङको श्याम गाउँ, विलिङ, टाङ, मनाङको खाङसोर, मनाङ, सिमाङ, नारगाउँ, थोचे, आादि गोर्खाको लार्के, सामागाउँ, खोगाउँ, रुपिलाउनोर आदि, रसुवाको रसुवागढी, धुन्चे, गोसाइकुण्ड, पाँचपोखरी, दुगला गढी उतर र सिन्धुपाल्चोकको सोही समान उतररस, दोलखाको लामोवगर, जटापोखरी उतर, सोलुखुम्बुको थाम, नाम्चेबजार, श्याङबोचे उतर, संखुवासंभाको हैदाङमा उतर र ताप्लेजुङको तात्केझेला, ओलाङचुङ, त्राङमा, धून्सा उतरका ठाउँका पातला केही वस्ती पर्दछन्।
निकुञ्जको सिमाक्षेत्रभित्र भन्दा २० कि. मि टाढाबाट सडक निर्माण गर्न पाउने गरी निकुञ्जलाई पूर्ण प्राकृतिक रुपमा बढाउनु पर्दछ । त्यहाँ भएका करिव दुई लाख परिवारलाई त्यस निकुञ्ज बहिरको २० किमि क्षेत्रमा व्यवस्थित बस्ती बनाएर बसाईदिनु पर्दछ । उनीहरुलाई पर्यटकजन्य पूर्ण रोजगारयुक्त उँचो जीवन बनाउने अवसर दिनु पर्दछ ।

0 comment