काठमाडौं - एफसी यू- २० एसियन कप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। 
   
चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको हो । 

खेलको २४ र २७ औँ मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे । त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३- ० को अग्रता बनायो । 

त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो । उज्वेकिस्तानका लागि मिर्जाएभले ६८ औँ मिनेटमा गोल गरे भने खेलको ८८ औँ मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे । 

खेलको ९० औँ  मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६- ० गोलको जित निकाल्यो । 

एसियन छनोटमा समूह ‘बी’ मा रहेको नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा कम्बोडियासँग नेपाल ४- १ गोलअन्तरले पराजित भएको थियो । 

नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३- १  गोलअन्तरले पराजित गरेको थियो ।

यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो । उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७- ० गोलअन्तरले पराजित गरेको थियो । लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छ भने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ । 

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ गते बहराइनसँग खेल्नेछ । समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन् । 

आगामी सन् २०२५ मा हुने एएफसी यू- २० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ । 

प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यू- २० टोली एसियन कपमा छनोट हुनेछन् ।