काठमाडौं - यूएईमा हुने महिला टी - २० विश्वकपको विजेताले पाउने पुरस्कार राशि बढेको छ । 
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले १० लाख अमेरिकी डलर पाएको थियो । महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको आईसीसीले जनाएको छ ।

आईसीसीले २०२४ को पुरुष टी- २० विश्वकपको विजेता भारतलाई २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको थियो ।

महिला टी - २० विश्वकपमा १० राष्ट्रको सहभागिता रहनेछ ।

२०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ । सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । 

सन् २०२४ मा सहभागी हुने सबै १० टिमले १ लाख १२ हजार ५ सय अमेरिकी डलर पाउने छन् । 

नवौँ संस्करणको महिला टी- २० विश्वकप अक्टोबर ३ देखि यूएईमा शुरु हुँदैछ । बङ्गलादेशमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएई सारिएको थियो ।