काठमाडौं - प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकमा ठोस सहमति हुन नसकेको बताइएको छ ।

 प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा ‘जनयुद्ध’का सम्बन्धमा व्यक्त भएको धारणाप्रति आफूहरुको विरोध रहेको र त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । 

उहाँले बैठकमा व्यक्त भएको धारणाका आधारमा आफ्नो संसदीय दलको बैठकमा छलफल गर्ने उल्लेख गर्नुभयो ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखका विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतकले आफूहरुले त्यस्तो केही गर्न नलागेको भन्ने जानकारी गराउनुभएको बताउनुभयो ।