काठमाडौं - ऋषि शब्दको अर्थले सात्विक र साधनारत जीवन व्यतीत गर्ने तथा जीवन र जगतका आध्यात्मिक र भौतिक तत्त्वहरूलाई साक्षात्कार गर्ने व्यक्तिलाई जनाउँछ। त्यसैगरी वैदिक मन्त्रका प्रथम द्रष्टा मानिएका व्यक्ति मुनि वा तपस्वीलाई ऋषि शब्दले पुकारिन्छ।
मनुष्य जन्म लिएपछि मानिसले चार प्रकारका ऋण लिएको हुन्छ। यी ऋणहरूमा देव ऋण, पितृ ऋण, ब्रह्मा ऋण र ऋषि ऋण पर्दछन। यी ऋणहरू नतिरेमा मनुष्यको जीवन दुखदायी हुन्छ भन्ने मान्यता छ। चार प्रकारका ऋणहरु मध्ये ऋषि ऋण पनि एक ऋण हो।
ऋषिहरूबाट प्राप्त आध्यात्मिक भौतिक आदि ज्ञानका बदलामा मानिसहरूले ऋषिहरूका प्रति गर्नुपर्ने कर्तब्य, वेदको अध्ययन, अध्यापन, दान, यज्ञ, ध्यान, गुरुको सन्देश प्रचारप्रसार समेतका अन्य सत्कर्म द्धारा ऋषिऋण तिरिन्छ भन्ने मान्यता रहेको छ। सप्त ऋषिहरूलाई महान ऋषिहरूको रुपमा मानिन्छ। भाद्रशुक्ल पञ्चमीमा अरुन्धती सहित शप्त ऋषिहरुको पूजा गरिन्छ।
हिन्दू शास्त्रहरूमा उल्लेखित सात महान् ऋषिहरूको समूहलाई सप्तर्षि भनिन्छ। यी सप्त ऋषिहरूलाई ब्रह्माको मानसिक सन्तान (मानसपुत्र) मानिन्छ ।सामान्यतया निम्न नामहरूद्वारा सप्त ऋषिहरुलाई चिनिन्छन् जसमा अत्रि, भरद्वाज, वशिष्ठ, विश्वामित्र, गौतम, जमदग्नि र कश्यप पर्दछन। वेद, उपनिषत् र पुराणहरूमा यी ऋषिहरूको नाम उल्लेख छ ।
हिन्दु धर्ममा सप्त ऋषिहरूको साधना, तपस्या र ज्ञानको महत्त्वलाई उच्च सम्मान गरिएको छ। सप्त र्षिलाई ब्रह्माण्डको सञ्चालन र धार्मिक ज्ञानको प्रसारको प्रतीक पनि मानिन्छ।
वशिष्ठ ऋषि सप्त ऋषिमध्ये एक महान ऋषि हुन्। सबै हिन्दु ग्रन्थहरूमा वशिष्ठ ऋषिको बारेमा वर्णन गरिएको पाइन्छ। वशिष्ठको अर्थ आर्यहरूको पुरातन र सशक्त संस्कृतिका रचनाकारहरू मध्ये एक हो। वशिष्ठको अर्थ सबैभन्दा उज्यालो, उत्कृष्ट, सर्वोत्कृष्ट महिमा हो। आदि वसिष्ठलाई प्रजापति मध्ये एक ब्रह्माको मानसिक पुत्र भनिन्छ। वशिष्ठ ऋषि ब्रह्माजीका मानस पुत्र हुन् ।
महर्षि वशिष्ठको उत्पत्ति पुराणहरूमा विभिन्न रूपहरूमा वर्णन गरिएको छ। कतै ब्रह्माको मानसपुत्र भनिन्छ भने कतै मित्र वरुणका छोरा भनिन्छ त कतै अग्नि पुत्र पनि भनिन्छ।
रामायणमा ऋषि वशिष्ठलाई भगवान रामका कुल गुरू भनेर वर्णन गरिएको छ। वशिष्ठ गोत्रका गोत्र प्रवर्तक मानिन्छ। ऋषि वशिष्ठलाई वेद र शास्त्रका महान् विद्वानको रूपमा चिनिन्छ। उहाँ एक प्रमुख ऋषि, विद्वान, र योगी हुनुहुन्थ्यो जसले असंख्य ग्रन्थहरू रचना गर्नुभयो र धर्म, नैतिकता र जीवनका विभिन्न पक्षहरूमा गहिरो शिक्षा दिनुभयो।
ऋषि वशिष्ठ देवता र मानवको मिलनबाट जन्मेको मानिन्छ। वशिष्ठ ऋषिकी श्रीमती अरुन्धती थिइन्, जसलाई एक आदर्श पत्नी र देशभक्तिको प्रतीक मानिन्छ।
हिन्दु संस्कृतिमा वशिष्ठ र अरुन्धतीको वैवाहिक जीवनलाई आदर्श मानिन्छ। ऋषि वशिष्ठलाई राजर्षि पनि भनिन्छ, किनभने उहाँ राजा दशरथका गुरु हुनुहुन्थ्यो र राजा रामचन्द्रलाई शिक्षा दिनुभएको थियो। उनको आश्रममा धेरै राजा र राजकुमार शिक्षा लिन आउने गर्दथे। ऋषि वशिष्ठ एक महान योगी हुनुहुन्थ्यो र ध्यान, तपस्या र साधनामा सिद्धता प्राप्त गर्नुभयको थियो।उहाँले योग र ध्यानको माध्यमबाट ज्ञान र परम सत्य प्राप्तिको प्रचार गर्नुभयो।ऋषि वशिष्ठलाई धेरै धार्मिक ग्रन्थहरूको लेखक पनि मानिन्छ, जसमध्ये योग वशिष्ठ प्रमुख हो।
योग वशिष्ठ एक प्रसिद्ध ग्रन्थ हो जसमा उनले जीवन, आत्मा, ब्रह्माण्ड र मुक्तिको रहस्यमा गहिरो शिक्षा दिएको मानिन्छ। ऋषि वशिष्ठ गौ संरक्षण र अहिंसाको पक्षमा रही धर्म र संस्कृतिको रक्षाका लागि गाईको संरक्षण आवश्यक छ भन्ने मान्यता उहाँले राख्ने गर्नुहुन्थ्यो।ऋषि वशिष्ठलाई हिन्दु धर्ममा उच्च सम्मान गरिन्छ र सदियौंदेखि समाजमा नैतिकता, ज्ञान र धार्मिकताको स्थापनाको प्रतीक मानिन्छ।
वशिष्ठ ऋषिमा धेरै विशेषताहरू थिए जसले उहाँलाई अन्य ऋषिहरू भन्दा फरक र विशेष रुपमा चिनिन्छ।ऋषि वशिष्ठलाई वेदको गहिरो ज्ञान थियो र वेदको मुख्य व्याख्याकर्ता पनि मानिन्छ। वेदका साथसाथै उनलाई ब्रह्मविद्या र आत्मज्ञानको पनि गहिरो ज्ञान थियो। ऋषि वशिष्ठ एक महान योगी भएको मानिन्छ। उहाँले योग र ध्यानको माध्यमबाट आत्म(साक्षात्कार र मोक्ष प्राप्त गर्नुभयो।
ऋषि वशिष्ठ राजा दशरथका शाही गुरु हनुहुन्थ्यो। उहाँले दशरथ र उनका छोराहरूलाई (विशेष गरी श्रीराम) धर्म, नैतिकता र जीवनका अन्य महत्त्वपूर्ण पक्षहरू सिकाउनुभयो। उहाँको निर्देशनमा रामले धर्म र मर्यादाको पालना गर्नुभयो। ऋषि वशिष्ठ आफ्नो धैर्य र शान्त स्वभावको लागि परिचित हुनुहुन्थ्यो। उहाँले प्रतिकूल परिस्थितिमा पनि शान्ति कायम राखी र धर्मको पालना गरेको मानिन्छ। सहनशीलता र धैर्यता उहाँको विशेष पहिचान थियो।
ऋषि वशिष्ठको आश्रम एक प्रसिद्ध स्थान थियो जहाँ धेरै राजाहरू, ऋषिहरू र तपस्वीहरू शिक्षा र आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने गर्दथे।उहाँको आश्रममा शान्त र धार्मिक वातावरण थियो, जुन ध्यान र अध्ययनको लागि उपयुक्त थियो भन्ने पाईन्छ । ऋषि वशिष्ठ अहिंसा र करुणाको प्रतीक हुनुहुन्थ्यो। उहाँले जीवहरूप्रति माया, दया र करुणाको सन्देश दिँदै गाई माताको संरक्षणमा विशेष जोड दिनुभयको पाईन्छ ।
ऋषि वशिष्ठले प्राचीन समाजमा धेरै महत्त्वपूर्ण योगदान दिनुभयो जुन अझै पनि हिन्दु संस्कृति र धर्मको आधारभूत स्तम्भ मानिन्छ। उहाँको योगदान धार्मिक र आध्यात्मिक क्षेत्रमा मात्र होइन, समाजको नैतिक, शैक्षिक र सांस्कृतिक विकासमा पनि गहिरो प्रभाव थियो।ऋषि वशिष्ठले समाजमा गरेका केही प्रमुख योगदानहरू छन्।ऋषि वशिष्ठले वेद, उपनिषत् र अन्य धार्मिक ग्रंथहरू मार्फत धार्मिक र आध्यात्मिक ज्ञान फैलाउनुभयो। उहाँले समाजमा वेदान्त दर्शन, ज्ञान र मोक्ष प्राप्तिका सिद्धान्तहरू फैलाउनुभयो। उहाँको शिक्षाले मानिसहरूलाई धर्म, सत्य र नैतिकताको मार्गमा लाग्न प्रेरित गर्यो।
किंबदन्तीअनुसार एकपटक श्री विश्वामित्र ऋषि वशिष्ठ ऋषिकोमा पाहुना भएर गएका जानुभएछ। महर्षि वशिष्ठले कामधेनुको सहयोगमा उहाँलाई शाही स्वागत गर्नुभयो। कामधेनुको अलौकिक क्षमता देखेर विश्वामित्रको मनमा लोभ उत्पन्न भयो।उहाँले वशिष्ठ ऋषिबाट त्यो कामधेनु गाई लिने इच्छा व्यक्त गर्नुभयो। कामधेनुगाई वशिष्ठ ऋषिको लागि आवश्यक पर्ने आवश्यकताहरू पूरा गर्नको लागि एक महत्त्वपूर्ण माध्यम बनेको थियो, त्यसैले उहाँले त्यस गाईलाई दिन असमर्थता व्यक्त गर्नुभयो। विश्वामित्रले कामधेनु गाईलाई बलपूर्वक लिन खोज्नुभयो र उहाँले दलबलसहित आफ्ना सेना लिएर जानुभयो।
ऋषि वसिष्ठको निर्देशनमा कामधेनुले पनि एक विशाल सेना बनाईन। त्यो देखेर विश्वामित्र ऋषिले आफ्नो सेना लिएर भाग्न बाध्य हुनुपर्यो। द्वेषबाट प्रेरित भएर विश्वामित्रले भगवान शंकरको तपस्या गरेपछि भगवान शिव प्रशन्न भएकोले उहाँबाट दिव्य हतियार प्राप्त गरेपछि महर्षि वशिष्ठलाई फेरि आक्रमण गर्नुभयो। तर महर्षि वशिष्ठको ब्रह्मादण्डको अगाडि उहाँका सबै दैवी अस्त्रहरू असफल भए।ततपश्चात विश्वामित्रले क्षत्रिय शक्तिलाई श्राप दिएर ब्राह्मणत्व प्राप्त गर्न तपस्याको लागि वनमा जानुपरेको थियो।
विश्वामित्रको असाधारण तपस्या देखेर सबै छक्क परे। सबैले उहाँलाई ब्रह्मऋषि माने तर महर्षि वशिष्ठले उहाँलाई ब्रह्मऋषि नभन्दा विश्वामित्रलाई ब्रह्मऋषि भन्न सकिँदैनथ्यो। वशिष्ठ र विश्वामित्र बीचको द्वन्द्वको कथा प्रचलित छ। वशिष्ठले क्षत्रिय राजा विश्वामित्रलाई राजर्षि भनेर सम्बोधन गर्थे।विश्वामित्रको चाहना थियो कि वशिष्ठले उनलाई ‘महर्षि भनेर सम्बोधन गरून्।
एकपटक विश्वामित्र वशिष्ठको हत्या गर्न राती गोप्य रूपमा जानुभएछ। एकान्तमा विश्वामित्रले वशिष्ठ र अरुन्धतीबीचको कुराकानी सुन्नुभयो। दुईजनाबीचको कुराकानीमा वशिष्ठ ऋषिले, “आहा, कठोर तपस्वी विश्वामित्र बाहेक अरु कसले पूर्णिमाजस्तो शुद्ध तपस्या गर्न सक्छ ? उहाँजस्तो तपस्वी अहिले कोही छैन” भनी अरुन्धतीसामु भन्नुभएको थियो। यसप्रकारको कुरा सुनेपछि एकान्तमा शत्रुको प्रशंसा गर्ने महापुरुषप्रति आफूले गरेको प्रतिशोध र घृणाको कारण विश्वामित्रलाई पश्चाताप भयो र विश्वामित्रले पश्चाताप गर्नुभयो। ततपश्चात आफ्ना हातबाट सबै हतियार फ्याँकेर ऋषि वसिष्ठको पाउमा पर्नुभयो।
ऋषि वशिष्ठले विश्वामित्रलाई अँगालो हालेर ‘महर्षि भनी स्वागत गर्नुभयो। यसर्थ वशिष्ठ ऋषिलाई क्षमाशील ऋषिको प्रतिकको रुपमा पनि चिनिन्छ।
वशिष्ठ ऋषिको नामबाट वसिष्ठ गोत्र वसिष्ठ गोत्र एक गोत्र हो जुन हिन्दू धर्ममा ब्राह्मण, क्षत्रिय र वैश्य समुदायको वंशलाई जनाउन प्रयोग गरिन्छ। गोत्रहरू प्राचीन ऋषिहरूको नाममा आधारित छन् र प्रत्येक गोत्रले त्यो ऋषिको वंशजको प्रतीकलाई जनाउँदछ। वशिष्ठ गोत्र विशेष गरी ऋषि वशिष्ठसँग सम्बन्धित छ जुन सप्तर्षिहरूमध्ये एक प्रसिद्ध ऋषि हुनुहुन्थ्यो।
राष्ट्रिय समावेशी आयोगको अध्यन प्रतिवेदनमा उल्लेख भएअनुसार वशिष्ठ गोत्रका मुख्य थरहरूमा पाण्डे धामी (बझाङ ढडारका) खनिया, सावदरसामन्त्रसाउद्, विष्ट,भट्टराई, सोती (स्रोत्रिय), राई, मेरो भाई भण्डारी (थानसिङे), भट्ट, पुंवार खड्का, श्रीपाली, बम्म्, खरेल, खराल, थापा (सुयाल), सुयल (घर्ती), राउत, दवाडी, चालिसे, मुडबरी, गैह्रे डोटेल इत्यादि पर्छन् ।
भट्टराई थरको गोत्र वशिष्ठ हो। अर्थात् भट्टराईहरू महर्षि वशिष्ठका सन्तान हुन्।ब्रह्माका दश भाइ छोरा मध्ये एक हुन्, वशिष्ठ।वशिष्ठका तीन पत्नी थिए अरुन्धती, कपिञ्जली र ऊर्जा। अरुन्धतीका छोरा शक्तिबाट ब्यासको जन्म भएको हो।ब्यासबाट शुकदेवका चार भाइ प्रभु, शम्भु, कृष्ण र गौर भए । यिनै चार भाइमध्ये साइला छोरा कृष्णबाट वशिष्ठ गोत्रीय भट्टराईको विकास भएको पाइन्छ। भट्टराई कुल रत्न जगतगुरु बालसन्तका अनुसार ब्रम्हाजीका सुपुत्र वशिष्ठ ऋषि, ऋषिका छोरा शक्ति, शक्तिका छोरा पराशरका छोरा ब्यास, ब्यासका छोरा सुखदेव हुँदै वशिष्ठ गोत्रीय भट्टराई वंशको बिस्तार भएको पाइन्छ।
भट्टराई वंशावलीमा उल्लेख भए अनुसार नेपालमा १३०० वर्ष अघिदेखि भट्टको रूपमा भट्टराईको वंश पहिल्याएको पाइन्छ।भट्ट, भट्टराज हुँदै भट्टराई भएको पाइन्छ। भट्ट भनेको उपाधि हो। पढेलेखेका ज्ञानी ब्राह्मणलाई भट्ट भनिन्थ्यो। राजा रजौटाबाट विद्वान व्यक्तिहरूले भट्ट पद पाउँथे। भट् धातुबाट भट्ट बनेको हो। भट् धातुको अर्थ विद्वान हुन्छ। राईको अर्थ राजा हुन्छ।भट्टहरूको राजा अर्थात् विद्वानको पनि श्रेष्ठ विद्वान भट्टराई भनेर थर रहन गएको अभिमत भट्टराई कुल वंश प्रतिष्ठानले प्रकाशित गरेको वंशावली पुस्तकमा उल्लेख छ।
अर्को मत अनुसार भट्टराईहरूका पुर्खा प्रकाण्ड विद्वान गर्भ भट्टले जुम्लाको स्वणर्ग्राम राजधानी भएका कल्याण नरेश बलिराज रावलबाट सम्मान सूचक राई उपाधि पाएका थिए।त्यही बेलादेखि विद्वान बोधक थर भट्ट र प्राप्त उपाधि राई जोडेर भट्टराई लेख्न थालेको भनिन्छ । दशौं शताब्दीमा जुम्लाको सिँजा आसपासका भट्टराईहरूका प्रमुख पुर्खा ऋषि भट्ट भट्टराईहरूका वंश नम्बर १ हुन्। भट्टराईको गोत्र वशिष्ठ हो। अर्थात् भट्टराईहरू महर्षि वशिष्ठका सन्तान हुन्। वशिष्ठ ऋषिका सन्तान भट्टराईहरू तेह्रौँ शताब्दी अगावै तत्कालीन कर्णाली प्रदेशको खस राज्यमा भट्ट ब्राह्मणका रूपमा रहेको किम्बदन्ती पाइन्छ।
नेपालको एकीकरणभन्दा धेरै अघिदेखि धर्म, संस्कृति, राष्ट्रियता र सामाजिक सद्भावमा भट्टराईहरू प्रतिबद्ध देखिन्छन्।आधुनिक राष्ट्र निर्माणमा भट्टराई कुलका बलिदाशले पृथ्वीनारायण शाहसँग सहकार्य गरेको पाइन्छ। हिन्दु धर्म मान्नुभन्दा अघिदेखिको संस्कृति भट्टराईले पालना गर्दै आएका छन्।भट्टराईहरूको मूल धर्मग्रन्थ वेद हो।वेदमा पनि यर्जुवेद अनिवार्य पढ्नु पर्ने मानिन्छ।(लिलाराज भट्टराई, नेपाल प्रेश डटकम, २०८० पुष ७)
वर्ण व्यवस्था र जात
हिन्दुधर्मशास्त्र अनुसार मनिषीहरुले व्यक्तिलाई चार प्रकारमा बाँडेका छन जसलाई चार वर्ण पनि भनिन्छ। वर्णको सत्यमा नीच उचको भेद हुदैन।वर्णमा व्यक्तित्वको भेद छ। यो कुनै जात हैन व्यक्तित्वको प्रकार हो।स्त्री र पुरुषको भेद वायोलोजिकल अर्थात जैविक भेद हो भने चार वर्णको भेद अर्थात ब्रह्माण,क्षत्रिय वैश्य र शुद्रको भेद मोनोवैज्ञानिक भेद हो।वर्णको धारणा तुलनात्मक नभई तथ्यात्मक हो।जन्मजात बर्णको कुरा यो होईन यो वर्णको मनोवैज्ञानिक तथ्यको कुरा हो।
पहिलो वर्ग ब्रह्माण हो।ब्रह्माणको अर्थ यो हो की जुन व्यक्तिको सारा समर्पण वौद्धिक अर्थात ईन्टेलेक्चुअल हुन्छ।जुन व्यक्तिको सारा प्राणको उर्जा बुद्धिमा रुपान्तरित हुन्छ र जसको जिवनको सारा खोजी ज्ञानको हुन्छ।धन, पद, प्रतिष्ठा, सुख सयल सारा छोडेर केवल सत्यको खोजिमा,शान्ति र आनन्दको खोजमा आफूलाई समर्पित गर्ने व्यक्ति ब्रह्माण हो।
दोस्रो वर्ग क्षत्रिय हो।क्षत्रियको आकाँक्षाको स्रोत शक्ति वा पावर हो।यस्ता प्रकृतिका व्यक्तिको सारा जीवन शक्तिको खोजीमा लागेको हुन्छ।
तेस्रो वर्ग वैश्य हो।यस वर्गको महिमा धन हो। यस्ता प्रकारका व्यक्तिको जिवनको सारा उर्जा धनप्राप्तिमा र धनको खोजमा लागेको हुन्छ।धनको आसपासमा आफ्नो सारा व्यवस्था निर्मित गरेका हुन्छन।यी व्यक्तिको मोक्ष पनि धनको रुपमा देखिन्छ।
चौथो वर्ग शुद्र हो। शुद्रको अर्थ हो प्रमादी तथा सुतेको व्यक्ति हो। आलस्य हो र तमसले घेरिएको व्यक्ति हो।यस प्रकृतिका व्यक्तिलाई ज्ञानको, शक्तिको, धनको कुनै अर्थ र प्रयोजन हुदैन ।केवल आफ्नो सारा जीवन सेवा वा सर्भिसको आसपासमा लगाएका वा समर्पित गरेका हुन्छन ।
अत ब्रह्माणको आकाँक्षा शान्ति वा ज्ञानको हो भने क्षत्रियको आकाँक्षा शक्तिको हो ।त्यसैगरी वैश्यको आकाँक्षा धनको हो भने शुद्रको आकाँक्षा सेवाको हो।
सत्गुरु ओशो भन्नुहुन्छ, बर्हिमुखी व्यक्ति क्षत्रिय हुन्छ भने अन्तर्मुखी व्यक्ति क्षत्रिय हुन सक्दैन।यदी अन्तर्मुखी व्यक्ति क्षत्रियको घरमा जन्म लियो भने पनि उ क्षत्रिय रहन सक्दैन। महाविर क्षत्रियको घरमा पैदा भए तर उनी अन्तरमुखी थिए। वाहिरको जगत उनलाई कुनै अर्थपूर्ण लागेन।बुद्ध क्षत्रियको घरमा पैदा भए तर उनी क्षत्रिय रहन सकेनन।
वाहिरको विस्तार र कर्मको जाल उनलाई वेईमानीपूर्ण लाग्यो त्यसैले उनले दरवार छोडे। परशुराम ब्रह्मणको घरमा पैदा भए तर उनी ब्रह्मण रहन सकेनन उनी क्षत्रिय भए।क्षत्रिय अनिवार्य रुपमा बहिर्मुखी हुन्छ र क्षत्रिय भएर नै उसले सफलता प्राप्त गर्छ। क्षत्रिय बर्हिमुखताको प्रतिक हो भने ब्रह्माण अन्तरमुखताको प्रतिक हो। अन्तरमुखता पूरै फूल्यो भने त्यस व्यक्तिमा ब्रह्म फलित हुन्छ र अन्तरमुखता फूलेन भने त्यसमा शुद्र फलित हुन्छ। बहिर्मुखता पूरै फूल्यो भने त्यो क्षत्रिय फलित हुन्छ र बहिर्मुखता फुल्न सकेन भने त्यो वैश्य फलित हुन्छ।
अन्तरमुखता एक सिढी हो जो पहिलो सिढीमा हुन्छ त्यो शुद्र हुन्छ भने अन्तिम सिढीमा पुग्यो भने ब्रह्माण हुन्छ अर्थात ब्रह्म प्राप्ति हुन्छ।बहिर्मुखता पनि एक सिढी हो जो पहिलो सिढीमा रहन्छ त्यो वैश्यमै रहन्छ र जो अन्तिम सिढीमा पुग्छ त्यो क्षत्रिय हुन्छ। जन्मले कोही पनि ब्रह्माण, क्षत्रिय, वैश्य र शुद्र हुँदैन।ब्रह्माणमा पनि शुद्र पैदा हुन्छ र शुद्रमा पनि ब्रह्माण पैदा हुन्छ। त्यसैगरी क्षत्रियमा पनि वैश्य पैदा हुन्छ र वैश्यमा पनि क्षत्रिय पैदा हुन्छ। क्षत्रिय पतित भयो भने वैश्य हुन्छ र वैश्य विकसित भयो भने क्षत्रिय हुन्छ।
हामी जन्मदा सबै व्यक्ति वैश्य वा शुद्र प्रवृति वा स्वभावको रुपमा जन्मेका हुन्छौ तर वैश्यबाट क्षत्रिय हुन वा शुद्रबाट ब्रह्माण हुन अर्थात रुपान्तरण हुन हामीहरुले श्रम, मेहनत, अभ्यास वा साधना गर्नु आवाश्यक हुन्छ। हामी आफू शुद्र प्रवृतिका छौ भने आफूलाई रुपान्तरण गरेर ब्रह्माण हुने अभ्यासमा लागौ र यदी वैश्य प्रवृतिका छौ भने रुपान्तरण हुने अभ्यास गरी क्षत्रिय हुने प्रयासमा लाग्नु जरुरी हुन्छ।
अतः जातथरले मान्छे ठूलो हुने होईन।कर्मले मान्छे ठूलो मानिन्छ। ऋषि वशिष्ठले जुन योगदान दिनुभयो त्यसको अनुसरण र पालना गरेर आफूलाई कर्मशील तुल्याउनु नै उहाँप्रतिको सच्चा सम्मान हो। विशेषगरी वशिष्ठ गोत्र भएका सबै व्यक्तिहरुले वशिष्ठ ऋषिको मार्गलाई अवलम्वन गर्नु आवाश्यक छ। खासगरी वशिष्ठ गोत्र भएका थरहरुमा भट्टराईहरुको संख्या अधिक छ।भट्टराई थर रहन भएको शाव्दिक अर्थले पनि बताउँदछकी भट्टराई भनेको श्रेष्ठ विद्धान हो र त्यो थरले मात्र होईन कर्मले सावित हुनु पर्दछ।यसर्थ सत्वगुणी चरित्रमार्फत ब्रह्मज्ञान प्राप्तिको मार्ग अवलम्बन गर्ने दिशामा अग्रसर हुनु जरुरी छ।
जसरी वशिष्ठ ऋषिले आफ्नो साधनाबाट हिन्दु धर्म र संस्कृतिमा जुन योगदान दिनु भएको छ त्यसलाई जोगाउने र अझ समृद्ध बनाउने बाटोमा हामी लाग्नु नै उहाँप्रतिको न्याय हो। काम, क्रोध, लोभ, मोह, द्धेष र ईर्श्या जस्ता तत्वहरु सबैमा हुन्छन र ती तत्वहरुप्रति जागरुप हुन वा जाग्न र थाहापाउन सकिएन भने जसले मानवलाई पतनको मार्गतिर उन्मुख गराउँदछ।यसर्थ आफ्ना वृत्ति वा रिपुहरु जाग्न वा थाहा पाउनको लागि ध्यान योग मार्फत आफूलाई रुपान्तरण गरी ज्ञान प्राप्त गर्दै शान्त र आनन्दित बन्न सकौ।
0 comment