काठमाडौं - मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।

सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११ औँ दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुने जलेश्वर नगरपालिका- ८ का पण्डित अनिल पाठकले बताउनुभयो ।  

आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाईको दीर्घायुको कामना गर्दै मिथिलाको प्रत्येक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामा चकेवा खेल्ने छन् ।

आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् । 

सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ । 

रङ्गिन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन रहेको जलेश्वर- ५ का संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ । 

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारीहरु ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका गीतहरु गाएर सामा चकेवा खेल्ने गर्छन् ।