काठमाडौं - मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने यो मिथिला परम्पराको महत्वपूर्ण पर्व हो।

पर्वका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइको यश, पराक्रम र परोपकारी भावको कामना गर्दै दाहिने हातको नाडीमा ‘राखी’ (धागोको कलात्मक डोरा तथा रक्षासूत्र) बाँध्ने गर्छन् ।  मधेशका सबै जिल्लामा यो पर्व मनाइन्छ।

हिन्दू परम्परामा साउन पूर्णिमाका दिनलाई रक्षाबन्धन पर्व भनिन्छ। सनातन परम्परामा रक्षाबन्धन भनिने पर्वलाई मिथिलामा ‘राखी’ भनिन्छ । रक्षाबन्धनका अवसरमा गुरु–पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित रक्षासूत्र यजमानलाई बाँधिदिने चलन पनि मिथिलामा छ । तर यहाँ दिदीबहिनीले दाजुभाइलाई रङ्गीबिरङ्गी राखी बाँध्ने चलनले यो पर्वलाई विशेष बनाएको गौशाला–११ कालीपुरकी शिक्षक सुनिता महतो बताउछन् ।

राखी पर्वका लागि केही दिनअघिदेखि नै मधेशका बस्तीबस्तीका हाटबजारमा विभिन्न रङ्गका कलात्मक राखी बिक्रीका लागि राखिन्छन्। दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता झल्काउने गीत गुञ्जिरहेका छन् । पर्वका कारण यहाँको परिवेश राखीमय बने पनि यसपालि पर्वको मुखैमा आएको भोटेकोशीको बाढीले पु¥याएको क्षतिका कारण विगतको जस्तो उल्लास नरहेको मिथिलानी बताउँछन् ।

“सदियौँदेखि चलिआएको पारम्परिक पर्व हो, हामी मनाउँदै छौँ,” बर्दिबास–२ की अर्चना झाले भन्नुभयो, “तर यसपालि बुधबारको भोटेकोशी बाढीले धेरै क्षति पु¥याएको छ। महोत्तरीकै कैयौँ व्यक्ति अझै सम्पर्कविहीन छन् । यस्तो अवस्थामा केको उल्लास हुनु ?”

आपत् आइपरे पनि त्यसलाई केही समय थाती राख्दै चाडपर्व र परम्परा जोगाउनु नेपाली संस्कृतिको विशेषता भएकाले असहज परिवेशबीच पनि पर्व मनाइरहेको उनले बताए।

पर्वका लागि दिदीबहिनीले टाढाटाढा काममा रहेका दाजुभाइलाई एक साताअघिदेखि नै निम्ता गरिसकेका छन् । विवाहित दिदीबहिनीले धेरैजसो दाजुभाइलाई पर्व मनाउन आफ्नै घरमा बोलाउने चलन छ । अनुकूलताअनुसार दिदीबहिनी माइती पनि जाने गर्छन् । अविवाहित दिदीबहिनी आफ्ना दाजुभाइसँगै एकै घरमा रहने भएकाले उनीहरूका लागि भने थप सहज हुन्छ। एकै घरमा रहे पनि दिदीबहिनीले घरकै दाजुभाइलाई समेत एक दिनअघि राखीको निम्ता दिने चलन छ ।

पर्वमा दिदीबहिनीले दाजुभाइलाई सम्झने र दाजुभाइले दिदीबहिनीको निम्ता मान्ने स्थापित मैथिल परम्परा रहेको मटिहानी नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख दीपा दास बताउछन् ।

राखी पर्वका अवसरमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मिष्टान्न परिकार खुवाउने चलन छ । त्यसैगरी दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई वस्त्र, आभूषण तथा नगद दक्षिणा दिने गर्छन् । मैथिल समुदायले यस पर्वलाई आपसी प्रेम, सद्भाव र समर्पणभावसँग जोडेर हेर्ने गरेका छन्।

यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक परम्परा र संस्कृतिसँग जोडिएको संस्कृतिविद् जलेश्वर–५ पतैलीका ध्रुव राय बताउनुहुन्छ । उहाँका अनुसार मिथिलामा यो पर्व विभिन्न जातजाति, धर्मसम्प्रदाय र फरक संस्कृति भएका समुदायले समेत आपसमा मिलेर मनाउने गर्छन् ।

मिथिलामा दाजुभाइ तथा दिदीबहिनीबीचको आपसी प्रेम र समर्पणसँग जोडिएका अन्य पर्व पनि छन् । कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा मनाइने भैयादूज तथा सोही पक्षको पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व पनि दिदीबहिनीले दाजुभाइप्रति समर्पणभाव प्रकट गर्ने प्रमुख पर्वमा पर्छन् । अहिले भने दिदीबहिनी राखी पर्वको तयारीमा जुटेका छन् ।

सत्ययुगमा तीनै लोकका अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएको र युद्धमा बलिको विजय भएको सम्झनामा यो पर्वको परम्परा चलेको जनविश्वास छ ।