काठमाडौँ - म्यानमारको सैन्य सरकारले गरेको हवाई आक्रमणमा विवाह समारोहस्थल र विद्यालयसहित विभिन्न स्थानमा दर्जनौँ मानिसको मृत्यु भएको छ ।

बिबिसिका अनुसार शनिबार दक्षिणी शान राज्यको मोए बाइ गाउँमा आयोजित विवाह समारोहस्थलमा भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

त्यस्तै, बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रमा रहेको इन योन गाउँको एक विद्यालयमा भएको आक्रमणमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसहित कम्तीमा २० जनाको मृत्यु भएको निर्वासित राष्ट्रिय एकता सरकारले जनाएको छ ।

शनिबार साँझ पश्चिमी राखाइन राज्यको म्राउक–यू सहरमा पनि सैन्य हवाई आक्रमण भएको छ । आवासीय क्षेत्रमा भएको बमबारीमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको बताइएको छ ।

सन् २०२१ मा सैनिक ‘कू’ मार्फत निर्वाचित सरकार अपदस्थ भएपछि म्यानमारमा लामो समयदेखि गृहयुद्ध जारी छ । सैन्य सरकार र विद्रोही समूहबीचको द्वन्द्वका क्रममा देशका विभिन्न क्षेत्रमा लगभग दैनिकजसो हवाई आक्रमण हुँदै आएको छ ।

पछिल्लो आक्रमणबारे म्यानमारको सैन्य सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।