काठमाडौं - तिहार सकिएसँगै काठमाडौं उपत्यका लगायत तराइका जिल्लामा छठ पर्वको तयारी सुरु भएको छ ।

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर मुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ ।

विशेषगरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रूपमा लिइन्छ ।

यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेलमा नागरिक व्यस्त छन् ।

छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, मुलालगायत किनमेलका लागि जनकपुरधामसहित सम्पूर्ण तराई- मधेसका प्रमुख बजारमा चहलपहल बढेको छ । 

तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेहरुको भीडभाड बढेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् । 

अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।

छठ पर्व नजिकिएकाले माटो र जोयाका सामाग्रीको माग बढेको छ ।