काठमाडौं - माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । 

अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य-तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । 

अल्पसङ्ख्यकका रुपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृति अनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो । 

प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाज अनुसार मनाउने गरिन्छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका- १० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षका बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृति अनुसार मनाइँदै आइएको छ । 

“यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भन्नुभयो । उहाँले देशभरका माझी समुदायद्वारा आइतबार साँझदेखि विधिपूर्वक यो पर्व मनाइरहेको बताउनुभयो । 

पितरा पर्वको किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरूलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौँ’ भनी वरदान दिएका थिए । त्यसैबेला देखि यो संस्कृतिको सुरुआत भएको सुन्दै आएको स्थानीय माझी बताउँछन् । 

यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ ।

यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको माझीले बताउनुभयो । 

पर्वको परम्परा अनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ ।