रामशरण पाण्डे 

वर्तमान अवस्थामा नेपालको हरेक राजनीतिक पार्टी बिचार विहिन बन्दैछन्। तपाईं नेपालको राजनीतिक पार्टीहरुलाई हेर्नुस्। तपाईं आफैँ सहभागी पार्टीलाई हेर्नुहोस् जसको बिकास निर्माणको नीति के छ ? गाउँ समाजको बिकासको लागि नीतिमा के छ ? कार्यक्रम के छ ? आम जनतालाई कसरी सुबिधा दिने ? किशानलाई के सुबिधा दिने ? गाउँको आवश्यक्ता के हो ? तपाईंको पार्टीको हरेक कार्यकर्ता के गर्दै छन् ? कस्ता कार्यक्रम बनाउँदै छन् ? जसले गाउँमा आम नेपालीलाई सुबिधा दिन सकोस के यस्तो भएको छ ? मलाई लाग्छ छैन।

विचार विहिन भएकै कारण एकले अर्कालाई गालि गर्ने हो । आजकाल त् ठुला भनिएका दलहरु हरियो रंगको बारेमा समर्थन र बिरोध गर्न कम्मर कसेर लागेको छन् जुन समाज बिकासमा आवश्यक छैन। विचार नभएपछि आउने परिणाम यस्तै हो। राष्ट्रीय स्तरका नेता कसरी सरकारमा पुग्ने प्रधानमन्त्री हुने, मन्त्री हुने, के के गर्दा आफ्नो स्वार्थ पुरा हुन्छ ? कुन प्रभुको ढोग गर्ने भन्नेमा दिमाग लगाउँदैमा दिन जान्छ। आफु केन्द्रित दिनरात तपस्या गर्छन्। सरकारमा पुगेपछी कति समय मोज गर्ने आफु र आफन्तलाई कसरी राज्य दोहन गर्न सक्षम बनाउने त्यसैमा समय दिन्छन्। 

आज नेपालमा सबैजसो पार्टी र तिनका नेता सरकारमा पुगे । कसले नेपाल र नेपालीको हितमा उन्नति प्रगतिको लागि के गरे ? सबैलाई थाहा छ। भारतका राजनैतिक पार्टीहरु दिल्लीमा भारत र भारतीय हितमा के मात्र गर्दैनन् ? कुनै पनि पार्टीको सरकार बन्दै गर्दा आम भारतीयको दैनिक सरोकारको बिषयमा पानि, बिजुली, शिक्षा, स्वास्थमा कसरी जनतालाई सहज र सरल तरिकामा उपलब्ध गराउन सकिन्छ ? बजार भाउ कसरी नियन्त्रण गर्ने ? लुट, बलात्कार, चोरीका घटना कसरी कम हुन्छन् ? भ्रष्टाचार कसरी कम हुन्छ ? त्यसै अनुसार नीति निर्माण गर्छन्। त्यति मात्र होइन भारतीय स्वार्थमा के गर्न सकिन्छ ? त्यसैमा समय दिन्छन्। 

उता बंगलादेश जुन झन्डै नेपाल जत्रै छ । क्षेत्रफल १,४८,४६० बर्ग कि. मि. छ तर झन्डै १७ करोड जनसंख्या छ। नेपालको जस्तो प्राकृतिक स्रोत त् त्याँहा छैन र पनि त्याँहा देश र जनताको हितमा धेरै कार्यक्रम बनेको छ । र त विश्वमा गार्मेन्टको ठुलो सप्लायर्स बनेको छ। आज बंगलादेशको अर्थतन्त्र कति मझबुत बनेको छ। त्यो पनि राजनैतिक नीति कार्यक्रममा नै बनेको हो अनि पो त्यस देशको पार्टी हुनुको अर्थ रहन्छ। पार्टी सदस्य हुनुको इज्जत हुन्छ। किनकि उसको नीति कार्यक्रम थियो । जनता पनि त्यस पार्टीको कार्यकर्ता हुनुमा गर्व गर्छन्। त्यसैले हिजो गरिबीमा थिचिएको बंगलादेश आज कहाँ पुग्यो ? देखेकै कुरा हो। 

नेपालमा राजनैतिक दलहरु छन् । त्यसका कार्यकर्ताहरु पनि छन्। राज्य स्तरको भन्नुस या गाउँ स्तरको कार्यकर्ताहरु गाउँपालिकाबाट कसरी रकम हात पार्ने ? खानेपानीको नाममा, सडकको नाममा, विद्यालयको नाममा कसरी सके आफ्नो हातमा त्यो पैसा परोस नसके आफ्नो आदेश मान्नेको हातमा पुगोस् यसैमा लडाईं हुन्छ। बाँकी समय त कुन नेताको चाकडी गर्दा व्यक्तिगत फाइदा हुन्छ त्यतै जान्छन्। कसैलाई गाउँको बारेमा चासो छैन । यसरी गाउ पछी परेको छ। यसमा तपाईं हाम्रो पनि दोष छ। तपाईं हामि त्यो भन्दा भिन्न छौँ त ? छैनौँ । हामि नीति विहिन पार्टी भन्दा भिन्न हुन् सकेका छैनौँ। आम जनता भिन्न हुन् सकेको छैनौँ । प्रमुख समस्या यहि हो। 

आम जनताले यो मनन गरेको दिनमा गाउँ गाउँमा गाउँको समस्याको बारेमा गाउँले जनता आफैँ छलफल गर्छन्। त्यँहाको समस्या त्यहिँका जनताले नै देख्न सक्छन्। त्यसको उपचार जनताले नै गर्न थाल्छन्। सिँचाइको कुलो जनताले नै बनाउउँन्। स्कुलको पढाइ बिद्यार्थीले नै सुधार्न बाध्य पार्दछन्। कहाँ कस्तो बाटो बनाउने ? कहाँ बस्ति बनाउने ? कहाँ उन्नत खेति गर्ने ? कहाँ आधुनिक पशु पाल्ने ? कहाँ फलफुल खेति गर्ने ? कहाँ जडिबुटी खेति गर्ने ? यो जनताले नै निर्णय गर्न थाल्छन्। त्यस दिन देखि चाकडी गर्ने पैसाको लागि काम गर्ने एजेन्ट नेता कार्यकर्ताहरु आफैँ गाउँ छाड्न बाध्य हुन्छन् । हो ! त्यसै दिन देखि गाउँ बिकास हुन् थाल्छ। बाटो निर्माण हुन् थाल्छ । भ्रष्टचार नियन्त्रण हुन्छ, कमिसन बन्द हुन्छ। सबै जनताले आफ्नो अधिकार र कर्तव्यको पालना गर्न थाल्छन्। त्यसै दिन देखि समृद्ध समाज बन्न थाल्छ । समृद्दी समाज निर्माण नै समृद्द देश निर्माणको आधार हो। आत्मनिर्भर अर्थतन्त्रको आधार हो। त्यसको लागि तयारी थाल्ने कि ? के सम्भव होला ?