काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ ।
प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गर्नुभयो ।
आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले बताउनुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उहाँको भनाइ छ ।
“ मेरो लागि अध्यक्ष भन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कार्यकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।”
पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरूपता र एकढिक्का बनाएर अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीचमा पार्टी एकता गर्दै जाने योजना रहेको पनि बताउनुभयो ।
0 comment