काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनका लागि क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताउनुभएको छ ।

शनिवार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्नुहुदै सभापति देउवाले क्याप्टेन रामेश्वर थापाले आफू र प्रधानमन्त्री ओलीलाई नजिक ल्याउने काममा सहयोग गरेको समेत बताउनुभयो ।

उहाले रामेश्वर थापाजीलाई केपी शर्मा ओलीको पार्टीको नजिकको भनेता पनि उहाँ सबैको समर्थक, सबैलाई सहयोग गर्ने व्यक्तिको रुपमा आफुले लिएको र यो लुकाएर लुक्ने कुरा नभएको समेत बताउनुभयो। उहाले भन्नुभयो, ओलीजी र म बिचमा नजिक ल्याउने काममा र यो गठबन्धन बनाउने काममा पनि उहाँको धेरै ठुलो योगदान छ ।

प्रधानमन्त्री ओली समेत उपस्थित सो कार्यक्रममा प्रधानमन्त्री ओली र सभापति देउवा दुवैले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्वपूर्ण भूमिका खेलेकामा प्रशंसा गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली, सभापति देउवा र बालगुरु आदित्यनाथले थापाको पुस्तक लोकार्पण गर्नुभएको थियो ।