काठमाडौं - पछिल्लो समय बेलायतमा फैलिएको जातीय घृणाप्रेरित अपराधको निसानामा यहाँका नेपालीसमेत परेका छन् । जातीय घृणा फैलाएर देशैभर अराजक हूलदंगा एवं प्रदर्शन गरेका कट्टर दक्षिणपन्थीहरूले एक जना नेपाली व्यवसायीको रेस्टुटेन्ट तथा पबमा आगजनी गरिदिएका छन् । 

नर्दन आयरल्यान्डको बालीक्लेयर रोड, न्युटाउन आबीस्थित रेलवे बार एन्ड स्टिम डाइनिङमा बुधबार मध्यरातमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको सञ्चालक अब्जन आचार्यले जानकारी दिए । 

रेस्टुरेन्ट बन्द रहेको बिहान करिब १:५० बजेको समयमा गरिएको आगजनीबाट रेस्टुरेन्ट जलेर पूर्ण रूपमा क्षतिग्रस्त बनेको उनले बताए । आगजनीपछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको पाइएको छ । प्रहरीले घटनालाई जातीय उत्प्रेरित घृणाजन्य अपराध भनेको छ । दक्षिणपन्थी समूहले आगजनी गरेको बताउँदै यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

बागलुङ स्थायी घर भएर सन् २००६ देखिदेखि नै बाबुआमासँग बेलायत बस्दै आएका आचार्यले झन्डै ६ महिनाअघि उक्त व्यवसाय सञ्चालनमा ल्याएका थिए । पब तथा रेस्टुरेन्ट गरी झन्डै १ सय ८० जना ग्राहक क्षमताको उक्त व्यवसायमा आफ्नो करिब १ लाख रुपैयाँ लगानी परेको उनले सुनाए । 

आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि अहिले आफ्नो पब र रेस्टुरेन्ट बन्द गर्नुपरेको आचार्यले बताएका छन् । भवनसमेतमा ठूलो क्षति भएका कारण अब सोही ठाउँमा पुनः सञ्चालन गर्न असम्भव रहेको उनको भनाइ छ । 

आफूलाई व्यक्तिगत रूपमा निसाना गरिएको भन्दा पनि समुदायप्रतिको जातीय घृणाको सिकार आफू बनेको अनुभव आचार्यले गरेका छन् । मेरो छालाको रंग, जात, धर्म आदिलाई आधार बनाएर आफैंमाथि यति ठूलो हिंसा होला भन्ने त कल्पनासमेत थिएन, नर्दन आयरल्यान्डमै हुर्किएका आचार्यले अन्नपूर्ण पोस्ट््सँग भने, घटनाले निकै दुःखी बनाएको छ । तर आफ्नो नियन्त्रणभन्दा बाहिरको घटना भएकाले धेरै चिन्तित वा विचलित नबनी अगाडि बढ््नुपर्छ भन्ने सोंच बनाएको छु । 

नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका पूर्वअध्यक्षसमेत रहेका आचार्यको व्यवसायीमाथि भएको जातीय घृणाप्रेरित घटनाले स्थानीय नेपालीहरू स्तब्ध बनेका छन् । आगजनी गरिएको आचार्यको रेस्टुरेन्ट नजिकै अर्को रेस्टुरेन्ट सञ्चालन गर्दै आएका गुल्मीका तुल्सीराम पौडेल असुरक्षित महसुस भएको बताउँछन् । हाम्रो नजिककै साथीले सञ्चालन गरेको रेस्टुरेन्टमा भएको घटनाले हामीलाई निकै दुःखी बनाएको छ । त्यसमाथि अब कतै हामीहरू र हाम्रो व्यवसायमाथि पनि यस्तै हुने हो कि भन्ने भय पनि सिर्जना भएको छ, उनले भने । 

नर्दन आयरल्यान्डमा अहिले झन्डै एक सय परिवार हाराहारीमा नेपालीको बसोबास छ । यसअघि नेपालीमाथि नै सिधा प्रहार हुने गरी कुनै पनि जातीय घृणाका घटना नभएको स्थानीय नेपालीहरू बताउँछन् । 

बेलायतमा यसअघि पनि पूर्वगोर्खा परिवारका वृद्धवृद्धाहरूमाथि जातीय घृणा उत्प्रेरित गालीगलौज तथा दुव्र्यवहारका केही घटना भएका थिए । तर पछिल्लो केही सातादेखि फैलिएको दंगाका क्रममा भएका आक्रमणहरूमा भने कोही नेपाली परेको जानकारी थिएन । यसअघि उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा गत जुलाई २९ मा एक १७ वर्षीय युवाले छुरा प्रहार गरी तीन बालिकाको हत्या गरेपछि दक्षिणपन्थी समूहले जातीय हिंसा फैलाएको थियो ।

एक साता लामो हिंसात्मक दंगाका क्रममा आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर आक्रमण गरिएको थियो । हिंसात्मक दंगामा संलग्न १ हजार २४ जनालाई पक्राउ गरिएको र ५ सय ७५ लाई अभियोग लगाइएको प्रहरीले जनाएको छ ।

बालिका हत्यामा संलग्न युवा शरणार्थी र मुस्लिम भएको गलत हल्ला फैलिएपछि आप्रवासी र मुस्लिमविरोधी हिंसात्मक प्रदर्शनहरू भएका थिए ।