काठमाडौं– दशैको नवौ दिन अर्थात नवरात्र आज विभिन्न शक्तिपीठहरुमा पशुबलि दिई मनाईयो । महानवमीका दिन राज्यका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिएर दुर्गा भवानीको पूजा आराधना गरिन्छ । कतिपय शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने चलन छ ।


नवमीको दिनमा विशेष गरी घरघरमा बोका खशी रागा मार हान्ने गरिन्छ । त्यसैगरी बली दिने शक्तिपीठहरुमा पशुको बली पनि दिइन्छ । पछिल्लो समयमा पशु बली दिने चलनको विरोध पनि हुने गरेको छ । तर पनि नवरात्रमा पशुको बली दिदा दुर्गामाता खुशी हुने धार्मिक विश्वास रही आएको पाइन्छ । कतिपय शक्तिपीठहरुमा पशुलाई लखेटीलखेटी मार हान्ने गरेको पनि पाइन्छ । यसरी पशुलाई यातना दिएर बली दिनु धार्मिक तथा सामाजिक रुपमा नै राम्रो काम नभएको पशु अधिकारकर्मीहरु भन्छन 


पशुबलि नदिने तथा शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलको बलि दिएर पूजा गर्ने गर्छन् । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिने गरिन्छ ।


आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी पशुबलिसहित दुर्गा भवानीको पूजा गर्ने परम्परा छ ।