काठमाडौं - विजयादशमी नेपालीहरूको महान् धार्मिक तथा सांस्कृतिक पर्व बडादसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रिको दसौँ दिन अर्थात् आश्विन शुक्ल दशमीका दिन यो पर्व मनाइन्छ। यस दिन बडादसैँको उल्लास उत्कर्षमा पुग्छ। नवरात्रिभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजा–आराधना गरी दसौँ दिन देवीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वको धार्मिक, पौराणिक, आध्यात्मिक, मनोवैज्ञानिक तथा सामाजिक–सांस्कृतिक महत्त्व रहेको छ।
पौराणिक मान्यताअनुसार, भगवान् श्रीरामले रावणमाथि र माता दुर्गाले महिषासुरजस्ता शक्तिशाली असुरी शक्तिमाथि विजय प्राप्त गरेको स्मरणमा विजयादशमी मनाइन्छ। धार्मिक कथनअनुसार, वनवासका क्रममा भगवान् रामले महामायाको आह्वान गरी नौ दिनसम्म पूजा–आराधना गर्नुभएको थियो। नवौँ रातमा देवीले सपनामा दर्शन दिई भोलिपल्ट आफ्नो प्रसाद ग्रहण गरेर विजय अभियान सुरु गरेमा रावणमाथि विजय प्राप्त हुने आशीर्वाद दिनुभएको विश्वास गरिन्छ। सोहीअनुसार, आश्विन शुक्ल दशमीका दिन भगवतीको घडाको जलले अभिषेक गरी टीका र जमरा ग्रहण गरेपछि रामले विजय अभियान सुरु गरेको प्रसङ्गसँग यस दिनको नाम विजयादशमी रहन गएको धार्मिक मान्यता छ। नवरात्रिभर पूजा गरिएकी दुर्गा भवानीको यस दिन विधिपूर्वक विसर्जन गर्ने परम्परा पनि छ।
विजयादशमीका दिन घरघरमा धार्मिक विधिअनुसार पूजा–विसर्जन गरिन्छ। यजमानले फूल, अक्षता तथा अन्य पूजासामग्रीसहित क्षमाप्रार्थना गर्दै विसर्जन पूजा सम्पन्न गरेपछि पुरोहितले विधिपूर्वक घडा उठाई त्यसको जलबाट परिवारका सदस्यलाई अभिषेक गराउने परम्परा कतिपय स्थानमा रहेको छ। त्यसपछि घरमूली वा ज्येष्ठ सदस्यको निधारमा टीका र शिरमा जमरा लगाइदिएर टीका ग्रहण गर्ने क्रम सुरु हुन्छ। कतिपय परिवारमा कन्याको हातबाट टीका लगाउने चलन पनि पाइन्छ। ज्येष्ठताको क्रमअनुसार परिवारका सदस्यहरूले टीका, जमरा र आशीर्वाद ग्रहण गर्छन्। परिवारभित्र टीका लगाउने क्रम सकिएपछि घरमा आएका नाता–कुटुम्ब तथा पाहुनालाई पनि टीका लगाइदिने गरिन्छ। त्यसैगरी, आफू पनि मान्यजन तथा आफन्तका घरमा गई टीका र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
विजयादशमीलाई कुटुम्ब मिलनको पर्वका रूपमा पनि लिइन्छ। टीका ग्रहण गर्नुको उद्देश्य भगवतीको प्रसाद प्राप्त गर्नुमा मात्र सीमित छैन; यसमा मान्यजनप्रतिको श्रद्धा, आत्मीयता, प्रेम र पारस्परिक सद्भावको भावना पनि गहिरिएर रहेको पाइन्छ। मान्यजनले आफ्ना सन्ततिलाई दीर्घायु, कीर्ति, शौर्य, मान–सम्मान र ज्ञान प्राप्त होस् भनी आशीर्वाद दिने परम्परा छ। ‘आयु द्रोणसुते’ लगायतका आशीर्वचनमार्फत द्रोणाचार्यका पुत्र अश्वत्थामाको जस्तो आयु, राजा दशरथको जस्तो कीर्ति, भगवान् रामको जस्तो शत्रु पराजित गर्ने क्षमता, नहुषको जस्तो ऐश्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान र विदुरको जस्तो ज्ञान प्राप्त होस् भन्ने कामना गरिन्छ। यस्ता आशीर्वादले टीका ग्रहण गर्ने व्यक्तिमा उत्साह, आत्मविश्वास र सकारात्मक भावनाको सञ्चार गर्छन्। यस अवसरमा वर्षौँदेखि बिछोडिएका आमा–बाबु र छोराछोरी, दाजुभाइ तथा दिदीबहिनी, पति–पत्नी र अन्य आफन्तबीच पुनर्मिलन हुने भएकाले विजयादशमी पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने अवसरसमेत हो।
विजयादशमी केवल पञ्चाङ्गमा उल्लेख भएको धार्मिक तिथिको पर्व मात्र होइन, यसलाई मानव शरीर, मन र चेतनामा सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा पनि लिन सकिन्छ। दुर्गापूजा र नवरात्रिको महत्त्व बाह्य शक्तिको आराधनामा मात्र सीमित नभई व्यक्तिभित्र निहित शक्ति, आत्मबल र विवेकको जागरणसँग पनि जोडिएको छ। यस पर्वले मानिसलाई आफ्ना कमजोरी पहिचान गर्न, नकारात्मक प्रवृत्तिमाथि नियन्त्रण राख्न र असल आचरण अपनाउन प्रेरित गर्छ। पौराणिक मान्यताअनुसार, दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले दशवटा टाउका भएका राक्षसराज रावणलाई पराजित गरेको स्मरणमा यो पर्व मनाइन्छ। प्रतीकात्मक रूपमा ‘दशमी’ लाई मानिसका दस खराब प्रवृत्तिमाथि विजय प्राप्त गर्ने सन्देशसँग पनि जोडिन्छ। ती प्रवृत्ति काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी हुन्। यसरी विजयादशमीले बाह्य विजयका साथै आत्मविजय र चरित्र निर्माणको सन्देशसमेत दिन्छ।
यस पर्वको सामाजिक तथा सांस्कृतिक महत्त्व पनि उत्तिकै उल्लेखनीय छ। दसैँका अवसरमा विदेश तथा घरबाहिर रहेका नेपालीहरू आफ्नो घर फर्कने, आफन्त र साथीभाइसँग भेटघाट गर्ने तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विभिन्न देशमा रहेका नेपालीहरू स्वदेश फर्कने अवसरका रूपमा पनि यस पर्वलाई लिइन्छ। तर गरिबी र रोजगारीको अभावका कारण परदेशिएका नेपालीका परिवारका लागि दसैँ कहिलेकाहीँ प्रतीक्षा र पीडाको समय पनि बन्न पुग्छ। परदेशमा रहेका आफ्ना प्रियजन यसपालि अवश्य घर फर्केलान् भन्ने आशामा नवविवाहित पत्नी, वृद्ध आमाबुबा तथा परिवारका अन्य सदस्यहरू बाटो हेरिरहेका हुन्छन्। दसैँको टीकाले पनि प्रियजनलाई घर फर्काउन नसक्दा उनीहरूमा निराशा र खिन्नता उत्पन्न हुनु स्वाभाविक हो। यसले विजयादशमीको उल्लाससँगै वैदेशिक रोजगारीका कारण नेपाली परिवारले भोग्नुपरेको विछोड र भावनात्मक पीडालाई पनि उजागर गर्छ।
विजयादशमीको टीका लगाउने क्रम सामान्यतः दसैँको मुख्य दिनबाट सुरु भई केही दिनसम्म चल्छ। धार्मिक रूपमा विजयादशमीको मुख्य तिथि एकै दिन भए पनि टाढा रहेका आफन्त तथा परदेशबाट फर्कनेहरूलाई समेत टीका लगाउने अवसर प्रदान गर्न व्यवहारमा तीन–चार दिनसम्म टीका लगाउने चलन रहेको पाइन्छ। यस अवधिमा कतिपय स्थानमा दसैँघरबाट खड्ग निकालेर खड्गजात्रा गर्ने परम्परा छ, जुन युद्ध अभियान र विजयको प्रतीकका रूपमा लिइन्छ। यसै समयमा पचली भैरवको यात्रा तथा विभिन्न स्थानमा पचली भैरव र अष्टमातृकाका नृत्यसमेत सञ्चालन हुने गर्छन्। विजयादशमीकै मध्यरातमा पचली भैरवको खड्ग र राजकीय खड्गको आदानप्रदान गर्ने परम्परा पनि रहेको छ। यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले नेपाली मौलिक परम्परा, ऐतिहासिक स्मृति र सामुदायिक पहिचानलाई जीवन्त राख्न योगदान पुर्याउँछन्।
विजयादशमीका बेला नेपाली समाजमा देखिने दृश्य पनि अत्यन्त रमाइलो र आकर्षक हुन्छ। आफ्नो आर्थिक हैसियतअनुसार राम्रा लुगा र गहनाले सजिएका नरनारी तथा बालबालिकाका निधारमा दही, अक्षता र रङ मिसाएर बनाइएको रातो टीका र शिरमा जौका सुनौला जमरा सजिएका हुन्छन्। टीका लगाउन मान्यजनका घरतर्फ जाने र आफन्तलाई भेट्न आउने मानिसका समूहले गाउँसहरका बाटाहरू चहलपहलपूर्ण बनाउँछन्। ग्रामीण समाजमा सामूहिक रूपमा भेला भई रमाइलो गर्ने, पिङ खेल्ने र चङ्गा उडाउने परम्पराले आपसी एकता, सद्भाव र सहकार्यलाई प्रोत्साहन गर्छ। खेतीपातीको कामबाट केही समय विश्राम लिई नयाँ तथा राम्रा कपडा लगाउने, मीठा परिकार खाने र परिवारसँग समय बिताउने अवसरका रूपमा पनि दसैँलाई लिइन्छ।


0 comment