काठमाडौं -  उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभएको छ ।

अर्थ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घलगायतले आज संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको ‘विकासका लागि वित्त संवाद’ कार्यक्रममा  बोल्दै अर्थमन्त्री पौडेलले विकासोन्मुख र अल्पविकसित मुलुकहरूको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको बताउनुभयो । 

आन्तरिक स्रोतको अभावमा निजी पुँजी तथा विकास सहायता लगायत सम्भाव्य क्षेत्रको स्रोतको अधिकतम उपयोग गर्नेगरी विकास प्रतिको खाका तय गर्नुपर्ने अवस्था सिर्जना भएको अर्थमन्त्रीको भनाइ छ ।

उहाँले प्रत्यक्ष वैदेशिक लगानी र बाह्य क्षेत्रबाट आउने पुँजी प्रवाह तुलनात्मक रुपमा न्यून रहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणको भार बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नेकुरा चुनौतीपूर्ण बनेको बताउनुभयो । राजस्वको अधिकांश हिस्सा सार्वजनिक ऋण भुक्तानीमा लगाउनुपर्ने बाध्यताले सामाजिक सुरक्षा तथा विकासका गतिविधिमा सरकारको लगानी सङ्कुचित हुने अवस्था रहेको उहाँले बताउनुभयो ।

निजी पुँजी आकर्षित गर्नेगरी विकासको खाका निर्माण गर्ने जानकारी दिँदे उहाँले सरकार रोजगारी सहितको विकासको पक्षमा रहेको बताउनुभयो ।