गाईजात्राको प्रारम्भ कसले र कहिलेदेखि गर्‍यो भन्ने विषयमा हाम्रा इतिहासकारहरूबीच विवाद रहँदै आएको छ । कतिपय इतिहासकारका अनुसार रातो मच्छिन्द्रनाथको जात्रा, बिस्केट जात्रा, इन्द्रजात्राजस्ता उपत्यकाका प्रसिद्ध जात्राहरू जस्तै गाईजात्रा पनि लिच्छविकालीन जात्रा नै हो । गाईजात्रा प्रारम्भ हुनुका पछाडि इतिहासमा कतै काठमाडौंका प्रताप मल्ललाई श्रेय दिइएको छ भने कतै भक्तपुरका जगतप्रकाश मल्ललाई श्रेय दिइएको छ । 

प्रचलित कथाअनुसार दुवै राजाले पुत्रशोकमा डुबेकी आफ्नी रानीलाई सान्त्वना दिन गाईजात्राको चलन चलाएका हुन् । कथा अनुसार पुत्रशोक रानीलाई मात्र छैन दुनियाँदारलाई पनि छ भन्ने तथ्य सार्वजनिक गर्न राजाज्ञा अनुसार ज–जसका घरमा मानिसको निधन भएको छ उनीहरूले भाद्र कृष्ण प्रतिपदाका दिन आ–आफ्नो घरबाट गाईलाई सिंगारेर झाँकी निकाल्न थालेपछि गाईजात्राको विधिवत प्रारम्भ भएको मानिन्छ । 

गाईजात्राको इतिहास 

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्व दिने गरिएको देखाएको बताए । उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्व पनि बढेको थियो ।
उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । मलाई लाग्छ अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्व कति छ भन्ने देखाउँछ । उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ‘सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको बताए ।

त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ । राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ । उनले भने, “एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ । बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर मनाइने जात्रा हो यो ।”

नेवार समुदाय बसोबास गर्ने क्षेत्रहरू मुख्यतः काठमाडौं उपत्यकालगायत पोखरा, कीर्तिपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, दोलखा, ओखलढुङ्गा, संखुवासभाको चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडामा भाद्रशुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा मनाइने गरिन्छ । 

प्रताप मल्ल भन्दा अगाडि पनि गाईजात्रा मनाइन्थ्यो

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठान्ने संस्कृतप्रेमीहरूको जमात ठुलै छ । तर संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताउँछन् ।

उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्व पनि बढेको थियो । उनी भन्छन्, “लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ । अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्व कति छ भन्ने देखाउँछ ।”

उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ भन्ने शब्द उल्लेख गरिएको भन्दै ‘सा’को अर्थ गाई र ‘यात’ को अर्थ जात्रा भएको बताए । त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ । राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ ।

इतिहासविद गौतम वज्राचार्य पनि यस कुरामा सहमत देखिन्छन् । उनले गोवर्द्धन पूजाको प्रसंग ल्याएर गाईजात्रा गोपालवंशको शासनकालदेखि नै उपत्यकामा मनाउन थालिएको बताएका छन् ।

गोवर्द्धन पूजा कात्तिकमा हुन्छ, गाइजात्रा साउनमा हुन्छ । यी दुई पर्वबिच १० महिनाको अन्तर छ । गो (गाई) वर्द्धन (बढाउनु) पर्व ‘गाई बढाउने (गाईलाई साँढे दिने) पर्व’ हो । कात्तिकमा साँढे लागेको गाई साउनमा ब्याउँछ (साउन,भदौ भनेको सुत्केरी गाईलाई हरियो पोसिलो घाँस पाइने समय) । पशुपालनको युगमा मानिसको सम्पूर्ण आजिविकाको आधार नै गाई थियो । सामुदाय (गण) ले पालेका गाई ब्याउदा सो गणमा उत्साह छाउथ्यो । त्यही उत्साहका साथ उत्सव मनाउने प्रचलनबाट गोपाल वंशको शासनकालदेखि नै उपत्यकामा गाईजात्रा मनाउन थालिएको हो । असल संस्कृतिलाई शासकसँग जोडेर ब्याख्या गरियो र प्रताप मल्लसँग जोडेर गाईजात्राको उद्भवलाई शताब्दीयौँ पछाडि तानियो । 

लेखक महेश्वर महर्जनका अनुसार, गरुड पुराणको प्रेताकल्प भन्ने खण्डमा प्रेतत्वबाट मुक्ति भन्ने शीर्षकमा प्रेतत्वको मुक्तिको लागि मूर्तिको निर्माण गर्ने उल्लेख भएको पाइन्छ । साथै, ‘ललित विस्तर’ भन्ने बौद्ध ग्रन्थमा बौद्धदेवको तपस्या भङ्ग गर्न क्लेस, मृत्यु, देवस्कन्ध आदि विभिन्न रूपमा नक्कल गरी तपस्या भङ्ग गर्न आएको तथ्यहरू पाइन्छ । यस अर्थमा सापारु अर्थात गाइजात्रा मल्लकालभन्दा धेरै पहिलेदेखि नै प्रचलनमा रहेको देखिन्छ । मृत्यु गणना गर्ने सन्दर्भमा संस्कारमूलक सांस्कृतिक थालनी चाहीँ मल्लकालमा भएको देखिन्छ ।

यसैगरी, लिच्छविकालिन अभिलेखहरूमा पनि गौ उत्सव, गौ यात्रा, वृषभ यात्रा आदि विभिन्न नाम उल्लेख भएको अनुसार साया पर्व प्राचिनकालदेखि नै चल्दै आएको परम्परा हो भनि मान्न सकिने अधारहरू तय हुन्छन् । 

प्रतापमल्ल र गाईजात्रा

ने.सं. ५७५ कालीन राजा प्रताप मल्लका कान्छा सुपुत्र राजकुमार चक्रवतीन्द मल्लको शीतला रोगका कारण मृत्यु हुन पुग्दछ । राजकुमारको मृत्युमा भावविह्वल रानी रामतीलाई कसै गरे पनि शान्त राख्न नसकेपछि राजा प्रताप मलले ‘जसको घरमा वर्षभरी आफ्न्तको मृत्यु भएको छ, उसको नाउँमा ख्याली झाँकीसहित गाईजात्रा निकाल्नु’ भनेर उर्दी जारी गर्छन् । 

यसपछि, व्यंगात्मक रुपले ‘साया’ आई त्यससँगसँगै ‘ख्याली’ पनि आए । यो देखेर रानीले हाँसो रोक्न नसकेर बेस्सरी हाँसिन् । अन्ततः राजाले ‘संसारमा मृत्यु अपरिहार्य छ र हाम्रै देशमा पनि जनताहरुको मृत्यु भइरहन्छ’ भनी बुझाउन सके । सोही समयदेखि यो परम्परालाई निरन्तरता दिएको मानिन्छ भने राजाले सोही दिन ‘राजादेखि रैतिसम्मका जसको पनि मजाक बनाउन पाइने’ गरि जनतालाई सहुलियत प्रदान गरेका थिए । यसको ज्वलन्त उदाहरण अहिले पनि गरिने ञख्यालिं वयेगुझ हो, जसमा विभिन्न पात्रहरुको अभिनय गदै मजाक र व्यंगात्मक कुराहरु प्रस्तुत गरि रमाइलो गर्ने गरिन्छ । 

गाईजात्राका पछिल्ला संस्करणहरू ः

गाईजात्राको परम्परागत मान्यता वर्तमानमा नेवार समुदायमा मात्र सीमित नरही व्यंग्यात्मक हास्यब्यङग्य प्रहसन, गाइजात्रे पत्रपत्रिका, नाटक तथा सञ्चारका माध्यमबाट राष्ट्रिय हास्यब्यङ्ग्य चाडको रुपधारणा गरिसकेको पाइन्छ । ‘गाईजात्रा’को आडमा हुने गरेका केहि कमसल प्रहर्सनहरूले ‘गाईजात्रा’को महत्वलाई बटारिदिएको छ । ‘हसाउनै पर्ने बाध्यता र हास्दिनुपर्ने बाध्यताबीच’ यस पर्वले बोकेको ‘मृत्यु चिन्तन’, ‘कृषि चिन्तन’, ‘पुराना नृत्य’ र त्यससँग सम्बन्धित दन्त्यकथाहरू हराउने डर देखिन्छ ।  

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि प्रतिबन्ध लागेको गाईजात्राका पछिल्ला संस्करणहरूमा केहि उच्छृङ्खलता पनि नदेखिएका होइनन्, तर यसले समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न खोजिरहेको छ, जुन राम्रो कुरा हो । बस्, यस कार्यमा ‘हामी यस्तै त हो नि ब्रो’ हुनु भएन ।

‘त्यति सजिलै कहाँ मरिन्छ र’ भनेर जीवन जिइरहेकाहरूलाई ‘होइन, मरिन्छ । जहाँ जीवन छ, त्यहाँ मृत्यु निश्चित छ’ भन्नु भनेको चानचुने कुरा होइन । ‘जीवनमा बाँच्नु मात्र पर्याप्त छैन । स्वतन्त्र भएर खुसीसाथ फुल्न सक्नुपर्छ’ भनेर बुझाउन सक्नु यस जात्राको अर्को महत्त्वपूर्ण कडी हो । मृतात्मको स्मरण, सुःखावती भूवनमा बास तथा निर्वाण कामना गर्नु अर्को पाटो रह्यो ।

जीवनशून्यता र डरत्रासको मनोविज्ञान । प्रकृति र जीवनबीचको नातासम्बन्ध । सृष्टि चलाउन प्रकृतिले सिर्जना गरेको लोभ, मोह, क्रोध र स्वार्थ । जन्मदेखि मृत्युसम्म गरेका आफ्नै कर्महरू । मृत्युको अनिश्चितता । यी सबै कुराहरूको यथार्थ सम्बोधन यस पर्वले गरेको देखिन्छ । जीवनको अस्तित्वबारे चित्तबुझ्दो उत्तर भेट्याउन व्यक्तिलाई प्रेरित गर्ने पर्वको रुपमा यसलाई बुझेको खण्डमा बेसै हुने थियो ।