नेपालमा दलीय शासन पद्धति सुरु भएदेखि नेपालका दलका धेरै नेताको राजनीतिक राजधानी भएको छ । दिल्लीको तानावानामा नेपाली काँग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरुका नेता जेलिएका छन् । त्यसै कारणले राजनीतिले सन्तुलन कायम गर्न सकेको छैन् । 

आफ्नो निहित स्वार्थका लागि भारतपरस्त भएका यी दलले चीन र भारतबीच सन्तुलन कायम गर्न पनि सकेका छैनन् । नेपालमा चीनको चासो बढ्नुमा यो एउटा स्वभाविक कारण हो । नेपालप्रति हस्तक्षेपको नीति अपनाउँदै आएको चीनले बाध्यात्मक रुपमा राख्नु पर्ने वातावरण बनिरहेको छ । 

नेपाली काँग्रेस लगायत समस्त दलबाट भएका द्वन्द्व, नक्सलवादीको जमघट, एमाले र एनेकपा माओवादीको जनयुद्ध भारतबाटै विकसित भएकाले उनीहरु भारतप्रति बफादार छन् । भारतीय माओवादी, कम्युनिष्ट पार्टी र कास्मिरदेखि मेघालय र तल कन्या कुमारी सम्मका सशस्त्र संघर्षले गर्दा पनि तिब्बतमा संवेदनशीलता थपिएको हो । छर मिमेकका विद्रोही शाक्तिलाई ‘रअ’ ले क्षणिक स्वार्थका लागि आफ्नो अनुकुल उपयोग गर्ने गर्दछ । यो प्रवृत्ति पश्चिमाको क्विज्लिङ प्रवृत्तिको उतार हो । यसले दक्षिण एसिया नै आतंकवादको घेराबन्दीमा पर्दै गएको छ । यो प्रवृत्तिका कारण यस्ता कुरामा चासो नदिने चीन पनि तानिदै गएको छ । भारतको यस्तो अति हस्तक्षेपले अशान्तिको दायरा बढाउने काम मात्र भएको छ । सार्क संस्था नै पंगु भएको छ । यदि राजा वीरेन्द्र अध्यक्ष भएको अवस्था भए इण्डियाले यस्तो दमन अपनाउन सक्ने थिएन । यस्तो नकारात्मक तथा आततायी प्रवृत्तिका कारण बढ्ने विद्रोहहरु अन्ततः आफैले सामना गर्नुपर्दछ भन्ने कुरा भारतले बुझ्नु पर्दछ । 

आखिरी ‘शान्ति’ भारतको पनि खाँचोको विषय हो । ल्याटिन अमेरिकी देशमा अमेरिकी अति हस्तक्षेप बढेका कारण ह्युगो चावेजदेखि मोरालेसहरुको उदय भएको हो । यसले मुसलमान जगतलाई समेत अमेरिकाको विरोधमा खडा गराएको छ । ल्याटिन अमेरिका र मध्यपूर्वका मुलुकमा अमेरिकाको विरोध प्रमुख राष्ट्रबादको एजेण्डा बनेको छ । त्यो नकारात्मक पक्ष नबुझेर पार्टीको संचालन खर्चको लोभमा परेका नेपालका दलका नेताहरु कच्चा खेलाडी भएका छन् । नेपालको शक्ति सन्तुलन बिगारिदिने भारतले अन्ततः त्यसको झटारो आफैमाथि आउनसक्छ भनेर बुझ्न सक्नु पर्दछ । 

त्यही देशका कसैलाई उठाएर आफ्नो स्वार्थसिद्धी गर्ने तथा स्वार्थसिद्धी भएपछि आफैले उठाएकालाई सिध्याउन क्विलिङ्ग गर्ने पश्चिमाको प्रत्युत्पादक रणनीति भारतले अनुकरण गर्नु बैदिक संस्कारको पनि विरुद्ध छ । 

अफगानिस्तानमा सोभियत संघको हस्तक्षेपलाई त्यहाँका राजा जाहीर शाहले रोक्न नसक्नुको कारण अमेरिकाले तालिवानलाई उक्साएर साम्यवादी सोभियत रुस विरुद्ध प्रयोग गर्नु हो । प्रजामारेर शासन गर्न जडसूत्रवादी तालिवान अमेरिकाको लागि नै ठूलो चुनौती बनिसकेको छ । तालिवान दबाउन उठाएका मोहम्मद करजाईले नै अमेरिकाको तीव्र आलोचना गरिरहेका छन् । अरबौं डलर र लाखौं ‘नाटो’ सैन्य प्रयोग गरेर समाप्त पार्न खोजिएको तालिवानले अफगानिष्टानमा राज गरेको छ । अर्कातिर आफैले उठाएको बिनलादेनलाई क्विजलिङ गरेर मारिएको छ । इरानका राजा पहलबी जाहिर शाह आफैले आन्तरिक सन्तुलन नमिलाएर अमेरिकको भर परे, अमेरिकापरस्त भए, उनले पनि पद छाड्नु प¥यो । 

वास्तवमा अमेरिकी हस्तक्षेपकै कारण त्यहाँका जनता राजतन्त्रको विरोधमा उत्रिए, राजतन्त्रको अन्त्य भयो । अमेरिकाले नाकाबन्दी गरि रहेको छ । त्यसले इराकी जनतामा अमेरिका विरोधि भावना चर्काएको छ । भारतको उक्त गलत कार्यका कारण नेपालमा पनि भारतविरोधी जनभावना जन्मिरहेकोछ । भारत परस्त भएकै कारण नेपाली जनताले राजाको पुनर्वाहली र दलमाथि प्रतिकारका धम्की उठिरहेका छन् । ‘रअ’ ले यिनै दलमाथि क्विज्लिङ गर्दैन भन्ने कुनै आधारै छैन । ती हेगमा पनि पुग्न सक्दछन् । 

अमेरिकी हुुकुम तामेल नगर्ने सद्दाम हुसेन वा कर्णेल गद्दाफीको व्यक्तिगत जीवन त समाप्त ग¥यो तर त्यसले मध्यपूर्व र अफ्रिकी मुलुक नै अमेरिका विरोधी पंक्तिमा उभिदै गएकाछन् । इण्डियाको आदेश नमान्ने नेपालका राजाको राजगद्धी त गयो तर समस्त नेपाली र विश्वभरका सनातनी हिन्दूहरु भारतको विरोधमा रहेका छन् । 

आफ्नो राष्ट्रको हित हुने यथार्थ धरातल बिर्सेर क्षणिक र निहित स्वार्थका लागि भारतको पिछलग्गु भएका सबै दलहरु तल गिर्दै गएका छन् । नेपाली काँग्रेस प्रजापरिषद् जस्तो भएको छ, जनशक्ति गोरखा परिषद् जस्तो भएकोछ, एमाले रायमाझीको नेपाल कम्युनिष्ट पार्टी जस्तै भएको छ । माओवादी  केन्द्र खेमा जस्तो न समाजवादी, न पुजीपतिले पत्याउने भएको छ । यी सबै दलप्रति नेपाली जनताको आस्था गुमेको छ । जुन दल आफ्नो राष्ट्रपति समर्पित भएर निरन्तर देशको भलाईका लागि काम गर्दैनन् तिनको अवस्था यस्तै छ । हर्लक्क बढ्छ, ग्वाल्र्याम्ब ढल्दछ । 

दुई विशाल र विपरित राजनीतिक परिवेशमा रहेका छिमेकीको बीचमा रहेको नेपालको राष्ट्र प्रमुख जबसम्म दलीय रङ्गबाट नपोतिएको दीगो संस्कारमुक्त व्यक्ति हुँदैन अरु कसैले सन्तुलन कायम गर्न सक्दैनन् । चीनकै नेताको नाममा बनेको माओवादी केन्द्र दलका २÷२ जना प्रधानमन्त्री हुँदा समेत चीनको विश्वास लिन सकेनन् । दिल्ली र बेजिङ्गको दौडमा यता न उताका त्रिसंखु भएर बसेका छन् । चीनले दिल्लीसँग राम्रो सम्बन्ध कायम गर भनेपछि दिल्ली दौडेकोमा दिल्लीले चीनसँग राम्रो सम्बन्ध बनाई राख भन्नुमा कुनै पनि दलका कुनैपनि नेताले सन्तुलित सम्बन्ध कायम गर्न सक्दैनन् भन्ने चेतावनी हो । 

नेपालका लागि पृथ्वीनारायण शाहले अवलम्वन गरेको विदेशनीतिको निरन्तरता नै उपयुक्त हो । तराईवादी दलका एक नेता तराई नेपालबाट स्वतन्त्र हुन सक्दछ (अथवा भारतको एउटा प्रान्त हुन सक्दछ) भन्नु, अर्का नेताले पहाडियाले तराई बसाई त्याग्नु पर्दछ अथवा तराईवासीको दास भएर बस्नु पर्दछ भन्नु भारतीय उक्साहटबाट बोलिएका बोली मात्र हुन् । प्रधानमन्त्री भएको एकजना तथाकथित उग्र साम्यबादी दलका नेताले ‘नेपाल दुई ढुङ्गको तरुल होइन, दुई ढुङ्गको पुल बन्नु पर्दछ भन्नु, अन्यथा कि भारतमा विलय हुन्छ कि चीनमा’ भन्नु र त्यसमा कुनै पनि प्रतिपक्ष दलले आपत्ति प्रकट नगर्नुले नेपाललाई राज्यशक्ति बाहेकका अरुले दुई देश बीच सन्तुलन कायम गर्न सक्तैनन् भन्ने कुराको पुष्टि हो । 

व्यवहारिक रुपमा दुई छिमेकी बीच नेपालले सन्तुलन मिलाउन नसके युरोप अमेरिका र विश्वसँग पनि सम्बन्ध सन्तुलन गर्न सकिदैन । व्यक्तिगत, दलगत स्वार्थ नभएको, कसैको दलाली नगर्ने तथा राष्ट्रियहितको लागि समर्पित व्यक्तिले मात्र सन्तुलन कायम गर्न सक्दछ । त्यो भनेको बैदिक परम्पराको ज्ञान, सीप, क्षमतायुक्त सनातनी राजसंस्था नै हो ।