काठमाडौं - नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन्। 

काठमाडौंमा जारी महाधिवेशनबाट नेपाल पुनः अध्यक्षमा चयन भएका हुन्। त्यस्तै महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए। उनका अनुसार सम्मानित नेतामा पनि झलनाथ खनाल दोहोरिएका छन्। बाँकी रहेका पदमा शुक्रबार विहानसम्म टुंगो लगाइने बताइएको छ।

अध्यक्ष पदमा दाबी गर्दै आए पनि अन्त्यमा भुसाल नेपाल नेतृत्वमा जान सहमत भएका थिए। 

असार १६ गतेदेखि सुरू भएको पार्टीको १०औं महाधिवेशन आज सकिँदैछ। ५ दिन चलेको महाधिवेशनले मुख्य तीन पदको छिनोफानो गरे पनि बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छान्न भने सकेको छैन। भोलिसम्म सहमतिकै आधारमा पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्नेगरी नेतृत्वपंक्ति छलफलमा रहेको नेताहरूको भनाइ छ। 

एकीकृत समाजवादीले १०औं महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो।

एक हजार आठ सय ४९ प्रतिनिधि सहभागी भएको महाधिवेशनमा विभिन्न प्रतिवेदनहरू पनि पेस भएको थियो। प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल गरिएको थियो। केन्द्रीय कमिटी चयन भएपछि महाधिवेशनको घोषणा पत्र सार्वजनिक गरिने बताइएको छ। 

यसैबिच महासचिव भुसालले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताएका छन्।

पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताए। 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारे। कांग्रेस-एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको उनको भनाइ छ। उनले संविधान संशोधनको मुद्दा स्पष्टरूपमा बाहिर नआइसकेको भन्दै स्पष्टरूपमा आए पार्टीमा छलफल गर्ने जिकिर गरे।

उनले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मकरूपमा सहमतिको प्रयास भइरहेको भन्दै निरास हुनुपर्ने अवस्था नरहेको बताए।