काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट निम्बलन गरेको छ। 

बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा.ढकाललाई पार्टी अनुशासन विपरीत कार्य गरेको भन्दै ७ दिन निलम्बन गर्ने निर्णय गरेको उपसभापति डोल प्रसाद अर्यालले जानकारी दिए। ढकालले बुधबार बसेको केन्द्रीय समितिको बैठकमा मुखमा टेप लगाएर विरोध जनाएका थिए। 

अर्यालले ढकाललाई दिएको निलम्बनको पत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिंदै हिंड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ।’

यस अगाडि महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो। 

बुधबारको बैठकमा महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको समीक्षा प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। तर केन्द्रीय सदस्यहरुले लाइभ गर्न नहुनेमा जोड दिएका थिए। त्यसको विरोध गर्दै उनले भनेका थिए ‘बैठक लाइभ नगर्ने निर्णय गराएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु।’

ढकालले केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै गर्दा सभापति रवि लामिछानेप्रति आक्रामक अभिव्यक्ति दिएका थिए। उनले आफूमाथि बैठकमा ह्यारेसमेन्ट भएको दाबी गरेका थिए। उनले सभापति लामिछानेलाई गोर्खा मिडियासँग जोडेर आरोपित गरेका थिए। 

‘सरकारमा गएपछि पार्टीको इमेज र क्रेज डाउन भएको स्वीकार गरेर अगाडि बढ्नुपर्ने थियो। मन्त्रीहरुले आफ्नो अक्षमताको भारी महामन्त्रीको रुपमा मलाई बोकाउन खोज्नुभएको छ।’उनले भनेका थिए‘गोरखा मिडियाको प्रवन्ध निर्देशक र रास्वपा महामन्त्री उस्तै पद हो। एउटै मानक हो। उहाँ प्रबन्ध निर्देशक हुँदा अध्यक्ष जिवी राई दोषि, आज उहाँ सभापति र म महामन्त्री हुँदा सम्पूर्ण कुराको दोषि महामन्त्री भन्ने आयो। जब पत्रकार हुनुहुन्थ्यो नेता दोषि, जब नेता हुनुहुन्छ पत्रकार दोषि। जब प्रतिपक्ष हुनुहुन्थ्यो सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्छ प्रतिपक्ष दोषि।’

ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको दाबी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीले कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत डा. ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको स्पष्ट पारेका हुन्।

उनले लेखेका छन्, ‘विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए।’ ढकालले फेसबुकमा निलम्बनको पत्र राख्दै लेखेका छन्,‘मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाहि भएको छ। बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ। ’
 
ढकालले सभापति लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा गलत लाग्दा लाग्दै पनि आफूले मानिदिएको बताए। तर, सरकारमा पुगेपछि लामिछानेले देश बनाउँछ वा बनाउँदैन ? जनताले जे भने त्यहि आफूले बोलिदिएको उनको भनाई छ। 

‘२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए। पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडि अरू कोहि थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ। प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नु भयो।’ उनले भनेका छन्, ‘मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शङ्का लाग्यो - यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने, त्यहि बोलिदिए। सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले  घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फँसे।’