काठमाडौं - एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै संसदमा चार पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ। सोमबार मध्यरात एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको हो।

संसदका प्रमुख दुई दलका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति पत्रमा हस्ताक्षर भएसँगै प्रचण्ड सरकार संकटमा परेको हो। एमालेले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको र नयाँ सरकार गठन प्रक्रियामा अगाडि बढेको जानकारी गराइसकेका छन्।

दुई दलको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने र डेढ वर्षपछि आगामी निर्वाचनसम्म देउवाले नेतृत्वमा सरकार बन्ने छ। हाल ओली सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय सम्हाल्ने छन्।

एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ। कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने दुई दलले निर्णय गरेका छन्। हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसको ८८ सिट छ भने भने एमालेको ७९ सिट छ। 

यस अगाडि २०८१ जेठ ७ गते चौथो पटक प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७  मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ। एक सांसद भने तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो।

प्रचण्डले तेस्रो पटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११०  मत खसेको थियो। 

प्रचण्डले त्यसअघि दोस्रो पटक २०७९ पुस २६ गते पहिलो पटक र  चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। त्यसपछि एमालेको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गरेका थिए। उनले पुन:कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्न आएका हुन्।

नयाँ सत्ता समिकरण बन्ने भएपछि नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्। कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि नेकपा एमालेका मन्त्रीहरूले आज राजीनामा दिने तयारी गरेको एमालेका एक मन्त्रीले जानकारी दिए। एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा आठ मन्त्री सहभागी छन्। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीमा  कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा पदम गिरी, रक्षा मन्त्रीमा हरि उप्रेती, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी,खानेपानी मन्त्रीमा राजेन्द्र राई, उद्योग तथा वाणिज्य मन्त्रीमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी रहेका छन्। 

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएको खण्डमा नयाँ सरकार गठनको प्रक्रिया लम्बिने छ। सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

यसैबिच, नेपाली कांग्रेसले आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधारका लागि एमालेसँग गठबन्धन बनाउन लागिएको जानकारी दिए। 

संविधानलाई समसामयिक रुपमा संशोधन गर्ने सहमति पनि बनेको उनको भनाई छ। उनले आवश्यकताअनुसार अन्य दललाई पनि सरकारमा ल्याउन छलफल गरेर अगाडि बढ्ने बताए। उनले अस्थिरता लामो समयदेखि देखिएकाले कांग्रेस र एमाले एकै ठाउँमा आउनुपर्ने आवश्यकता देशमा देखिएकाले नयाँ समझदारी बनेको स्पष्ट पारे।