म्याडम टुसा म्यूजियम हेरे पश्चात् लण्डनमा अवलोकन गर्ने ठाउँ प्रायः सकिएकोले हामी अक्सफोर्ड सहरतर्फ लाग्यौ । त्यहाको विश्वविद्यालय अति प्राचीन र विश्व विख्यात भन्ने कुरा सानो छदै सुनेकोले मलाई त्यो विश्वविद्यालय अवलोकन गर्ने ठूलो रहर थियो । हुन पनि त्यो विश्वविद्यालय कहिले खडा भयो भन्ने वारे कुनै प्रमाण रहेनछ तर सन् १०९६ मा नै त्यहा प्राध्यापन हुन्थ्यो भन्ने कुराको चाहि अभिलेख रहेछ । यस विश्व विद्यालय अंग्रेजी भाषा वोल्ने देशहरुकै सबैभन्दा ठूलो विश्वविद्यालय र प्राचीनकाल देखिनै निरन्तर चलिरहेको विश्वविद्यालयमध्ये विश्वको दोश्रो ठूलो विश्व विद्यालयमा पर्दो रहेछ ।
सन ११७६ बेलायती राजा हेनरी द्धितियले अंग्रेज विद्यार्थीहरुलाई पेरिश विश्वविद्यालयमा पढन निषेध गरेपछि अक्सफोर्ड विश्वविद्यालयमा विद्यार्थी संख्या वढन गई यसले प्राध्यापनमा गतिलिन थालेको रहेछ । अक्सफोर्डका वासिन्दा र विद्यार्थी विच सन १२०९ मा झगडा भएको कारण केही प्राज्ञिक समूहले अक्सफोर्ड छोडेर त्यहाँको पूर्वोत्तरमा रहेको क्याम्व्रिज भन्ने ठाउमा अर्को विश्वविद्यालय स्थापना गरेका रहेछन । अक्सफोर्ड र क्याम्व्रीज दुबै विश्वप्रख्यात हुन पुगेको कारण यदाकदा दुवैलाई मिलाई अक्सव्रिज विश्वविद्यालय पनि भन्दा रहेछन् । यस विश्वविद्यालय अन्तर्गत ३८ वटा कलेज संचालनमा रहेछन जस्लाई चारवटा प्राज्ञिक विभाग अन्तर्गत राखिएको रहेछ ।
यो विश्वविद्यालयको अर्को महत्वपूर्ण कुरा भनेको विश्वकै सबैभन्दा पुरानो विश्वविद्यालय म्यूजियम र छपाइ गर्ने विश्वविद्यालय प्रेश विश्वविद्यालय आफैले संचालन गरेको रहेछ । यस विश्वविद्यालयका थुप्रै विद्यार्थीहरुले विभिन्न विधामा नोवेल पुरस्कार प्राप्त गरिसकेका रहेछन भने धेरै जना बेलायतका प्रधानमंत्री पनि वनिसकेका रहेछन् । यही विश्वविद्यालयले विश्वविख्यात विश्वकै सबैभन्दा पुरानो र महत्वपूर्ण रोढेस अन्तराष्ट्रिय छात्रवृत्ति स्थापना गरेको रहेछ र यही छात्रवृत्ति पाएर पढनेहरु विश्वका विभिन्न देशका राष्ट्रपति र प्रधानमंत्री पनि वनिसकेका रहेछन् ।
१५औं शताब्दिमा यूरोपमा भएको पुनरजागरणले यस विश्वविद्यालयलाई निकै प्रभावित गरेको रहेछ जस्को कारण प्राज्ञ विलियम ग्रोचिनको सक्रियतामा प्राचीन ग्रीक भाषाको अध्यापन गर्ने कार्यको पुनः शुरुवात भएको रहेछ । पुनरजागरणको अन्त्यसंगै भएको धर्मसुधार आन्दोलन (रिफर्मेसन) को कारण रोमन क्याथोलिक चर्चसंग सम्वन्ध विच्छेद भएपछि त्यसबाट असन्तुष्ट हुन पुगेका प्राज्ञहरु अक्सफोर्ड विश्वविद्यालय त्यागी यूरोपका अन्य विश्वविद्यालय तिर लाग्दा अक्सफोर्ड विश्वविद्यालयको ख्यातीमा स्खलन हुन पुगेको रहेछ ।
सन १६३६ मा क्यान्टरवरीका आर्कविशप विलियम लाउडले विश्वविद्यालयको आफनै विधान वनाइ लागु गरेपछि विश्वविद्यालयमानै प्रेश र पुस्तकालय संचालनमा आएको रहेछ । पहिले स्नातकतह सम्मको मात्र पढाइ हुने गरेकोमा सन १८७१ म आएर स्नातकोत्तरको पढाइ पनि थालिएको रहेछ ।
सन १६४२ देखि १६४९ सम्म भएको बेलायती गृहयद्ध ताका यस विश्वविद्यालयले सक्रिय राजतन्त्रको पक्ष लिएको कारण संसदवादीहरुसंग यस विश्वविद्यालयको विवाद निकै चुलिएको रहेछ तर १८औ शताब्दिको मध्यतिर गएर यस विश्वविद्यालयलाई राजनीतिक विवादबाट मुक्त गरिएको रहेछ । सन १९१४ तिर आउदा अण्डरग्राजुएट तहमा ३००० र पोष्टग्राजुयट तहमा १०० जना विद्यार्थी संख्या पुगेको रहेछ ।
सन १८५२ मा वनेको विश्वविद्यालय सुधारआयोगले दिएको सुझावका आधारमा विश्वविद्यालयले पुरानो अध्यापन त्यागी जर्मन र स्कटिस अध्यापन विधि ग्रहण गरेको रहेछ र यस्को साथै अध्यापनसंगै अनुसन्धानलाई पनि महत्व दिन शुरु भएको रहेछ । सन १९२० मा अक्सफोर्ड विश्वविद्यालयले आफना कलेजहरुमा महिलाको लागि निश्चित कोटा आरक्षण गर्न शुरु गरेको रहेछ । त्यस्को लागि यस विश्वविद्यालय अन्तर्गत चार महिला कलेज स्थापना हुन पुगका रहेछन् ।
सन १९२७ सम्म आइपुग्दा कोटा वढेर पुरुषको संख्याको एक चौथाइ संख्यामा महिलाहरुलाई भर्ना लिन थालिएछ । पछि सन १९५९ मा कोटाको ब्यवस्था खारेज गरी महिलाहरुलाई निर्विघ्न भर्ना गर्ने कार्यको शुरुवात गरिएको रहेछ । प्रख्यात जासुसी उपन्यास गाउडी नाइटका लेखिका डोरोथि सायर्स अक्सफोर्डबाट प्राज्ञिक डिग्रि हासिल गर्ने पहिलो महिला वनेकी रहिछन ।
२०औ शताब्दिमा आएर यस विश्वविद्यालयले डक्टरेटको उपाधी पनि दिन शुरु गरेको रहेछ । अक्सफोर्डलाई विश्वविद्यालयको शहर यसकारण पनि भनिदो रहेछ कि यसका क्याम्पस तथा कलेज अनि तिनीहरुका विभागहरु एक ठाउमा एकत्रित नभै अक्सफोर्ड शहर भरीनै छरिएर रहेका रहेछन् । यसैगरी विश्वविद्यालयको पार्क २८ हेक्टर जमीनमा फैलिएको रहेछ र दिनभरी खुला हुंदो रहेछ ।
0 comment