जिवलाल सुवेदी 
नेपालका नेताहरुले कहिल्यै ठूलो-ठूलो घटनाका बारेमा विषय बस्तुहरु उठाएको पाईंदैन मिलोमतोको कारण हो जस्तो लाग्छ । 

यहाँ हेर्नुस त कति ठुला भष्ट्रचार भएका छन् । एनसेलको ७२ अर्व, १४३ रोपनी ललिता निवास जग्गा प्रकरण, वतास, वाइड बडी, नारायणहिटी क्यान्टनमेन्टको ३४ अर्व रकम । यस्ता विषयहरु राज्य पक्षबाट कहिल्यै उठेको छैन । राज्य चलाउने साँचो आफ्नो हातमा हुनेहरुले यस्तो हर्कत गर्दछन् । यो भष्ट्रचार गर्नु भनेको नेपाल सिध्याउनु जस्तै हो । 

एनसेलले तिर्नु पर्ने ७२ अर्व रकम किन उठाउन मान्दैनन् ? यसभित्र के रहस्य लुकेको छ ? किन तिर्दैन एनसेल रकम ? ७२ अर्व भनेको कति रकम हो ? यस रकमले ठुलै विद्युत आयोजना बैन्न सक्दछ । ठूलो सडक/शुरुङमार्ग निर्माण बैन्न सक्छ । एमसिसीले दिने भनेको ५५ अर्व भित्रायाउन यिनीहरु लुछाचुँडी गर्ने ? यस भित्र रहेर ठुला-ठुला घटना घटाउन सक्ने ? देशै आन्दोलनमय बनाउने ? आफ्नो घर भित्रै यत्रो रकम हुँदा सबै दलका नेता चुप लागेर बस्ने कारण के हो ? अनि अमेरिकाले अनुदान रकम दिन्छ भनेपछी सक्रिय बन्ने दलभित्रका नेताहरुमा पक्कै पनि रहस्य छ । 

अर्को ललिता निवासको १४३ रोपनी जग्गा । नेपालकै मुटु राजधानी काठमाडौंमा रहेको यो जग्गा हडप्ने अनि चुप लागेर बस्ने ? यो जग्गा क-कस्को नाममा बनाए ? क-कस्ले कति रकम खाए ? किन यस्तो भयो भनेर कुनै नेता पनि बोल्दैनन् । नबोल्नुको अर्थ के हो ? कि त यिनीहरुले नै आफ्नो नाममा बनाएको हुनुपर्छ । नत्र भने एक दल नबोले पनि अर्को दलका नेता त पक्कै बोल्नुपर्छ । 

राज्य नै दोहन गर्नका लागी सरकारमा भएका, विपक्षमा भएका र अन्य बाहिर रहेका दलका नेताका साथसाथै मधेसवादी दलका नेताहरुसम्म नबोल्नु भनेको सबै मिलेर राज्य दोहन गर्नु नै हो । एउटा जहाज किन्दा समेत भष्ट्रचार गर्ने हर्कत हुँदाहुँदै फेरी नारायणहिटीसम्म प्रवेश गर्न भ्याएका ! नारायणहिटीभित्र सम्म पस्न र त्यो ऐतिहासीक दरवार नै हडप्न समेत यिनीहरु कम्मर नै कसेर लाग्न थालेको भेटाईयो । 

केही दिन पहिले दलहरु बसेको बैठकमा नेकपा एमालेका  महासचिव शंकर पोख्रेलले माथि उल्लेखित ठुला भष्ट्रचारका घटना नउठाएर कोरोना भयाक्सिन कति आयो र कति हरायो जस्ता विषय उठाए । ठुला भष्ट्रचार भएको नदेख्ने, राज्य नै खोक्रो पारेको नदेख्ने, भ्याक्सिनको कुरा उठाउने ? भ्याक्सीन किन्नका लागि कमसेकम रकम त चाहिन्छ । नेताहरुले भ्याक्सिनका लागि भष्ट्रचार गर्न सक्ने रकम जुटाउने विषयवस्तु नै उठ्ने यस्तो हर्कत नेताहरुमा देखिँदै आएको छ । 

नेपालमा भष्ट्रचार बाहेकका अरु ठुलाठुला घटना समेत घटेका छन् । नागरिक सधैँ असुरक्षित महसुस गरिरहेका छन् । जस्तो मदन भण्डारी - जिवराज आश्रित घटना, दरवार हत्याकाण्ड, निर्मला पन्त बलात्कार तथा हत्याकाण्ड, ठुला ठुला न्यायधीस घटना, पत्रकार घटना कसले किन घटाए ? अहिले सम्म बाहिर ल्याउन सकेनन् । सत्तामा पुग्दा समेत राष्ट्रपती विद्यादेवी भण्डारीले आफ्नो श्रीमानको मृत्यु हुनुको रहस्य के हो भन्ने विषयमा खोज गरेको देखिएन । एउटा अवला नारी जसको बलात्कारपछि हत्या भयो, निर्मला पन्त, अहिले सम्म घटनाको यथार्थ बाहिर आउन सकेको छैन । त्यसैगरी दरवार हत्याकाण्ड । यस्ता ठुला-ठुला घटना नेपालमा घटेर अपराधीलाई कानुनको कठघरामा ल्याउन अहिले सम्म बनेका कुनै पनि सरकारले नसकेको देख्दा हिजोका पुस्ता र अहिलेको नव पुस्तासम्म अचम्ममा परेका छन् । 

अहिलेका युवायुवतीहरु यि सबै कुरा बुझेर नेपालमा बस्न फिटिक्कै मान्दैनन् । अलि अलि पढ्यो त विदेशतिरै जाने भन्ने सवाल उठ्ने गरेको छ । ३ करोड नेपालीमा १.५ करोड नेपाली त विदेश पलायन भएका छन् भने ठुलाठुला डाक्टर, इन्जिनियर, पाइलट, बुद्घिजिवीहरु प्रायः अमेरिका, जापान, क्यानेडा जस्ता मुलुकहरुमा गएर बसेको पाईन्छ ।

नेपालबाट दैनिक चार हजार नेपालीहरु खाडी मुलुकहरुमा जाने गरेको तथ्याङ्क छ । सबै नेपालीहरु आँशु चुहाउँदै आफ्नो घर परिवार छोडेर उक्त मुलुकमा पैसा कमाउन पुग्दछन् । धेरै नेपालीहरु त्यस मुलुकको कानून नजान्दा जेल पर्ने, मारिने गर्दा धेरै नागरिकहरु काठको बाकसमा आउन वाध्य भएका छन् भने यता छोराले/श्रीमानले कमाएर पठाउला र खाउँला भनेर बसेकाहरुमा काठको बाकसमा लास आउँदा कस्तो अवस्था भयो होला ? यो हुनुको मुख्य कारण यो राज्यको सिस्टम नहुनु र भएका उद्योग कल कारखाना बन्द हुनु हो । 

यहाँ त कृषीमा विभिन्न अनुदानका कुरा गरे पनि कृषी गर्नै दिँदैनन् । उत्पादन गरेको वस्तुको मुल्य पनि एकाएक घटाइदिन्छन । हामीले प्राय जसो तरकारी खाद्यान्न पसलमा गएर हेर्‍यौँ भने सबै भारतबाट आएको देखिन्छ । रोजगारी नहुँदा नेपालीहरु धेरै विदेशीनु पर्ने अवस्था छ । नेपालमा अहिले गाउँमा गएर हेर्‍यौँ भने बुढाबुढी र स्कुल पढाउने शिक्षकभन्दा अरु भेटाउन गाह्रो हुन्छ । नेपालमा बुढाबुढीलाई वृद्धभत्ता दिँदै युवायुवतीलाई विदेश पठाउँदा यहाँ राज्य चलाउनेहरु ति वृध्दहरुको भोटले सत्तामा पुगेका छन् । युवायुवतीलाई राज्यले रोजगारी सिर्जना गरी दिएको छैन । 

पार्टिमा जहिले पनि एउटै नेता हावी हुनुको मुख्य कारण वृध्दवृध्दाको भोट हो । यहाँ पार्टिहरुको एउटा पनि गतीलो सिद्धान्त छैन । मिलोमतोमा जसरी पनि राज्य दोहन गर्ने र आफ्नो छोराछोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउने नेताहरुको वास्तविकता तपाईं हामीलाई थाहा भएकै हो । हेर्नुहोस् त नेपालका कुन कुन नेताहरुले आफ्ना छोराछोरी विदेशमा कस्ता कलेज पढ्न पठाएका छन् । राज्यमा जहिले पनि मन्त्री हुने चल्ता पुर्जा नेताहरु नै बढी देखिन्छ । तिनै नेताहरुको आडमा भारेभुरे नेताहरुले समेत आफ्ना छोराछोरी विदेशमा पढ्न पठाएका छन् । यिनै नेताहरुको देखासिकीमा कति नागरिकहरुले आफ्ना छोराछोरीलाई पढ्न विदेश पठाएका छन् । नेताहरुले फ्रिमा पढ्न पठाउँछन् भने अरुले भए नभएको पैसा खर्च गरेर पढ्न पठाएका छन् । 

नेपालको पैसा अहिले बाहिरिने गरेको छ । नेपाललाई गरिब भन्दा गरिब बनाउने सोचमा यहाँका नेताहरुको सोच छ । जनता गरिब बनाउन सक्यो भने जहिले पनि सत्ताको वरिपरी बस्न पाईने नेताहरुले बनाईसकेका छन् । यहाँ सबै विक्रीमा छन् । गाउँको वडा अध्यक्ष १० लाखमा विक्री हुन्छ । गाउँपालिका अध्यक्ष १ करोडमा । नपाको वडा अध्यक्ष ५० लाखमा । मेयर १/२ करोडमा विक्री हुन्छन् । यिनीहरुलाई यो पार्टी उ पार्टीबाट मेयर वडा अध्यक्ष भन्ने नै छैन । जति बेला चाहिए खरिद गर्न सक्ने र आफ्नो पोल्टामा बनाउन सक्ने बनाईएको छ । यस्तो अवस्थामा यहाँ विकास गर्ने सिस्टम लागू गर्ने, पर्यटक भित्रयाउने कुरै छैन । हरेक संघ संस्थामा पनि सकेसम्म नयाँ मान्छेलाई प्रवेश गर्नबाट अनेक बहाना बनाएर रोक लगाईने गरिन्छ । जो पुरानो छ, उसको मान्छे मात्र उक्त संस्थामा प्रवेश गर्न सक्दछ । यहाँ पार्टीका सहकारी, पार्टीका नागरिक समाज, पार्टीका समुह, पार्टिका संघ संस्था छन् । जो मानिस पार्टिका होईनन् त्यो मानिस त्यो समाजबाट बहिष्कृत हुन्छ । यिनै कुराहरु बुझेर मानिसहरु नेपालमा बस्नै छाडिसके । विदेश जाने, कमाउने, आनन्दले खाने सोचभन्दा अरु गर्न नसक्ने अहिलेका युवायुवती बताउँछन् । 

आगामी वैशाख ३० गते स्थानिय निर्वाचन भनेको छ । यो चुनावमा करिव ५० अर्व रुपैया खर्च हुने बताईएको छ । आउने चुनावमा यो सबै पैसा भत्ता खानका लागि मात्र हो । सरकारी कर्मचारी खटाईन्छ र भत्ता बाँडिन्छ । यत्रो रकम स्थानिय निर्वाचनमा खर्च हुन्छ भने प्रदेश संघिय चुनावमा अझै कति होला हामी आफै पनि अनुमान गर्न सक्छौ । यो सबै एकै चोटी निर्वाचन गर्दा के हुन्थ्यो ? यो चुनावबाट पनि राम्रा र बुद्धिजीवीको सरकारमा प्रवेश हुँदैन ।जसले पार्टिलाई पैसा दिएको छ उ नै निर्वाचित हुन्छ । अनि हुन्छ त देशको विकास ? खाने कुरामा सबै नेताहरु मिल्छन् भने जनताको अगाडी गएर के काम ? एक पार्टीले अर्को पार्टीलाई गाली गरे जस्तो गर्छन् । 

२०३५/३६ सालमा जनकपुर, काठमाडौं, नारायणगढ पुरै सहर सफा थियो । त्यति वेला धुवाँ धुलो थिएन । एउटा सर्ट पाइन्ट एक हप्ता सम्म लगाउँदा पनि धुनु पर्दैनथ्यो । अहिले यि नेपालका सबै सहरहरुमा जानुस् त विहान बाहिर निस्केका सबै साँझ घरमा आउँदा कति सफा कति राम्रो हुन्छ । मानिसहरु पनि रातापिरा थिए । अहिले मानिसका अनुहार हेर्दा २० वर्षको युवा पनि ५० वर्षको वुढो जस्तो देखिन्छ । धुवाँ धुलो, ऋण माथी ऋण, सबै केमिकल राखेको तरकारी र खाद्यान्न अनि चाउमिन, म.म खान्छन् । मानिसहरुले खाना होईन केमिकल खाएका छन् । समय परिवर्तनशिल भएपनि मानवमा धेरै असर गरेको छ । यो राज्यमा सवै कुराहरुको सिस्टम होला भनेर कसैले पनि भन्दैन । यहाँ राज्यले नै गुन्डा, फटाहा, दलाल जन्माई रहेको छ । सामान्य नागरिकले सुख, शान्ती पाउला जस्तो देखिँदैन । 

हे भगवान ! प्रार्थना गर्छु जसरी पनि सिस्टम बनाउने मानिस सत्तामा पुगुन् । 

–जीवलाल सुवेदी
वरिष्ठ उपाध्यक्ष

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ

पाल्पा तानसेन