भरखरै सम्पन्न उपचुनावको दुई क्षेत्रमै एमाले उमेद्वारहरु विजयी बनेका छन् । इलाममा एमाले वावुको ठाउँमा एमाले छोरा र बझाङको प्रदेश सभामा काँग्रेसको ठाउँ एमालेले लिएपछि पुरानै जोगीको राजनीतिमा वर्चश्व कायम भएको देखिएको छ । यद्यपि यस पंक्तिका लेखकले चुनाव जिती पहिलोपटक रवी उपप्रधान मन्त्रि बनि गृह मन्त्रालय सम्हाल्दा त्यो कतै मूतको न्यानो नहोस् भनी एक तथ्य परक लेखक छापेको थियो । नभन्दै त्यस्तै भयो । दोश्रो पटक रवी पुनरवहालि भए, नैतिक हुन्थे भने सहकारी ठगीको आरोपमा राजीनामा दिएर उन्ले अनुसन्धानलाई सहयोग गर्नु पथ्र्यो । तर लिडे ढिपी गरी पदमै वसेको कारणले होला रवीको मिसन ८४ ववोरिसे हुने छाट इलामको चुनाव परिणामले देखाएको छ । पिज्जा वर्गरलाई थन्काएर फेरी मोमो नै ठीक भन्दै एमालेलाई जिताएर राश्वपाको जमानत जफत गरिदिएका छन्  इलामका मतदाताहरुले । यस परिणामले अव रवी र उसको दलको भविष्य प्रति प्रश्न चिन्ह खडा गरिदिएको छ । 

माओवादीहरुले जातीपातीमा आधारित संघीयता (Ethno Federalism) भनी जनताका छोराछोरीहरुलाई हतियार वोकाइ जनयुद्धमा होमेका थिए । नेवा, ताम्सालिंग, मगर, मधेशी, तमु आदि भन्दै जातिपाती गत मुक्तिमोर्चा वनाएका थिए उनीहरुले । एकल रुपमा यी माओवादी भनाउदाहरु सफल हुन्थे भने अहिलेको ७ प्रदेशको स्थानमा १४ भन्दा वढी जातीगत प्रदेशहरु हुन्थे होलान । यी माओवादीहरुले नै उक्साएको कारण प्रदेशको नामाकरण ढिलो हुन पुगेको थियो । कोशी प्रदेशको स्थानमा पहिचान सहितको किराती प्रदेश हुनुपर्छ भनेर चलेको आन्दोलनलाई यस चुनावको परिणामले लिम्वुकै छोरालाई चुनाव जिताएर ब्यर्थको प्रमाणित गरिदिएको छ ।

खास भन्नुपर्दा २०४७ मा नेपालमा वहुदल आएपश्चात् देश दिन पर दिन असफल राष्ट्र वन्ने कित्तामा उभिएको छ । संसारकै गरीव राष्ट्र, दश ठूला भ्रष्ट मुलुक मध्यको एक, विश्वको सबैभन्दा ठूलो ब्यापार घाटा भएको देश, संसारकै प्रदुषित शहरहरु मध्यको एक काठमाण्डौ जस्ता पगरी नेपालले गुथेको छ । देशलाई यस किसिमको दुर्दशामा पुराउनेहरुलाइ नै फेरि नेपाली मतदाताले चुनाव जिताउँछन भने अव जनताकै कारण यो देश नरहने स्थिति देखिएको छ । नया विकल्प दिन्छु भन्नेहरुले पनि नया जोगिले झन् वढि खरानी घस्छ नया मुल्लाले झन वढी प्याज खान्छ भन्ने भनाइ नेपालको राजनीतिमा चरितार्थ भएको कारणले होला मतदाताहरु पुरानै जोगीहरु तर्फ फर्कन वाध्य छन् । 

यस चुनावको परिणामले एक अर्को डरलाग्दो सन्देश पनि दिएको छ । त्यो भनेको देश ससदीय भासमा नराम्ररी जकडिन पुगेको छ । त्यो भासबाट न पहिलेका दल, न अहिले नयाँ उदाएका दल कसैले पनि देशलाई उकास्न सक्ने स्थिति देखिदैन । वल्की नया भनाउँदाहरु त झन पुराना भन्दा वढी भासिएको देखिन थाल्यो । अर्कोतर्फ  खाटी राष्ट्रवादी धार वोक्ने, सुशाशनका कुरा गर्ने सक्षम नेताहरु धमाधम सबै पार्टीहरुबाट निकालिन पुग्नुले पनि नेपालको राजनीतिमा विचारधारा भन्दा पनि काले काले मिलेर खाउ भाले भन्ने वाद र प्रवृत्तिले राम्रै डेरा जमाएको देखिएको छ ।  अव यस दुष्चक्रबाट देशलाई जोगाउन राष्ट्रभक्तहरु एक कित्तामा उभिन पर्ने हो । तर यिनीहरुलाई पनि देश प्रेमभन्दा जुंगाको लडाइ लडननै  प्यारो लाग्छ । हरेकले आफुलाई अरु भन्दा खाटीको देशभक्त देखाउने दौडमा लागेको कारण राष्ट्रवादी वीचको एकता भ्यागुताको धार्नी सावित भएको छ । अव देशलाई पुरानो वा नया जोगी होइन सक्षम, सादगी राष्ट्रवादी नेताको नेतृत्वको खाँचो छ । सबै लाई चेतना भया !!!