अप्रिल ६, १९९४ : तत्कालीन रुवान्डाका राष्ट्रपति जुवेन हेविअरिमाना र बुरुन्डीका राष्ट्रपति सिप्रोननातायामिरा चढेको जहाजलाई राजधानी किगाली ओर्लन लाग्दै गर्दा धमकेदार बमले उडाइयो । घटना कसले घटायो भनेर अड्कलबाजी भइरहँदा सरकारी रेडियोले प्रपोगान्डा समाचार प्रचारण गर्यो, ‘घटना तुत्सी आतंकवादीले घटाएको आशंका छ ।’ मान्छेभित्रको रगत उम्लिन कतिबेर लाग्छ र । ८५ प्रतिशत बहुल हुतु समुदाय उत्तेजित भइहाल्यो ।
दुवै राष्ट्रपति पनि हुतु समुदायकै थिए । त्यसैले उनीहरूलाई कुनै शंका रहेन कि राष्ट्रपतिको हत्यामा तुत्सी अतिवादीबाहेक अरू कसैको हात हुन सक्छ । त्यसवेला अल्पसंख्यक रूपमा रहेको तुत्सी समुदायको तर्फबाट रुवान्डा प्याट्रियोटिक फ्रन्ट (आरपिएफ) ले लामो समयदेखि अतिवादी संगठन चलाइरहेको थियो । देशबाहिर रहेको यो पार्टीले वेलावेला आतंक सिर्जना गथ्र्यो । तर, उक्त पार्टीले राष्ट्रपति हत्याको जिम्मेवारी कहिल्यै लिएन । र, आजसम्म पनि लिएको छैन । बरु उनीहरूले उक्त घटनामा हुतु अतिवाद समुदायकै हात रहेको आरोप लगाए । किनकि उक्त घटनाको एक वर्षअघि हुतु अतिवादका केही नेताले राष्ट्रपति हेविअरिमानालगायत ठूला नेतालाई ‘देशको अपराधी घोषणा’ गरेका थिए ।
हेविअरिमानाले दुई दशकदेखि राष्ट्रप्रमुखकोजिम्मेवारी सम्हाल्दै आएका थिए । त्यसअवधिमा हुतुका केही नेताबीच उनीप्रति तीव्र असन्तुष्टि थियो । त्यसैले हुतु अतिवादको एक समूहले ‘देशका ती खतरनाक अपराधीलाई एक–एक गर्दै सफाया गर्ने’ सूची नै सार्वजनिक गरेकोथियो । तर, घटना कसले गरायो ? आजसम्मैरहस्यमा छ । घटना जसले गराएको भए पनि यसबाट फाइदा भने हुतु अतिवादीलेलिन चाहे । उनीहरूले तुत्सी समुदायमाथि राष्ट्रपति हत्याको ठाडो आरोप लगाए । र, हुतु समुदायलाई उत्तेजित बनाउने काम गरे ।
हुतु समुदायका नेताहरू यस्तै मौकाको पर्खाइमा थिए । किनकि तुत्सी अतिवादीले त्यहाँको सरकारको निँदहराम गरिरहेकोथियो । यही मौकामा जनताको साहनुभूति लिएर तुत्सीलाई नामेट गर्न सके, चैनको सास फेर्न सकिने हुतुका नेतालाई लागेको थियो । त्यसैले उनीहरूले जनतालाई भड्काउने काम गरे । सरकारले नैरेडियो, टेलिभिजनका माध्यबाट तुत्सी समुदायविरुद्ध विष वमन गर्न थाल्यो ।
सरकारले सेना, प्रहरी, कर्मचारी र सर्वसाधारणलाई आह्वान नै गर्यो, ‘मुलुक अत्यन्त संकटमा छ, सबैले एकजुट हुनुपर्ने वेला आएको छ ।’ सरकारलेराष्ट्रिय एकता, अखण्डताका लागि हुतु समुदाय एक हुन आह्वान गर्यो । र, जसको हातमा जे हतियार छ, त्यही प्रयोग गरी तुत्सीको सफाया गर्ने अनुमति दियो । भिडलाई के चाहिएको हुन्छ र ! फगत एक झिल्को भए पुग्छ । त्यही झिल्कोले सर्वनाश गरिदिन्छ ।
त्यसपछि जे नहुनु थियो, त्यही भयो। हुतु समुदायको सत्ताधारी पार्टी नेसनल रिपब्लिक मुभमेन्ट फर डेमोक्रेसी एन्ड डेभलपमेन्ट (एनआरएमडी) को एक ‘ इन्तेराहाम्बे’ भन्ने युवा संगठन पनि थियो, जसका कार्यकर्ता जोसिला र अन्धभक्त थिए । उनीहरू तुत्सीको नरसंहार गर्ने अभियानमा लागे । र, आफ्नो समुदायमा ‘एकअर्काका लागि काम गर्ने (वर्क फर टुगेदर)’ को नारा नै चलाए । संगठनका युवा तथा स्थानीयले तुत्सीलाई खोजी–खोजी मार्न थाले ।
तुत्सी परिवारको कुनै एक व्यक्तिको हत्या गरेर मात्र हुँदैनथ्यो । सम्पूर्ण सदस्यको सफाया गर्ने आदेश थियो । त्यस क्रममा नवजात शिशु पनि बाँकी रहेनन् । वृद्धवृद्धा पनि बच्न पाएनन् । महिलाको झन् दयनीय अवस्था थियो । समूहिक बलात्कार त सामान्य कुरा थियो । हजारौँलाई यौनदासी बनाइयो । बलात्कारपछिको हत्या निर्ममताको पराकाष्ठा थियो । पहिला स्तन काट्थे । त्यसपछि यातना दिएर हत्या गर्थे । आफ्नै परिवारका तुत्सी समुदायको कोही रहेछ भने पनि नछाड्ने निर्देशन थियो । उनीहरूप्रति कसैले सहानुभूति देखाए, त्यसको पनि हत्या हुन्थ्यो । त्यसैले आफूले प्रेम गरेकी तुत्सी श्रीमतीको पनि हुतु श्रीमान्ले हत्या गर्नुप¥यो ।
एकै क्षेत्रका आदिवासी जनजाति भएकाले हुतु र तुत्सीको भाषादेखि रीतिरिवाज मिल्दोजुल्दोथियो। एकैरहनसहन थियो । केही गाउँमा हुतु र तुत्सी अत्यन्त मिलेर बसेका थिए । उनीहरूमा बिहेबारी चल्नु नौलोथिएन । तर, कालान्तरमा सोचाइमा फरक आयो । हुतु अतिवादीले आफ्नैरेडियो स्टेसन, समाचार–पत्र र टेलिभिजन सञ्चालन गरेका थिए । उनीहरूको काम नै गोयबल्स शैलीमा प्रपोगान्डा मच्चाउनु थियो । तुत्सीका बारेमा यसो भनिन्थ्यो, ‘साङ्लालाई मुक्ति देऊ’ (तुत्सीको हत्या गर) । तुत्सी समुदायको जो अलि ठूलो व्यक्ति मारिन्थ्यो, समाचार संस्थाहरू हर्षबढाइँ गर्थे र बढाइ–चढाइ गरेर समाचार सम्प्रेषण गर्थे । यसले हुतुलाई अझ उत्तेजित बनाउँथ्यो ।
हुतु युवाले त्यतिवेला तुत्सी पुजारीलाई समेत छाडेनन् । चर्चमा आश्रय लिएर बसेका तुत्सीमाथि पनि आक्रमण गरे । सडक कब्जा गरिएकोथियो । विभिन्न नाकाबाट बाहिरिने स्थानमा हुतु अतिवादी युवा पहरेदार थिए । त्यहाँ परिचयपत्र हेरी तुत्सीको हत्या गर्थे ।
अल्पसंख्यक तुत्सी समुदायका लागि आश्रय लिने कतै ठाउँ थिएन । उनीहरू खुला बाटो, चौरबाट भाग्न खोज्थे । तर हुतुका कोही न कोहीले भेटिहाल्थ्यो । जहाँ भेट्यो, त्यहीँ खुकुरी, लाठी, भाला, खुँडा प्रहार गरी हत्या गरिन्थ्यो । दौडँदै गरेको मानिसलाई पछाडिबाट ढुंगा हानेरसमेत हत्या गरियो । त्यतिवेला तुत्सी समुदायको पहिचान गर्न हुतुलाई कुनै समस्या थिएन । बेल्जियमको उपनिवेश रहेका वेला तुत्सी समुदाय सत्तामा थिए ।
राज्यको सुविधा उपयोग गर्न सरकारले परिचयपत्र वितरण गरेको थियो । त्यही परिचयपत्र नै यतिवेला अभिशाप बनेकोथियो । स्थिति यति दर्दनाक थियो कि रुवान्डाको सडक, चोक, गल्ली, चौर, जताततै लासैलासको डंगुर थियो । अन्तिम संस्कार गर्ने सदासयतासमेत कसैले देखाइरहेका थिएनन् । केही ठाउँमा सामूहिक रूपमा खाल्डो खनी पुरिए । तर, कुकुर, ब्वाँसाले खाल्डो खोस्रेर शवलाई बाहिर निकालिदिन्थे । शवको दुर्गन्धले बाटोघाटोहिँड्न नसकिने अवस्था थियो । महामारी फैलिरहेको थियो, तर पनि कसैले चासो देखाइरहेको थिएन ।
यस्तो घटना करिब सय दिनसम्म निरन्तर चलिरह्यो । विभिन्न तथ्यांकअनुसार करिब १० लाखको हत्या भएको थियो । त्यसमध्ये ७० प्रतिशतभन्दा बढी तुत्सी समुदायका थिए । दुई लाखभन्दा बढी महिलाको सामूहिक बलात्कार भयो । धरैजसोनिर्मम यातना दिएर मारिए । २० लाखभन्दा बढी विस्थापित हुन पुगे । उनीहरू छिमेकी मुलुक युगान्डा, जायर र कायरोमा शरण लिन बाध्य भए । घटनाको लामो पृष्ठभूमि हुन्छ । रुवान्डा नरसंहारलाई पनि तत्कालीन घटनाक्रमको अध्ययनले मात्र बुझ्न सकिँदैन । यसको पृष्ठभूमि लामोथियो ।
सन् १९१८ सम्म रुवान्डाको स्थिति सामान्य थियो । देश गरिब थियो तर हिंसा थिएन । तुत्सी समुदायको राजसंस्था थियो । अल्पसंख्यक तुत्सीले बहुसंख्यक हुतुलाई शासन गर्दा निश्चय नै असन्तुष्टि हुन्छ । तर, त्यसवेलाको राजसंस्थाले युरोपको सहयोगमा शासन सत्ता चलाइरहेकोथियो । पहिले यो देशमा जर्मनीको नियन्त्रण थियो ।
जर्मनीको पतनपछि बेल्जियमको नियन्त्रणमा रह्यो । राजसंस्थाले तुत्सीलाई राज्यका स्रोत, साधन र सेवामा पहुँच दिन परिचयपत्र वितरण गरेको थियो । त्यसवेला रुवान्डामा तुत्सी, हुतु र तोवा गरी तीन समूहमा जातीयकरण गरिएको थियो । सबैभन्दा धेरै हुतु थिए । कुल जनसंख्याको ८५ प्रतिशत ओगट्ने यो समुदायलाई भूमिपुत्रसमेत भनिन्थ्यो । तुत्सी समुदाय १५ प्रतिशतको हाराहारीमा थिए । उनीहरूको मुख्य पेसा सरकारी कामकाज थियो । साथ उनीहरू पशुपालन गरेर जीविकापाजे न गर्थे ।
उनीहरूलाई राज्यले उच्च जातिमानको थियो । तावो समुदायका जनसंख्या नगण्य थियो । तर, समयलेराजसंस्थालाई सधैँ साथ दिएन । हुतु समुदायको आवाजलाई अमेरिकाले स्थान दिन थाल्यो । युरोपले पनि राजसंस्थाको साथ छाड्यो । त्यसैको परिणामस्वरूप हुतुले सन् १९६२ मा राजसंस्था ढाले र सत्तामा पुगे । तुत्सी समुदायको विचल्ली भयो । ठूला नेता– कार्यकर्ता, कर्मचारी देश छाड्न बाध्य पारिए । निम्नवर्गकाहरू पिल्सिएर बस्न विवश भए । तुत्सी समुदायका नेता चुप बसेनन् । उनीहरूले देशबाहिरबाट पनि संघर्ष चलाइरहे ।
सन् १९८० को दशक भने तुत्सीको आक्रमण थेगिनसक्नु भइसकेको थियो । हुतु शासक त्यसलाई निर्ममतापूर्वक दबाउन चाहन्थ्यो । सन् १९९० देखि १९९३ सम्म तुत्सीले निर्णायक आक्रमण ग¥यो । यसले हुतुलाई गलाउन सफल भयो। दुवै संगठनमाथि अन्तर्रा्ष्ट्रिय दबाब पनि थियो । सन् १९९३ मा दुवै पक्षले युद्ध विराम गर्दै माग सम्बोधन गर्नराजी भए । तर, राष्ट्रपतिको हत्यापछि त्यो शान्ति–सम्झौता भंग भई त्यसले जातीय नरसंहारको रूप लिएको थियो । रुवान्डा घटनामा अन्तर्राष्ट्रिय समुदायको मौनता उदेकलाग्दो देखिन्छ ।
त्यहाँ पहिल्यैदेखि राष्ट्रसंघको शान्तिसेना थियो । तर, तिनीहरूलाई हतियार उठाउने निर्देशन थिएन । शान्तिसेनाले हतियार उठाउनुको त के कुरा, सेनाकै अगाडि स्थानीयले अर्को जातिको निर्मम हत्या भइरहेको हुन्थ्यो । उनीहरूले रोक्ने प्रयाससम्म गरेनन् । सडकमा फ्रान्स, बेल्जियम र राष्ट्रसंघलगायत सेनाको बख्तरबन्द गाडी दगुर्थे । त्यही छेउबाट घरेलु हतियारधारी समूह पनि हिँडिरहेको हुन्थ्यो । सेनाका जवान मुस्कुराएर हात हल्लाउँदै अघि बढ्थे ।
त्यसवेला रुवान्डमा राष्ट्रसंघका २ हजार ५ सय शान्तिसेना कार्यरत थिए । त्यसका कमान्डर रोमियो डलायरले हिंसा रोक्ने निर्देशनका लागि राष्ट्रसंघसँग अनुमति मागेका थिए । त्यसवेला राष्ट्रसंघको शान्ति स्थापना विभागका इन्चार्ज कोफी अन्नान थिए, जो पछि महासचिवसमेत भए, उनले कुनै आदेश दिएनन् । पछि उनले खेद व्यक्त गर्दै भनेका छन्, ‘हामी सबैलाई नमिठो खेद छ कि रुवान्डा नरसंहार रोक्न हामी केही गर्न सक्थ्यौँ, तर केही गरेनौं ।’ अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले धेरै पछि रुवान्डा भ्रमणमा भनेका थिए– ‘ मलाई लाग्दैन थियो कि हामी हिंसा रोक्न सक्थ्यौं, तर निश्चित रूपमा क्षति कम गर्ने पहलचाहिँ गर्न सक्थ्याँै । मलाई यसैमा खेद छ ।’
तुत्सीको पार्टी आरपिएफ युगान्डामा बसेर आफ्नो गतिविधि गरिरहेकोथियो । उक्त पार्टीलाई युगान्डा सरकारको ठूलो सहयोग थियो । जब रुवान्डा सरकार र हुतु समुदाय तुत्सीको सफायामा तल्लीन थिए, आरपिएफले आफ्ना लडाकुको ठूलो समूह रुवान्डा भित्र्यायो । बिस्तारै यसले रुवान्डाको ठूलो भूभागमाथि कब्जा जमायो । नरसंहार चलेको सय दिन नपुग्दै सन् १९९४ जुलाई ४ मा राजधानी किगाली नियन्त्रणमा लियो र तुत्सीका लडाकुले राजधानीमा मार्च गरे ।
त्यसपछि हुतुका लडाकु, सरकारका वरिष्ठ अधिकारी र सेना प्रहरीका अधिकारी भाग्न बाध्य भए । तुत्सीले नरसंहारको बदला लिन्छन् भन्ने उनीहरूमा डर थियो । करिब २० लाख हुतु जो नरसंहारमा संलग्न थिए, सीमापारको जायर (हालको डेमोक्रेटिक रिपब्लिक अफ कंगो) मा शरण लिन पुगे । केही छिमेकी मुलुक तन्जिनिया, बुरुन्डीमा शरण लिन पुगे । युगान्डा, तान्जिनिया, कंगोर बुरुन्डीले चारै दिशाबाट घेरेको यो सानो मुलुक भूपरिवेष्टित राष्ट्र हो ।
२६ हजार ३ सय वर्गकिलोमिटर क्षेत्रफलमा रहेको यो देशमा १ करोड २० लाख जनसंख्या छ । सानो मुलुक भए पनि लामो समय जातीय द्वन्द्व र गृहयुद्धमा फसेकाले कुनै वेला यहाँ व्यापक भोकमरी थियो । अधिकांश सर्वसाधारण कुपोषण ग्रस्त थिए । शिक्षा स्वास्थ्यको राम्रो व्यवस्था थिएन । तर, हुतु समुदायबाट तुत्सीले सत्ता लिएयता त्यहाँ २५ वर्षदेखि कागामे नै राष्ट्रपतिका रूपमा चुनिँदै आएका छन् । कागामा नरसंहारताका तुत्सीको आरपिएफ पार्टीका शीर्ष नेता थिए ।
नरसंहारपछि जातीय सद्भाव कायम गर्ने चुनौती थियो । त्यसमा कँगोमा सफल रहेको विश्लेषण गरिएको छ । यतिवेला त्यहाँ जातिवादको विषयमा चर्चा गर्न प्रतिबन्ध छ । त्यहाँ स्थिर सरकार छ । आर्थिक गतिविधिमा फड्को मारिरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । कागामेले रुवान्डालाई आर्थिक हबका रूपमा विकास गरिरहेका छन् । यतिवेला रुवान्डाको आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारी छ । प्रतिव्यक्ति आय करिब २ हजार अमेरिकी डलर छ ।
0 comment