हामीलाई अरु राम्रो बनेको हेर्ने रहर हुन्छ । आफ्ना छोराछोरी, आफ्नो परिवार, नजिकका साथीहरू, आफ्नो देश, आफू उभिएको परिवेश, आफ्नो कार्यस्थल, आफ्ना छिमेकी यस्तै-यस्तै । अरुलाई राम्रो बन्न हामीले अर्तिबुद्धि पनि दिने गर्छौं, यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ, यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन । अरुलाई भन्ने, सम्झाउने र टिप्पणी गर्ने हामी आफूले के गर्नु पर्छ र के गर्नु हुँदैन भन्ने बारेमा चाहिँ प्रायः अनभिज्ञ हुन्छौँ । ‘उसले मलाई माया गरेन या वास्ता गरेन’ भन्ने गुनासो प्रायः प्रेमी-प्रेमिका र पति-पत्नीबीच भइरहेको हुन्छ, तर आफूले आफैलाई माया र वास्ता नगरिरहेको भने हामीलाई ज्ञान हुँदैन । आफूलाई माया गर्नु भनेको आफ्नो शरीर, मन र मष्तिष्कलाई दुःख हुने काम नगर्नु हो । शरीरलाई राम्रो नगर्ने खाना खानु, मनलाई दुःख हुने शब्द बोल्नु र मष्तिष्कलाई असर पर्ने गरी नराम्रा कुराहरू सोच्नु आफूले आफैलाई दुःख दिनु हो ।

खाना हाम्रो जीवनको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । भगवान गौतम बुद्धले ज्ञानप्राप्तिको आँखा खोलेपछि सबैभन्दा पहिला ‘खाना ल्याउ’ भन्दा उहाँका निकटतम् चेला आनन्दलगायत सबै छक्क परेका थिए रे ! लामो समयदेखि बुद्धले आँखा खोलेर ज्ञान बाँड्नुहुने अपेक्षामा बसेकाहरूलाई खानाको कुरा गर्दा मन खिन्न हुनु स्वभाविकै थियो । वास्तवमा बुद्धले खाना मागेर ज्ञान नै दिनुभएको थियो भन्ने त पछि मात्रै थाहा भयो । बुद्धको पहिलो सन्देश थियो, खाना जीवनको लागि महत्वपूर्ण कुरा हो । हाम्रो खानपानले हाम्रा विचारमा प्रत्यक्ष प्रभाव पार्ने कुरा विभिन्न गुरु, सद्गुरुहरूले बताउँदै आउनुभएको छ । खानापछि सोच अर्को महत्वपूर्ण कुरा हो । हामी के र कस्ता कुरा सोच्छौँ, हाम्रा सोच र विचारका परिणाम हामीले लेख्ने, बोल्ने शब्दहरू हुन् । अरुलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो चाहना मात्रै हो, आफ्नो हातमा खासै हुँदैन तर आफू कस्तो बन्ने भन्नेचाहिँ आफैसँग निहीत हुन्छ ।

अरुलाई यस्तो बन्नुपर्छ भनेर सिकाउन जति सजिलो छ, आफूलाई बनाउन त्यति सहज भने छैन । जिन्दगीमा सबैभन्दा ठुलो कुरा आफूलाई सम्हाल्नु हो, आफ्नो मनलाई आफैसँग बाँध्न सक्नु हो । सूर्य, प्रकाश या हावा भन्दा पनि तेज गतिमा दौडन सक्ने मनलाई राम्रा विचारहरूले बाँध्न सक्यो भने र हाम्रा सोचहरूलाई सकरात्मक दृष्टिकोणमा ढाल्न सक्यो भने जिन्दगी हामीले भोगिरहेको भन्दा फरक हुन सक्छ । साथमा धेरै कुरा भएर पनि सोचहरूमा तलमाथि भइदिँदा र मन-मष्तिष्कलाई आफ्नो हितमा प्रयोग गर्न नसक्दा मानिसहरूले सोचे जस्तो जीवन बाँच्न पाइरहेका हुँदैनन्, छैनन् । कतिले चाहिँ ब्यवसायिक हुने नाममा अरुलाई यसो गर, उसो गर भन्दाभन्दै आफूले गर्नुपर्ने कुराहरू बिर्सिरहेका हुन्छन् । सन् २०२४ को नयाँ वर्ष प्रतिबद्धतामा कतिले यो वर्ष ‘आफ्नो जीवन बाँच्ने, सेल्फ लभ, आफूलाई समय दिने’ जस्ता कुराहरू सामाजिक सञ्जालमा लेखेको देखियो । आफूले आफैलाई समय दिने भनेको के हो ? के गर्दा हामी आफूसँग हुन्छौँ भन्नेबारेमा हामीकहाँ खासै चर्चा हुँदैन । आफूले आफैलाई समय दिने भन्ने कुरा आफ्नो हेरचाहसँग सम्बन्धित छ । अरुलाई ‘टेक केयर’ भने पनि हामी आफ्नो केयर भने कमै गर्ने गर्छौं । आफ्नो केयर भन्नु पनि खानपिन, आराम, सोच, प्रकृतिसँगको सामिप्यता, आफूले बोल्दा, लेख्दा प्रयोग गर्ने शब्द, निन्द्रालगायतका कुरासँगै सम्बन्धित छ ।

अरुलाई माया गर्ने नाममा कतिले आफूलाई माया गर्नै बिर्सिरहेको पनि देखिएको छ । अरुलाई गरेको प्रेम असफल भयो भनेर आत्महत्या गर्नेहरूले आफूलाई कहिल्यै माया गरेका थिएनन् भनेर मान्नुपर्ने हुन्छ । आफूलाई माया गर्नेले आफ्नो हत्या गर्न सक्दैन । हरेक मानिसले म जीवनमा कुनैपनि बेला एक्लै हुनसक्छु भन्ने कुरा जानकारी राख्न आवश्यक हुन्छ । मानिसलाई कुनै पनि बेला परिस्थितिले एक्लो बनाइदिन सक्छ, त्यस्तो बेलामा कसरी अगाडी बढ्ने ? आफूले आफैलाई सम्हाल्न सक्ने गरी आफूलाई बनाउनुपर्छ । त्यसको लागि ध्यानको अभ्यास राम्रो उपाय हो । प्रत्येक दिनको ध्यान अभ्यासले मानिसलाई परिस्थितिसँग सामना गर्नसक्ने बनाउँछ ।

अरुलाई माया गर्ने नाममा कतिले आफूलाई माया गर्नै बिर्सिरहेको पनि देखिएको छ । अरुलाई गरेको प्रेम असफल भयो भनेर आत्महत्या गर्नेहरूले आफूलाई कहिल्यै माया गरेका थिएनन् भनेर मान्नुपर्ने हुन्छ । आफूलाई माया गर्नेले आफ्नो हत्या गर्न सक्दैन । हामी सबै नै आफूलाई सफल बनाउन चाहन्छौँ । म असफल हुँ भन्ने चाहना कसैको पनि हुँदैन । मानिसको जीवनमा सफलता र असफलताको कारण मानिस आफै हो । सफल र वास्तविक जीवन बाँच्नका लागि शान्ति चाहिन्छ । मन र मष्तिष्कमा शान्तिबिनाको जीवन सफल जीवन होइन । तपाईं ठुलो पदमा पुग्नुभयो तर मनमा शान्ति छैन, धेरै धन सम्पत्ति कमाउनुभयो तर राति निन्द्रा आउँदैन भने त्यस्तो सफलताको के अर्थ ? शान्तिबिनाको, पद, प्रतिष्ठा, शिक्षा, सिप, सम्पत्ति कुनैपनि कुराको अर्थ छैन । जीवनमा शान्ति आफैभित्र छ र आँधी, हुरी बतास पनि आफैभित्र छ । शान्त मानिसले अरुलाई पनि शान्ति दिन्छ, अशान्त मानिसले अरुको जीवनमा पनि आँधी सिर्जना गर्ने कोशिस गर्छ । अरुलाई खुशी दिनका लागि आफू खुशी हुनु आवश्यक छ । खुशीको बनिबनाउ ‘रेसिपी’ छैन, आफैले कोशिस गर्ने हो । दुःखी मनले अरुलाई खुशी भएको हेर्न चाहँदैन, खोज्दैन ।

हामीलाई अरुको टिप्पणी गर्न जति सजिलो छ, आफैले राम्रो काम गर्न भने गाह्रो छ । राजनीति सपार्न महत्वपूर्ण ठाउँमा पुगेकाहरूले पहिला आफूले टिप्पणी गर्ने गरेकाहरू जत्तिको पनि बनाउन नसक्नु आफूलाई राम्रो बनाउन नसकेर हो । असल मान्छे बन्नका लागि आफूले आफैलाई ठुलो लगानी गर्नुपर्ने हुन्छ, समयको लगानी, स्वच्छ भावना र सकरात्मक सोच विकासका लागि मेहेनतको लगानी । आफूलाई भित्रैबाट तयार नगरी अरुलाई गाली गरेको भरमा पदमा पुग्दा आफूले गरेका कुराहरू ‘फेक’ हुनु स्वभाविक हुन जान्छ, अहिले भएको यही हो । ‘सुरुवात आफैबाट गर्नुपर्छ’ भन्ने कुरा हामी अरुलाई सुनाउनका लागि बोल्छौँ तर अभ्यास भने गर्दैनौँ । यदि राम्रा कुराको सुरुवात आफैबाट गर्ने हो भने हामीले आफूलाई सामान्य र सहज बनाउनु आवश्यक छ । म भयङ्कर ठुलो मान्छे हुँ, गज्जब गरिरा’छु भन्ने लागुञ्जेल उसले खासै परिवर्तन गर्न सक्दैन । ब्यक्तिगत जीवनमा होस् या ब्यवसायिक जीवनमा- आफूलाई सहज बनाउन सबैलाई समान आँखाले हेर्नसक्ने हुनुपर्छ ।