
प्रभातराज पाण्डे,
‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंले १ फागुन २०७९ मा झापामा भेला गर्दै बैंकको किस्ता नतिर्न आह्वान गरे । उनले त्यहाँ भनेका थिए– ‘२० लाखसम्मको कर्जा मिनाहा हुनुपर्छ । कुनै पनि बैंक तथा वित्तीय संस्था अथवा लघुवित्तका कर्मचारी कर्जा असुल गर्न आउँछन् भने मोसो दल्नुस् ।’ उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर बैंकका कर्मचारीमाथि मोसो दल्ने दस्ता निर्माण भएको भन्दै बैंकका कर्मचारीमाथि आक्रमण गर्न उत्तेजित भाषण गरे । ‘ती कर्मचारीलाई मोसो दल्दा केही हुँदैन, पुलिसले हिरासतमा लगेर चार–पाँच दिन राख्ने न हो,’ उनले भनेका थिए । राजनीतिक आडमा धन, अनि धनको आडमा राजनीतिक महत्वाकांक्षा फैलाउँदै लगेका प्रसाईंका वित्तीय अराजकताका वितण्डाकारी गतिविधि हेर्दा जति सामान्य छन्, तिनको असर त्यति नै फैलिँदो छ । ती गतिविधिले सामाजिक एकतामा मात्रै खलल पुगेको छैन, सिंगो बैंकिङ प्रणालीमाथि नै जोखिमको अवस्था सिर्जना गर्दै गएको छ । झापामा सभा गर्दै बैंक कर्मचारीलाई मोसो दल्न दस्ता खडा गरेको बताएका प्रसाईं त्यसको एक वर्ष कटेको दिन २ फागुन २०८० मा सबै वित्तीय सूचक सामान्य अवस्थामा रहेको एनआईसी एसिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई आफ्नो पैसा झिक्न उक्साएका छन् । ‘एनआईसी एसिया बैंक डुब्दै छ । बचतकर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला,’ प्रसाईंले २ फागुनमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चालक भागे भने सहकारीका बचकर्ताको जस्तो हालत होला । बेलैमा होस् पुर्याउनु होला ।’
यसबीचमा उनले देशभरि बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भन्दै ऋण असुल गर्ने कर्मचारीलाई आक्रमण गर्ने, उत्तेजित पार्ने भाषण गर्दै आएका छन् । आक्रामक ऋण प्रवाह तथा कर्जा असुली प्रति ग्राहकहरुको गुनासो पक्कै छ । तर, प्रसाईंले दाबी गरेजस्तो यो बैंक डुब्ने अवस्थामा पुगेको छैन, बरु वित्तीय सूचकका आधारमा अन्य धेरै बाणिज्यहरुभन्दा राम्रो छ । वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा अनुपात ३ दशमलव ८१ प्रतिशत हुँदा एनआईसी बैंकको यस्तो अनुपात निकै कम अर्थात् १ दशमलव १९ प्रतिशत मात्रै छ । त्यस्तै, यो बैंकको पूँजीकोष पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र नै छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ७७ दशमलव १८ प्रतिशत छ । राष्ट्रबैंकले यस्तो अनुपात ९० प्रतिशतसम्म पुर्याउनसक्ने सीमा दिएको छ । यसरी बैंकको वित्तीय स्वास्थ्य बिग्रिएका कारण बचतकर्ताले निक्षेप निकाल्नुपर्ने अवस्थामा पुगेको छैन । एनआईसी एसिया मात्रै नभएर कुनै पनि वाणिज्य बैंकमा अहिले बचकर्ताले बचत झिक्नुपर्ने जोखिमको अवस्था देखिँदैन । निश्चित व्यावसायिक समुदाय तथा कम्पनीलाई लक्ष्यित गर्दै अराजकतालाई प्रवर्द्धन गरिरहेका प्रसाईंले यसपटक एनआईसी एसियालाई निसानामा पारिरहेका छन् । कुनै एउटा व्यक्तिले आफ्नो स्वार्थ पूरा गराउन बैंकिङ प्रणाली नै जोखिममा पर्ने अवस्था आउँदा पनि राज्य संयन्त्र त्यसलाई नियन्त्रण गर्न असफल भइरहेको छ । वित्तीय क्षेत्रका जानकारहरू पछिल्लो अराजक गतिविधिले गम्भीर समस्या निम्त्याउन सक्ने बताउँछन् ।
प्रसाईंले बैंक तथा वित्तीय संस्थामाथि मात्रै नभएर राष्ट्र बैंक र गभर्नर महाप्रसाद अधिकारीको चरित्र हत्या गर्ने अभिव्यक्ति नै दिएका छन् । उनले गभर्नर अधिकारी सबैभन्दा ठूलो दलाल भएको आरोप मात्रै लगाएनन्, अधिकारीमाथि उक्त आक्षेप किन लगाए भन्ने विषय पनि आफैंले बाहिर ल्याए । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न दुबईबाट पैसा ल्याउन लागेको भन्दै उक्त पैसा गभर्नर अधिकारीले नै ल्याउन नदिएर रोकेको आरोप प्रसाईंले लगाए । जबकि, स्रोत नखुलेको कुनै पनि विदेशी लगानी नेपालमा ल्याउन पाइँदैन । देशमा कालोधन भित्र्याउन नपाएपछि उनले राष्ट्र बैंक र गभर्नरप्रति आक्रमण गरेको स्पष्ट हुन्छ । यसरी उनले आफ्नो स्वार्थ पूरा गराउन सर्वसाधारणलाई उचालिरहेका छन् । पछिल्लो समय सहकारी क्षेत्रमा प्रभावकारी नियमन नहुँदा सञ्चालक र व्यवस्थापकले स्रोत दुरुपयोग गरेर धेरै नागरिकको बिचल्लीको अवस्थामा पुगेका छन् । यस्तोमा राष्ट्र बैंकजस्तो प्रभावकारी नियामक निकायले नियमन गरेको संस्था डुब्दै छ भनेर उनले धमिलो पानीमा माछा मार्ने प्रयास गरेका हुन् । नेतालाई प्रभावमा पारेर आफ्नो स्वार्थसिद्धि नभएपछि उनले एमाले अध्यक्ष केपी ओलीलगायतमाथि पनि आक्रमण गरिरहेका छन् । तर, एमाले अध्यक्ष ओलीले एक कार्यक्रममा प्रसाईंकै अराजकतालाई मलजल गर्ने अभिव्यक्ति दिए ।
बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले ‘बैंकहरू पनि मिटरब्याजी नै भएको’ बताएका थिए । ‘बैंकहरूले नराम्रो नमान्नु होला । बैंकहरू पनि मिटरब्याजी नै हो । तीन महिनामा ब्याजलाई साँवामा गाभ्ने भनेको नै मिटरब्याजी हो,’ ओलीले भनेका थिए, ‘तीन/तीन महिनामा ब्याजलाई साँवामा गाभ्ने, त्यही होइन मिटरब्याजी ? ऋण लिनेले त्यसबाट लगानी गरेर प्रतिफल लिएर तिर्ने होला नि ? प्रतिफल आउनै नसक्ने गरी केही वर्षभित्र कसरी डबल हुन्छ ?’ यद्यपि, ओलीले ऋण तिर्दिन भन्नु गलत भएको भन्न चाहिँ छुटाएनन् । प्रसाईंले बिना कुनै आधार मारवाडी समुदायका व्यवसायीमाथि आक्रमण गरिरहेका छन् । मारवाडी समुदायकै व्यवसायी संस्थापक लगानीकर्ता रहेको बैंकलाई नै लक्षित गर्नुमा केही कारण रहेको बैंकिङ क्षेत्रका जानकार बताउँछन् । गैरव्यावसायिक बैंकिङ गरेका उजुरीमा एनआईसी एसिया बैंक सधैं अगाडि आउने गरेको छ । राष्ट्र बैंकले कतिपय नीति एनआईसी एसिया बैंकलाई नै लक्षित गरी ल्याउनुपर्ने अवस्था आउने गरेको राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् । सर्वसाधारणमा यो बैंकप्रति धेरै असन्तुष्टि रहेकाले त्यहीविरुद्धमा अभियान चलाउँदा मान्छेहरुलाई पछि लगाउन सहज हुने भएकाले पनि प्रसाईंको निशानामा एनआईसी एसिया बैंक परेको हुन सक्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
केही दिन यता बैंकको नाम नै किटान गरेर फलानो बैंक डुब्दैछ भन्ने हल्ला यत्रतत्र फैलिएको छ । बैंक तथा वित्तीय संस्थाविरुद्ध अराजक अभिव्यत्ति दिँदै हिँडेका विवादित व्यवसायी दुर्गा प्रसाईंले बैंक डुब्दैछ भनेर नाम नै किटान गर्दै हिडिरहेका छन् । कुनै समय बैंकको ऋण नतिर्नु भनेर ऋणीलाई भड़काउँदै आएका उनै प्रसाईं फेरि अहिले बैंक डुब्दै छ भन्ने अफवाह फैलाउन हात धोएर लागि परेका छन् । प्रसाईं तिनै व्यक्ति हुन्, जसको विभिन्न बैंक तथा वित्तीय संस्थामा अर्बौं रुपैयाँ ऋण छ । विवादास्पद छवि बोकेका प्रसाईं बैंकको ऋण तिर्नुको सट्टा ऋणीहरूलाई समेत ऋण नतिर्न उक्साउदै ऋण नतिर्ने अभियाननै सञ्चालन गरेर हिँडेका छन् । प्रसाईंले ‘नागरिक बचाउ’ अभियाननै सञ्चालन गरेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा गर्नुपर्ने भन्दै सोझा साझा नागरिकलाई उक्साएर दिनहुँ जसो आन्दोलन मात्रै गर्दै आएका छैनन् । बैंक तथा वित्तीय संस्थाविरुद्ध गलत भाष्य निर्माण गर्न खोजेका छन् । प्रसाईंको अराजक शैलीले गर्दा कतिपय ऋणीमा वास्तवमै ऋण तिर्न नपर्ने हो कि भन्ने भ्रम पैदा भएर उनको वित्तीय अराजकताको पछि दौडिरहेका छन् । जसले गर्दा बैंकलाई बुझाउनुपर्ने ब्याज दिनप्रतिदिन बढीरहेको छ। प्रसाईं आफैंले पनि आन्दोलन गरेकै भरमा ऋण तिरेका छैनन् । अझै भनौं उनले बैंक तथा वित्तीय संस्थालाई तर्साएकै भरमा समय समयमा बुझाउनुपर्ने ब्याजसम्म बुझाएका छैनन्। प्रसाईंले बैंकबाट ताकेता गर्न आउने कर्मचारीलाई तर्साउन कालो मोसो दस्ता नै खडा गरेका छन् । जसले गर्दा दुर्गा प्रसाईंमाथि लगानी गरिएको पब्लिकको पैसा डुबिरहेको छ।
सर्वसाधारणको अर्बौं रकम बैंक तथा वित्तीय संस्थामार्फत अपचलन गरिरहेका प्रसाईं अहिले उल्टै बैंक डुब्न लागेकोले निक्षेप निकाल्न भन्दै अफवाह फैलाउन थालेका छन् । देशभरका ऋणी जम्मा पारेर बैंकको ऋण आफू पनि ऋण नतिर्ने र अरुलाई पनि ऋण नतिर्न भन्दै हिँडेका प्रसाईं यतिखेर बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गरिरहेका छन् । बैंक लुटेरा हो भन्ने गलत मानसिकताको विकास गरिरहेका छन्। जसको कारण बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक संकटका बीच झनै संकट निम्त्याएको छ । बैंकबाट ऋण लिएपछि तिर्नु हरेक ऋणीको प्रमुख दायित्व हो । बैंकको ऋण तिर्दिनु भन्नु भनेको निक्षेपकर्तामाथि गरिएको अन्याय हो । आम सर्वसाधारणको सहजीकरण र सम्पती सुरक्षाका निमित्त बैंकले जनतबाट निक्षेप संकलन गर्छ र सोही निक्षेप आवश्यक पर्नेलाई केही प्रतिशत ब्याज लिएर कर्जाका रुपमा प्रवाह गर्छ । निक्षेप संकलन र कर्जा प्रवाहका बीच हुने ब्याजदरको अन्तर नै बैंक तथा वित्तीय संस्थाको नाफा हो । वित्तीय साक्षरताको अभावका आम मानिसलाई लाग्न सक्छ सहकारी डुबेझै बैंकहरु पनि डुब्छन् । तर, बैंकहरू भने हत्तपत्त डुब्दैनन् । किनकी,वाणिज्य बैंकहरु नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन, निर्देशन र नियन्त्रणमा चल्ने संस्था हुन् । बैंकमाथि राष्ट्र बैंकले नियमित रुपमा अनुगमन गरिरहेको हुन्छ । देखिएका कमी कमजोरी सुधार र समाधानका लागि निर्देशन दिने मात्र होइन नियम मिचेको खण्डमा आवश्यक कारबाही र करोडौं जरिवाना समेत गर्छ । जसका कारण बैंकले नियतबस गल्ती गर्न सक्दैनन् । राष्ट्र बैंकले आवश्यकताअनुसार वाणिज्य बैंकको संख्या थपघट गर्न सक्छ । राष्ट्र बैंकको नियम अनुरुप नचलेका अथवा संकटग्रस्त अवस्थामा पुगेका बैंकहरुलाई मर्ज गर्ने, टेकओभर गर्ने जस्ता काम गर्छ । जसका कारण सर्वसाधारणको लगानी डुब्ने खतरा रहदैन। यद्यपि प्रसाईं जस्ता गलत सोच, खराब नियत र गलत भाष्य निमार्ण गर्न खोज्नेहरूको कुरालाई विश्वास गर्दा कहिलेकाही यसले बैंक तथा वित्तीय संस्थाहरुलाई चुनौती भने पक्कै थपिदिन्छ । समय-समयमा केहि अनावश्यक झमेला भने निम्त्याइरहेको हुन्छ ।
पछिल्लो समय विश्व अर्थतन्त्रमा समस्या देखिएको छ। केहि आर्थिक परिसूचकले नेपालमा पनि आर्थिक मन्दी देखिएको अनुमान गर्न सकिन्छ ।जसको प्रभाव हरेक क्षेत्रमा परेको छ । रूस र युक्रेन युद्ध, कोभिड –१९ को महामारी र लकडाउन लगायत विभिन्न कारण थला परेको देशको अर्थतन्त्रमा पछिल्लो समय झिनो सुधारका आशा देखिएको छ। तर अझै परिणाममुखी र अपेक्षित नतिजा भने आएको देखिदैन।आर्थिक संकटसँगै वित्तीय संस्थामा समेत यसको नकारात्मक असर पारेको छ ।
केही समययता सहकारी क्षेत्रमा देखिएको समस्याका कारण पनि आम सर्वसाधारणमा यसैगरी बैंक पनि डुब्छ कि ! भन्ने संका उत्पन्न भएको छ। यसैबीच बैंकको ऋण तिर्नुपर्ने दायित्वबाट जोगिन प्रसाईंले बलिरहेको आगोमा घिउ थप्ने काम गरिरहेका छन् । जुन सरासर गलत हो, वित्तिय आराजकता अनि अपराध हो । तर प्रसाईंको अराजकता र अफवाह फैलाएकै भरमा भने बैंक तथा वित्तीय संस्था नडुब्ने बैंकरहरु बताउँछन् । झट्ट हेर्दा प्रसाईंले उठाएका मुद्दा आम नागरिकका समस्या हुन् । जस्तै बैंकको ब्याज न्यूनीकरण गर्नुपर्ने, ऋणी आनवस्यक तनाव दिन नहुने, धितो राखिएको सम्पति समय अगावै लिलाम गरिहाल्न नहुने जस्ता समस्या जायज लाग्छन् । तर बचतकर्ताको रकमनै डुब्ने गरि ऋण लिएर नतिर्नका लागि ऋणीलाई उक्साउदै हिड्ने,गलत भाष्य प्रवृत्ति निमार्ण हुनेगरि अभिव्यक्ति दिने र कर्तव्य पालना गरिरहेकाहरुमाथि कालो मोसो दल्नेजस्ता आराजक र अवान्छित गतिविधि न्यायोचित र नियमसंगत छैनन्।
प्रसाईंमाथि कारबाहीको लागि बैंकर एसोसियसन देखि संसदमा समेत माग उठिसकेको छ । तर सिंगो बैंकिङ प्रणालीमाथि नै धावा बोल्दै हिड्ने दुर्गा प्रसाईंलाई राज्यले अझैसम्म कानूनी दायरामा ल्याउन सकिरहेको छैन। प्रसाईले सार्वजनिक कार्यक्रममै खुलेआम महिलामाथि तल्लो स्तरका शब्द प्रयोग गर्ने, जसलाई मन लाग्छ उसैलाई गालिगलौज गर्ने, आफ्नो स्वार्थपूर्तिका लागि अनुचित प्रभावमा पारेर आम नागरिकको बाध्यता र भावनामाथि खेल्ने र अनपेक्षित आसा देखाउने जस्ता गैरकानुनी क्रियाकलाप गरिरहेका छन्। तर नेपाल सरकार र सरोकारवाला निकायहरु उनका गलत हर्कतलाई टुलुटुलु हेरेर मुकदर्शक बनिरहेका छन् । बैंक तथा वित्तीय संस्थाका ऋण नतिर्न अनेकन प्रपन्च गरिरहेका प्रसाईंलाई आखिर कसले संरक्षण गरिरहेको छ ? उनलाई कारबाही गर्न कसले रोक्यो ? प्रसाईंका ‘अवान्छित गतिविधि’ र ‘गुमनाम राज्य’ यतिबेला आम चासोको बिषय बनेको छ।


0 comment