राम घिसिङ,

लेण्डुपपथ
राष्ट्रलाई घात वा हानि गर्ने कामलाई राष्ट्रघात भनिन्छ । विदेशीसँग मिलेर देशप्रति गद्दारी गर्ने कुख्यात व्यक्तिलाई दक्षिण एसियामा लेण्डुप वा लेण्डुप प्रवृत्ति भनिन्छ । मातृभूमिलाई बेचेर भोग विलासको जीवन बिताउने लाल गद्दारलाई राष्ट्रघाती लेण्डुप विशेषण दिइन्छ । 

लेण्डुप दोर्जे सिक्किमलाई भारतमा विलय गराउने राष्टघाती नेता हुन् । उनको जन्म सिक्किमको पाक्योंगमा  सन् १९०४ अक्टोबर ११ मा भएको थियो । उनको पूरा नाम लेण्डुप दोर्जे खङसार्पा हो । उनी ६ वर्षको हुँदा रुम्टेक गुम्बामा अध्ययनका लागि गएका थिए । त्यसबेला सिक्किममा टुल्कु नामग्याल राजा थिए । राजा भ्रमणमा आएका बेला उनलाई देखेर प्रभावित भए । राजाले दरबारमा लगेर लालनपालन सहित उनको अध्ययनको व्यवस्था मिलाए । उनलाई काजीको उपाधि समेत दिए । अध्ययनपछि उनी बौद्ध सङ्घको धर्मगुरु भए । 

राजाको आडमा उनले सन् १९४५ मा प्रजामण्डल नामक पार्टी स्थापना गरे । दलको अध्यक्ष उनी आफै भए । पछि सन् १९५३ मा सिक्किम स्टेट काङ्ग्रेससँग पार्टी एकता गरे । एकीकृत दलको अध्यक्ष पनि उनी आफै भए । यसरी दुई दलको एकता भारतको रणनीतिमा भएको थियो । भारतले उनलाई राजाको स्थानमा स्थायी रूपमा स्थापित गराउने आश्वासन दिएका थिए । उनी यही आशामा दिलोज्यान दिएर लागेका थिए ।  पार्टी एकीकरणपछि जवाहरलाल नेहरूको निमन्त्रणामा दिल्ली गए । त्यसपछि उनी राजा हटाउने अभियानमा लागे । सन् १९६० को चुनावमा जम्मा १८ सिटमा लेण्डुपको दलले ८ सिट जित्यो ।

सन् १९७३ को चुनावमा जम्मा ३२ सिटमा राजा चोग्याल पाल्देन पक्षधरले अधिकांश सिटमा विजय हासिल ग¥यो । लेण्डुपको सिक्किम राष्ट्रिय काङ्ग्रेस पार्टीले चुनावमा ३ सिट मात्रै जित्यो । चुनावमा धाँधली भयो भनी भारतीय हस्तक्षेपमा पुनः चुनाव गराइयो । भारतीय गुप्तचर संस्था ‘र’ ९च्भकभबचअज बलम ब्लबथिकष्क ध्ष्लन० को रणनीति अनुसार भएको चुनावमा जम्मा ३२ सिटमा लेण्डुपको दलले ३१ सिट जित्यो । पार्टीले चुनाव जितेपछि लेण्डुप दोर्जे सिक्किमका प्रधानमन्त्री बने । उनले एक सिट जितेका राजा चोग्यालका प्रतिनिधिलाई संसद् प्रवेशमा रोक लगाए । भारतको सल्लाह अनुसार उनले राजा चोग्यालको हातबाट शपथ ग्रहण नलिने विचार गरे । चुनावमा पाएको बहुमतलाई राष्ट्रघाती नेता लेण्डुप दोर्जेले दुरुपयोग गरे । उनले स्वतन्त्र देश सिक्किमलाई भारतमा विलय गराउने गद्दारी गरे । सिक्किमको विधानसभाबाटै भारतमा विलय गराउने प्रस्ताव पास गरे । गद्दार नेता लेण्डुप प्रधानमन्त्रीबाट सिक्किमको मुख्यमन्त्री भए । सिक्किमलाई २२ औं राज्य बनाउन संविधान संशोधनको विधेयक सन् १९७५ अप्रिल २३ मा भारतको लोकसभाबाट पारित गरियो । सोही दिन राज्यसभाबाट पनि पास गरियो । सन् १९७५ मे १५ मा राष्ट्रपति फकरुद्दिन अली महम्मदले यो विधेयकमा हस्ताक्षर गरेपछि सिक्किम विधिवत् रूपमा भारतमा विलय भयो ।

नेपालको इतिहासमा देशभक्त भाइभारदारहरूको कत्लेआम गरेपछि जङ्गबहादुर राणाले निरङ्कुश जहानियाँ राणाशासन सुरु ग¥यो । जुन शासनले एक शताब्दी नेपाली जनतालाई पढ्न लेख्न दिएन । २५ वर्षको मान्छेलाई जवान मान्ने हो भने चार पुस्ताले पढ्न लेख्न पाएनन् । जब मानिसले पढ्न, लेख्न र वाक स्वतन्त्रता पाउँदैन तब प्रगतिका सबै कुरामा बाधा पुग्दछ । जङ्गबहादुर राणाको पालादेखि सुरु भएको ब्रिटिस भारतको गुलामी गर्ने परम्परा ब्रिटिसले इन्डिया छोडेर जाँदा समेत दक्षिणको दलाली गरेर सत्तामा पुग्ने क्रम तोड्न सकिएको छैन । जसको फलस्वरूप नेपाल स्वाधीन बन्दै समृद्धिको बाटोमा लाग्न सकेन । जङ्गबहादुरले सुरु गरेको गुलामी प्रवृत्तिलाई चन्द्र शमशेरको पालामा त नेपाललाई पराधीन बनाउन कपास खेतीलाई प्रतिबन्ध लगाउने तामा र फलाम खानी बन्द गर्ने काम गरियो । जजसले मानेनन् उनीहरूलाई सजाय दिइयो ।

यसरी नेपालको गरिबीको इतिहास सुरु भयो । नेपाललाई पराधीन बनाएर राणाहरूले १०४ वर्ष शासन चलाए । राणाशासनको अन्तिम शासक मोहन शमशेरले असमान नेपाल—भारत शान्ति तथा मैत्री सन्धि २००७ साउन ६ गते (१९५० जुलाई ३१) समेत गरे । यस सन्धिले नेपाललाई अझ पराधीनताको बाटोमा अघि बढायो । यसरी नेपालमा राणा शासनको पालादेखि दक्षिणी छिमेकीको दलाली गरी शासन चलाउने क्रम सुरु भएको थियो । वि. सं. २००७ सालमा प्रजातन्त्र आए पनि दलालीकरणलाई तोडेर नेपाली काङ्ग्रेसले देशलाई अघि बढाउन सकेन । त्यसकारण नेपालमा राणाको स्थानमा अर्को राणा आएको जस्तो मात्र भयो । उता इन्डियामा पनि साम्राज्यवादी ब्रिटिसको स्थानमा विस्तारवादी भारत आएर ब्रिटिसले जसरी नेपाललाई व्यवहार गर्न थाल्यो । यसले गर्दा नेपाल स्वाधीन भएर अघि बढ्न सकेन । राणा, राजा र काङ्ग्रेसबिच त्रिपक्षीय दिल्ली सम्झौता गरेर दलालीकरणको शासन अघि बढ्यो । सबै मिलेर असमान सन्धि सम्झौता गर्दै नेपाललाई पराधीन बनाउने बाटोमा लागे । स्मरणीय कुरो के छ भने असमान महाकाली सन्धिपछि काङ्ग्रेसजस्तै नेपालका कम्युनिस्टहरू पनि भारतीय दलालमा परिणत भए । सत्तामा पुगेका सबै लेण्डुपपथमा लागे । त्यही भएर नेपाल सुध्रिने कि सिद्धिने बाटोमा छ ।  

विशाल नेपालपथ

२०४६ सालमा जनआन्दोलन भएर देशमा बहुदलीय व्यवस्था आयो । २०४७ मा संविधान बन्यो । नेपाली जनता सर्वप्रथम सार्वभौम भए । नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावनाले देशको सार्वभौमसत्ता जनतामा निहित भएको कुरा स्पष्ट गरेको छ । जनता सार्वभौम भएपछि रङ्गमञ्च पत्रिका मार्फत सुरेन्द्र ढकालले विशाल नेपालको नक्सा प्रकाशित गरेर प्रचारप्रसार सुरु गरे । त्यसपछि अरूहरूले पनि विशाल नेपालको प्रचार प्रसार गरे । विशाल नेपालको बारेमा जागरण ल्याउने काम धेरैले गरे पनि सुरेन्द्र ढकाल र फणीन्द्र नेपालको कामले देश विदेशमा विशाल नेपालको विषयमा प्रचारप्रसार भएको छ । 

नेपालमा कम्युनिस्टहरूले पार्टी स्थापना गरेपछि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ भनेर यथार्थ प्रस्तुत ग¥यो । उनीहरूले भारतसँग भएका असमान सन्धि सम्भौता खारेज गरेर नेपाललाई स्वाधीन बनाएर अग्रगामी बाटोमा बढाउनुपर्छ भनेर धारणा अघि सारे । जुन विचार आजसम्म पूरा भएको छैन । देशमा प्रजातन्त्र लोकतन्त्र आएर संविधानतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भए पनि स्वाधीनताको प्राप्ति चाहिँ भएको छैन । कम्युनिस्टहरूले भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको हस्तक्षेप र नेपालको देशीय सामन्तवाद  सत्ता हटाएर मात्र नेपाललाई आन्तरिक र बाह्य राष्ट्रियताको सवालमा स्वाधीन बनाउन सकिन्छ भनेर त्यसै अनुसार आन्दोलन अघि बढाए ।

त्यसै क्रममा भारतीय दलाल मातृका प्रसाद कोइरालाको सरकारले २००८ साल माघ १० गतेदेखि २०१३ साल वैशाख ४ गतेसम्म कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध समेत लगाए । त्यो प्रतिबन्ध राजालाई नेकपाले मानेपछि हटाएको इतिहासमा पाइन्छ । यहाँ प्रश्न उठ्दछ । नेता पक्रेर थुनेको हैन । दललाई प्रतिबन्ध लगाएको त्यो पनि आफूलाई प्रजातन्त्रको मसिहा भन्ने दलको सरकारले । दक्षिणको दलाली गरी गरी व्यक्तिगत स्वार्थ पूरा गरे । नदीनाला बेचे । अनेक गरे । प्रजातन्त्रको गीत गाइरहे । यी कुकृत्यहरूको फलस्वरूप आज नेपालका प्रमुख नदीनालाहरू भारतीय विस्तारवादको कब्जामा पुगिसकेका छन् । धेरै बिजुली उत्पादन भए पनि नेपाललाई कम फाइदा हुने सम्भावना सिर्जना भएको छ । यस विषयमा कस्ता कस्ता बहुराष्ट्रिय कम्पनीहरूलाई बिजुली निकाल्न अनुमति दिइएको छ । त्यसबारे छुट्टै अध्ययन गर्नुपर्ने हुन्छ । 

कम्युनिस्टहरूले भन्ने गरेको असमान सन्धि खारेजीको कुरा र विशाल नेपालवादीहरूले भनेको विशाल नेपाल एउटै हो । नेपालका बुज्रुकहरूले बुझेको यथार्थ भनेको भारतले अतिक्रमण गरिरहेको ७० भन्दा बढी ठाउँको कुरा मात्र हो । असमान सन्धिको खारेज हुँदा त्यति पाउने भनेर बुझेका छन् । किनकि बहुसङ्ख्यक जनसमुदायले राष्ट्रियताको सही पाठ पढेका छैनन् । देशको दुर्भाग्य हामीले लेण्डुपपथभन्दा माथि उठेको नेतृत्व पाउन सकेनौं । देशभक्त नेता पाउन सकेनांै । प्रजातन्त्र आएको ७० वर्षमा समेत देश स्वाधीन हुन सकेन । 

ऐतिहासिक सन्दर्भ अनुसार राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, छिमेकीसँग भएका सन्धि सम्झौता, उपनिवेश उन्मूलनबारे संयुक्त राष्ट्रसङ्घको सङ्कल्प प्रस्ताव, ब्रिटिस साम्राज्यवादले लिएको नेपाली भूभाग उपनिवेशका रूपमा भारतमा रहनु जस्ता विभिन्न आधारहरूले नेपाल कानुनतः टिष्टादेखि काँगडासम्मको ३,६७,५७५ वर्ग किलोमिटरको भूभाग हो । विशाल नेपालको आन्दोलन भनेकै मुख्य भूभागले बाँकी रहेका भूभागहरूको प्राप्तिको आन्दोलन हो ।

निष्कर्ष

दक्षिण एसियामा देशप्रति गद्दारी गर्नेलाई लेण्डुप भन्ने गरिन्छ । देशको इतिहास खोजेर आफ्नो हक अधिकार लिन लड्ने बहादुर नेपालीहरूलाई विशाल नेपालवादी भनिन्छ । जङ्गबहादुर राणाको पालादेखि अहिले प्रचण्डको पालासम्म दक्षिणी छिमेकी इन्डियाको दलाली गरेर देशलाई पराधीन बनाएर शासन चलाइरहने लेण्डुपपथका अनुयायीहरूलाई भोट दिएर अन्ततः नेपाललाई ढिलो चाँडो सिक्किम बनाउने कि आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लाग्दै स्वाधीन, समृद्ध, स्वच्छ र शक्तिशाली विशाल नेपाल बनाउने विशाल नेपालपथको बाटोमा लाग्ने ? सबै नेपालीले चिन्तन मनन् गरौ । जय विशाल नेपाल !  ०००