
प्रभातराज पाण्डे,
मानिसले जन्मेदेखि मृत्युवरण नगरुञ्जेलसम्म अपनत्व खोजेको हुन्छ । सेन्स अफ बिइङ लभ्ड, एडमायर्ड, ऊ हुनुमा कसैले गर्व गरोस्, उसको उपस्थिति कसैले दर्ज गरिदेओस् । 'म छु नि' भनोस् । यो भागदौड, उछलकुद, आरोपप्रत्यारोप, मिहिनेत, लगन, दौडमा अघि हुने मोह सायद यस्तै एक्नलेज्ड हुनका लागि हो । नागरिकको हकमा पनि यो लागू हुन्छ । राज्यले मलाई परेको बेला, अप्ठ्यारोमा मद्दत गरोस्, उसलाई सुनोस्, उसको आड, भरोसा, हिम्मत बनोस् भन्ने भाव हरेक नागरिकभित्र सुषुप्त रूपमा बसेको हुन्छ । तर, अहिले नेपालमा राज्य भन्ने अवधारणा नै धूमिल छ । राज्य भनेको पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली मात्र होइन, राज्य भनेको त संरचना हो, जसलाई संविधान नियम कानुनले बाँधेको हुन्छ । त्यसले कर्णाली र काठमाडौंका नागरिकलाई उही आँखाबाट हेर्छ । त्यसले कार्यकर्ता र सत्तालाई प्रश्न गर्ने नागरिकमा भेद देख्दैन । तर, यहाँ संरचना होइन नेता, पार्टीको तजबिजमा देश चल्न थाल्यो, अनि राज्य होइन व्यक्ति हावी हुँदा एउटा धार र वादभन्दा परकाले असुरक्षा र बहिष्कृत महसुस गर्न थाले । फलस्वरूप यहाँ मेरिटको कदर हुन छाड्यो । मेरिट त परको कुरा भयो, नेता विशेषको निगाह नहुँदा त्यही पार्टीभित्रका मानिस पनि किनाराकृत हुन थाले । यसले क्षमता, सम्भावना र हुटहुटी भएका व्यक्तिलाई पाखा लगाउने संस्कार विकास गर्यो ।
त्यसैले नागरिकको राज्यसँगको सम्बन्ध कमजोर हुँदै गयो । यो मन दुखाइ कतिपय अवस्थामा सामाजिक सञ्जालमा गाली, आवेग र उत्तेजनाबाट पोखिएका छन् भने कतिले भद्रविद्रोह गरेर देश छाड्ने् तहसम्म पुगेका छन् । एउटा युवाले आफ्नै समाजमा व्यक्तिहरू क्षमता र गुणका आधारमा होइन, दल विशेषको निगाहमा अलौकिक सयर गरेको देखेको हुन्छ । कुस्त कमाएको देखेको हुन्छ । यस्तो प्रवृत्तिले धेरै युवामा असुरक्षा बढाइदिएको छ । उसमा भय छ । अघिपछि कोही भनसुन गर्ने छैनन्, त्यसैले 'म सम्भावनाका पखेटा फिँजाउन सक्दिनँ' भन्ने उसमा महसुस हुन्छ । यो तहको अविश्वासमा व्यक्तिसँग केवल दुईवटा विकल्प हुन्छन । एक, आफ्नो निराशा सामाजिक सञ्जालमा व्यक्त गर्ने । दुई, देश छाड्ने । अहिले यही दुई विकल्पको प्रयोग भइरहेको हो । नेताले भाषणमा के बोले भन्ने कुरा गौण हो । देशका विधि र संरचना कति मजबुत छन् भन्नेचाहिँ अहम् प्रश्न हो । तर, विडम्बना विधि, थिति सबै भत्किएका छन् । आज नेताका मुड र कुण्ठा प्रधान छन् । व्यक्तिको मुडले चल्ने देशका नागरिकले आफ्नो हैसियतअनुसारको विकल्प खोजेका हुन् ।
सामाजिक सञ्जालले समग्र राष्ट्रको भावना प्रतिबिम्बित गर्न सक्दैन । यहाँ बढी निराशाको कारोबार हुन्छ । नकारात्मकता बढी बिक्ने यो प्लेटफर्ममा मानिसहरू नकारात्मकता नै बढी पोख्छन् । सामाजिक सञ्जालले उसको यो अभिलाषा पूरा गरिदिन्छ । तर, फेरि हामीले मनन गर्नुपर्ने अर्को पक्ष के छ भने सामाजिक सञ्जालले समग्र राष्ट्रको भावना प्रतिबिम्बित गर्न सक्दैन । यहाँ बढी निराशाको कारोबार हुन्छ । नकारात्मकता बढी बिक्ने यो प्लेटफर्ममा मानिसहरू नकारात्मकता नै बढी पोख्छन् । अघि नै भनेँ, मानिस स्वभावत: सुनिन, एक्नलेज्ड हुन चाहन्छ र सामाजिक सञ्जालले उसको यो अभिलाषा नकारात्मकता वमन गर्दा पूरा गरिदिन्छ । नकारात्मकता खपत हुने भएकाले मानिसहरू आफू बढी सुनिएको महसुस गर्न नकारात्मक हुने गर्छन् । त्यसैले पनि बढी नकारात्मक छन् तर सकारात्मकका लागि माहौल पनि एकदम फिका छ । सामाजिक सञ्जालले विचारभन्दा क्षणिक भावनाको प्रतिनिधित्व गर्छ । उदाहरणका लागि १ घण्टा ट्राफिकमा पर्दा देश अस्तव्यस्त भएको मेरो भावना हो । तर, देशमा धेरै कुराहरू बिग्रिएका छन्, बिस्तारै बनाउनुपर्छ र देश बन्दै छ भन्ने मेरो विचार हो । म विचार पोख्दिनँ सञ्जालमा, म भावना पोख्छु जसले भन्छ– देश अस्तव्यस्त भयो, बस्नै नसकिने गरी खत्तम भइसक्यो । यसरी नै सामाजिक सञ्जालमा नकारात्मकताको कारोबारको शृङ्खला चल्छ, जुन बिस्तारै भाष्यमा परिणत हुन्छ । भावना त परिवर्तनशील छ । आज वाह लागेको चीज भोलि नै हामी नाक खुम्च्याउँछौँ । त्यसैले भावना बढी बिक्ने प्लेटफर्मकै आधारमा समग्र देश खत्तम भयो भनेर निचोडमा पुग्नु अपूरो बुझाइ हो ।
सरकारकै अकर्मण्यताका कारण मात्र मानिसहरूले देश छाडिरहेका छन् भन्ने बुझाइलाई प्रमाणित गर्ने हामीसँग अध्ययनका निष्कर्ष छन् त ? पहिलो कुरा, हामीले अध्ययन नै गरेका छैनौँ कि कति मानिस केका लागि बाहिरिएका छन् भनेर । कतिले विदेशमा स्वतन्त्रता देखे होलान्, कतिले भविष्य त कतिले देशप्रतिको विश्वास महसुस गरेनन् होला । कति त थप दक्षताका लागि पनि विदेशिए होलान् । एउटा सत्य के हो भने नागरिकहरूको राज्यसँगको भरोसा बिस्तारै क्षयीकरण हुँदै छ र रहरका पखेटा फिँजाउन विदेशिएका छन् वा हातमुख जोर्न घरखेत बन्धकी राखेर देश छाड्ने लाइनमा उभिएका छन्, याे चाहिँ राज्यले मनन गर्नुपर्छ । हामी कित्ताकाट सजिलै गरिदिन्छौँ, देश खत्तम भयो, सबै गए भनेर । तर, समाज त बहुआयामिक छ । यसका सफलता र असफलताका मिहिन कारण छन् । हामी त्यतातर्फ घोत्लिन्नौँ । त्यस्ता मिहिन कारण बुझ्न तथ्यपरक अध्ययन चाहिन्छ । त्यसका लागि बौद्धिक जगत्, अध्ययन अनुसन्धान गर्ने थलो चनाखो हुनुपर्छ । त्यसका लागि हामीकहाँ स्पेस अत्यन्त कम छ । बिस्तारै हामी क्रियात्मकभन्दा प्रतिक्रियात्मक समाजमा परिणत हुँदै छौँ, जहाँ अध्ययनको निष्कर्षबाट विचार विमर्श गरिँदैन । भावनात्मक प्रतिक्रिया मात्र सर्कुलेट हुन्छ । । पछिल्लो बाटो सजिलो छ भनिदिए पुग्छ र कसले के भन्यो भनेर कसैले अभिलेख राखेर उसको भनाइका आधारमा उसलाई तौलिइँदैन । त्यसैले जसले जे बोले पनि हुन्छ नेपालमा ।
प्रतिक्रियामा मात्र रमाउने चोथाले समाजलाई आफ्नै समाजको गति र भविष्यको पत्तो हुँदैन । सायद आज हामी यस्तै बिन्दुमा उभिएका छौँ जहाँ हल्ला छ, आवेग छ, उत्तेजना छ, तर विचार र तथ्यपरक आँकडा छैन । कमजोर राष्ट्रको खराबी के हो भने त्यहाँ तथ्यहरूभन्दा भावनाको सट्टाबाजी हुन्छ । देशकै महत्त्वपूर्ण ओहोदामा बसेकाले नै मनलाग्दी तथ्य र आँकडा दिन्छन् । उही कुरा सत्तामा रहँदा ठीक प्रतिपक्षीमा हुँदा जमेर आलेचना गर्छन् । जब आँकडा, विचार र तथ्यहरू धूमिल हुँदै जान्छन्, तब जनता दिग्भ्रमित हुन्छन् । सायद आममानिसको नैराश्यताका धेरै कारणमध्ये यो पनि एक हो । उसलाई पत्तो छैन कि देशमा के हुन्छ र के भइरहेको छ भनेर । बिधि र थिति नबसेको देशमा मात्र अनुमान र हल्लाको बजार गुलजार हुन्छ । यस्तै हल्लामा सबै बर्बाद भयो भनेर भावनामा बहकिएर पनि मानिसहरू देश छाडेका हुन सक्छन् । यति हुँदाहुँदै पनि धेरै सूचकले देशले प्रगति नै गरेको देखाउँछ, तर पनि किन हरेक मानिस निराश छ भन्ने प्रश्न पनि छ । आमसञ्चारको पहुँच बृहत् भएको यो समयमा सरकार, दलका हरेक गतिविधिलाई माइक्रोस्कोपिक तहबाट हेरिन्छ । जब आँकडा, विचार र तथ्यहरू धूमिल हुँदै जान्छन्, तब जनता दिग्भ्रमित हुन्छन् । सायद आममानिसको नैराश्यताका धेरै कारणमध्ये यो पनि एक हो । उसलाई पत्तो छैन कि देशमा के हुन्छ र के भइरहेको छ भनेर । हिजोको दिनमा मिलीभगतमा कैयन् घटना लुकाइन्थ्यो, आज त्यो कठिन छ । कारण– पार्टी, सरकारभित्रै अनेकन खेमा र समूह छन् । तिनले कतै न कतै आफ्ना असन्तुष्टि चुहाइदिन्छन्, अनि हरेक बेथितिका फाइल ढिलोचाँडो खुल्छन् नै । यसलाई सकारात्मक कोणबाट हेर्ने हो भने हिजो फोहोर कार्पेटमुनि लुकाइन्थ्यो र कार्पेट सफा छ भनिन्थ्यो, आज हरेकलाई थाहा छ– कार्पेट फोहोर छ, त्यो कार्पेट बस्नै नसकिने गरी गन्हाएको छ । कार्पेट फोहोर छ भन्ने ज्ञात हुनु पनि सकारात्मक हो । फोहोर छ भन्ने स्वीकारेपछि न बल्ल सफाइको प्रक्रिया अघि बढ्छ ।
सबै बेथितिको चिट आज छरपस्ट छ । समाचार र सूचनाको माध्यमबाट ती आममानिससम्म क्षणभरमै ठोक्किन्छन् ।अनि यसले पनि मास फ्रस्ट्रेसन बढाएको छ । यो पनि बिग्रियो, त्यो पनि खत्तम आदि । राज्य बलियो हुने आममानिसको जीवन उकास्न हो तर यहाँ राज्य होइन, व्यक्ति बलिया छन् । व्यक्ति शक्तिमा आउनु शक्ति आर्जनका लागि जस्तो भएको छ । शक्तिमा किन आउने ? पुन: शक्तिशाली हुन । शक्तिशाली किन हुने ? आफ्ना तजबिजको निर्णय गर्न । यो खेलमा जनता हार्छन्, केही दलविशेष र नेताले क्षणिक रूपमा जिते पनि यो खेल घातक छ । यसमा देशले ढिलोचाँडो हार्छ नै । किनकि यो खेलमा नियम छैन । यसका रेफ्री झेली छन् । मन परेकालाई खेलमा सामेल नै नभए पनि प्रथम घोषणा गरिदिन्छन् । त्यसैले त रातदिन मिहिनेत गरेर खेलका लागि तयार भएको मानिस प्रतियोगितामा छनोट नै हुँदैन ।
यति धरै निराशाका बीच आशा कहाँनिर छ भने हामी नर्थ कोरियाजस्तो डिनायलमा छैनौँ । हामीलाई थाहा छ– देशमा धेरै कुरा भत्किएको छ । यो नेताहरू नै स्वीकार्छन् । गर्न बाँकी र मिलाउने काम धेरै छन् । जब समस्याको बोध हुन्छ, तब समाधानका लागि बाटा खुल्छन् नै । नागरिकका रूपमा हामीले भने प्रश्न गर्न छाड्नु हुन्न । प्रश्न नगर्ने नागरिकलाई गुनासो गर्ने छुट पनि हुँदैन । प्रश्नका कारण नै त हरेक समाज विकासका अनेकन चरण पार गर्दै अघि बढ्छ । हिजोको राणाकाललाई गरिएका प्रश्न, त्यसपछिका निशंकुशतालाई गरिएको प्रश्नले नै आज हामी थप प्रश्न गर्ने हैसियतमा आइपुगेका हौँ । लोकतन्त्रमा प्रश्नले ठूलो महत्त्व राख्छ । प्रश्नबाट भागेर कोही कतै जान सक्दैन । यस्तै प्रश्नहरूले नै हो राज्यलाई राज्य बनाउने । बारम्बारको सही प्रश्नले नै हो जवाफदेहिता बढाउने । आशा गरौँ, हाम्रा यी प्रश्न पक्कै पनि एक दिन समाधानका सूत्र बन्नेछन् ।


0 comment