रामशरण पाण्डे,

सन्दर्भः पृथ्वी जयन्ती

‘स्टेट हुड’ अर्थात् राष्ट्र राज्य, नेसन हुड’ राज्यराष्ट्र, नेपाल राष्ट्रको निर्माणको विधि ‘स्टेट हुड’ हो । पृथ्वीनारायण शाहले एकीकरण अभियान थाले । राजा रजौटाहरूलाई एकीकरण गरी नेपाल भनेर सिमना तोके । उनले सिमाना तोकेको भूभागलाई ‘गोर्खा’ भनेनन् नेपाल भने । बोलिने भाषालाई खस भनेनन् नेपाली भने । भक्तपुर राज्यको सूर्यचन्द्र अंकित झन्डालाई उनले नेपाल राष्ट्रको झन्डा बनाए । कुमारीको दर्शन गरे । सबै धर्म संस्कृतिको कदर गरे । उनले भने– ‘मेरो साना दुःखले आज्र्याको मुलुक होइन, यो चार वर्ण छत्तीस जातको साझा फूलबारी हो’ सबैलाई चेतना भया । पृथ्वीनारायण नेपालका दोस्रो सगरमाथा नै हुन् ।

नेपालका १२३ भाषाभाषीका साझा नेता हुन्, नेपाल निर्माता पृथ्वीनारायण शाह । उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कसरी सुरक्षित भएर बस्न कस्तो कुटनीति अवलम्बन गर्नुपर्दछ भन्ने कुरा पृथ्वीनारायण शाहले ३०२ वर्षअगाडि राम्ररी बुझेर भनेका थिए– ‘उप्रान्त यो राज्य दुई ढुंगाको तरुल जस्तो रहेछ अब उपरान्त गल बन्नु पन्याछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्न्याछन् ।’ यो सत्यलाई मनन् गर्न नसकेकाले हामी नेपालीहरू विदेशीहरूको चक्रब्यूहमा फस्न पुगेका छौं । राष्ट्रनिर्माताका दिव्य उपदेशहरू अहिलेको नेपालमा पनि अनुकरणीय छन् । 

पृथ्वीनारायण शाहले भ्रष्टाचारीको विषयमा भनेका थिए– ‘निया निसाफ बिगान्र्या भनेको घुस दिन्या र खान्या हुन् यी दुईको ता धन जीव (राष्ट्रियकरण) गरिलियाको पनि पाप लाग्दैन ।’ यस्ता विचारहरूलाई राष्ट्रिय मूलनीतिको रुपमा नेतृत्व तहबाट नअपनाउञ्जेल नेपाल सुरक्षित रहिरहन सक्तैन । राज्यको एकीकरणपछि आम जनता र थुप्रै साना राज्यहरूको संरक्षण गर्ने पृथ्वीनारायण शाहको नीति थियो ती क्षेत्रका धर्म, कर्म, परम्परा, रीतिरिवाज यथावत राखेर सबै नेपालीको साझा सम्पत्तिको रुपमा परिणत गराएका थिए । 

एकिकरण अभियान

३०२ वर्षअगाडि, पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा एक सय वर्षपछिसम्म जर्मन, इटाली सबै टुक्रा–टुक्रामा विभाजित थिए । अमेरिका बेलायती उपनिवेश थियो । जापान अन्धकार अवस्थामा थियो । यस्तो समयमा पृथ्वीनारायनले नेपाल एकिकरणको अभियान शुरु गरेका थिए । ‘सुवर्ण जति ठोकिन्छ, गहना मात्र बन्दछ, फलामलाई जति ठोक– घातकी अस्र बन्दछ’ बालकृष्ण समले भनेझैं हामीले नेपाललाई नेपाली जनताको गौरवमय गहना बनाउन सक्नु पर्दछ भन्ने धारणा पृथ्वीनारायणमा रहेको थियो । 

पृथ्वीनारायण शाहको समयमा राति फेरी लगाउने कानफट्टा गोरखनाथका जोगीहरूलाई दुनियाँका घर–घरमा पठाएर शंखध्वनि गराएर शत्रुहरूलाई त्रसित बनाउन र शत्रुहरूबाट कहीँ खतरा पाइएमा उनीहरूबाटै खबर बुझ्ने नीति थियो । अर्को कुरा जनताका घर–घरमा विवाह कार्यक्रममा साम्राज्यवादीको विरुद्ध जनमानसलाई सचेत गराउन खाँडो जगाउने प्रसस्ति गाउने गरिन्थ्यो । कुहिरेका टाउकामा टवाक्–टवाक्, टवाक् भन्दै विवाहको लगनको बेला प्रसस्ती गाएर प्रारम्भ गरिने चलन ल्याइयो जुन टिष्टादेखि काँगडासम्म अद्यावधि व्याप्त छ । 

पहिला व्यापार, दोस्रो बाइबल र तेस्रो हतियार इष्टइन्डिया कम्पनीको हत्कण्डा थियो भन्ने पृथ्वीनारायण शाहले त्यहीबेला बुझिसकेका थिए । त्यसले गर्दा यो पवित्र क्षेत्रलाई कसरी इसाई साम्राज्यबाट बचाउने भन्ने उनमा सोचाइ आयो । अन्ततोगत्वा बनारसको भ्रमणको बेला उनले हातहतियार बनाउने, कारखानाको निरीक्षण गर्ने, मर्मत गर्ने मुसलमान कालीगढहरू, केही हातहतियार योद्धाहरू समेत लिएर फर्केका थिए । 

पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थिए । राष्ट्रको पहिचान र सुरक्षा अवधारणाभित्रका अस्मिताहरू सार्वभौमसत्ताका स्रोत हुन् । विदेशी चलखेल र भ्रष्टाचारी नेतृत्वबाट हाम्रो अस्मिता बाँच्न सक्तैन । राष्ट्र निर्माताका सन्देशहरूलाई हृदयंगम गर्न सकियो भने यहाँ कुनै विदेशीको सिद्धान्त लागू गर्नुपर्ने आवश्यकता नै पर्दैन । यसरी नेपाली जनतालाई उसबेला नैं मार्गदर्शन गर्ने व्यक्तित्व निश्चय नैं हामी नेपालीहरूका गौरव हुन् ।

नेपालका सबै जातिहरूलाई नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताभित्रको मूलधारमा एकताबद्ध गराएर नेपालभित्रका सबै फूलहरू समानरुपमा फूल्न पाउन सक्ने अवधारणा पृथ्वीनारायण शाहको थियो । नेपालमा विभिन्न समुदायहरूको बीचमा सहअस्तित्वको भावना लिएर हिँड्न सकिएन भने नेपालमाथि विदेशीहरूको रजाईँ हुन्छ । प्रजातान्त्रिक मान्यताबाट मात्र नेपाललाई हिँडाउन सकिन्छ भन्ने विश्वास उसबेलामा पृथ्वीनारायण शाहलाई भएकाले आफूले कालु पाण्डेलाई मूलकाजी अर्थात् प्रधानमन्त्री बनाउन इच्छा हुँदाहुँदै जनताको इच्छा बिराज बखेतीप्रति रहेकाले मूलकाजीमा उनले बिराज बखेतीलाई नै नियुक्ति गरेको कुरा उनले दिव्य उपदेशमा उल्लेख गरेका छन् । 

जन्ममितीमा अन्योल,

पृथ्वीनारायण शाहको जन्ममितिका बारेमा भने अन्यौल देखिन्छ । ईतिहासकार लुडविग एफ् स्टिनर एस्जेको पुस्तकमा उनको जन्ममिति भनेर इस्वी १७२२ डिसेम्बर २७ लेखिएको छ । यो मिति २७ डिसेम्बर आइतबार पर्छ । जब कि चिना अनुसार उनको जन्ममिति विहीबार (गुरुवार) भएको हो । डिसेम्वर २७ मा कहिल्यै पौष २७ गते पर्दैन । पृथ्वीनारायणको चिनामा दिइएको शााके १६४४ लाई लुडविगले शक संम्बत सम्झेर मिति तोके जुन गलत छ । इतिहास शिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायणको जन्म मितिमा बार खुलाएका छैनन् । उनको पुस्तकमा संकलित चिनामा पौष कृष्ण अमावश्या उप्रान्त प्रतिपदा छोएको बार विहीबारको संकेत पाइन्छ ।

इश्वी १७२३ जनवरी ७ चिनामा दिइएको कुनै पनि संकेतसँग तालमेल देखिन्न । किनकी इश्वी १७२३ तदानुसार विक्रम सम्वत १७७९ पनि होइन, शक सम्बत १६४४ पनि होइन, वयो कलिगत ४८२३ पनि होइन । यसैले तालमेल नमिलेको मिति अमान्य ठहर्छ । यो नरहरिनाथको ‘सन्धिपत्र संग्रह’ मा दिइएको पृथ्वीनारायणको चिनामा तिथि र वार उल्लेख स्पष्ट छ । यसमा पनि शाके १६४४ लाई शक सम्बत मानिएकाले जन्ममितिमा विक्रम सम्बत १७७९ दिइएको छ । यो चिनामा कलिगत बर्ष उल्लेख छैन । १६४४ लाई शक सम्बत मानिए पनि शक १६४४ र विक्रम सम्बत १७७९ लाई आधार मानेर पौष कृष्ण अमावश्याको दिन तिथिबार गणना गर्दा कुनै तथ्यसँग मेल खाँदैन । शाके सम्बत भनेको शक सम्बत होइन ।

नेपाल सम्बतसँग हरहमेशा ८०२ बर्षको अन्तर कायम रहने लिच्छवि सम्बत हुन्छ । लिच्छवि सम्बतलाई नै कतिपय ईतिहासकारले शाके सम्बतको संज्ञा पनि दिएका छन् । १६४४ लाई शाके सम्बत मान्दा पौष कृष्ण अमावश्या शनिबार हुन्छ । १६४० लाई शक सम्बत मान्दा त्यो आइतबार हुन्छ । चिनामा भएको विहीबार कुनै हालतमा पर्दैन । दिनेशराज पन्तले ‘गोर्खाको ईतिहास’ मा दिएको पृथ्वीनारायणको चिनामा शाके १६४४ भनेपछि कार्तिकादी बर्ष हु्न्छ । कार्तिकादी बर्ष १६४४ र नेपाल सम्बत ८४२ समकालीन बर्ष हुने र यी दुई एउटै दिन फेरिने भएकाले मासे ९ बाट पौष जनिदैन ।

पृथ्वीनारायणको पालामा गते लेख्ने गरेको कहिकतै पनि कुनै उदाहरण छैन । यो चिनामा विक्रम सम्बत उल्लेख छैन । पृथ्वीनारायणको चिना काल्पनिक धरातलमा टेकेर कुनै ज्योतीषीले कालावन्तरमा तयार पारेको ठहर हुन्छ । नेपालमा गते लेख्ने चलन १९६० देखि मात्र शुरु भएको मानिन्छ । ‘गोरखाको ईतिहास’ मा दिइएको चिनामै पौष २७ गते लेखिएको छ । एउटै व्यक्तिको फरक फरक चिना देखिन्छ । यी चिनाहरु सक्कली नभएको सम्बत तथा लिपिका जानकारहरु बताउँछन् । सक्कली चिना पृथ्वीनारायणको दाहसंस्कार गर्दा नै जलाइएको हुनसक्ने हुँदा ज्योतिषीहरुले पछि फरक फरक जन्ममितिमा चिना बनाएको उनीहरुको विश्लेण छ । जवसम्म पृथ्वीनारायणको सक्कली चिना फेला पर्दैन जन्ममितिको अन्यौल कायमै रहेने देखिन्छ । यद्यपी पृथ्वीनारायणको जन्म मिति १७७९ पौष २७ गते भनेर विभिन्न इतिहासहरुमा लेखिएका छन् । यसैलाई आधार मानेर पौष २७ लाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ । 

उनी २० वर्षकै उमेरमा गोरखा राज्यको राजगद्दीमा बसेका थिए । त्यसबेला भारतमा ब्रिटिसहरूले इस्ट इन्डिया कम्पनीको नामबाट शासन गरिरहेका थिए । ब्रिटिसहरू १५ औं शताब्दीमा इस्ट इन्डिया कम्पनीको नाममा भारत पसेका थिए । झन्डै ५ सय बढी राजारजौटाहरूलाई नियन्त्रणमा लिएर शासन गरिरहेका अंग्रेजहरू नेपालको बाटो हुँदै चीनसँग व्यापार गर्न चाहन्थे । यसका लागि कि त नेपालसँग सम्झौता गर्नुपथ्र्यो कि त कब्जामा लिनुपथ्र्यो । यही कारण सन् १८१४ देखि १८१६ सम्म युद्ध भएको थियो। यस युद्धको अन्त्य सुगौली सन्धिपछि मात्र भयो । यो सन्धिले नेपालको नक्सा नै परिवर्तन गरिदियो । पूर्वमा मेचीपारि टिस्टासम्म र पश्चिममा महाकालीपारि काँगडासम्मको नेपालको भूभाग अंग्रेजको नियन्त्रणमा गयो । अर्थात् नेपालको एकतिहाई भूभाग गुम्यो । अंग्रेजहरू व्यापारसँगै उपनिवेश विस्तार गरिरहेका थिए । त्यसबेला ग्रेटर नेपाल बनेको थिएन । पश्चिममा बाइसे, चौबिसे राज्यहरू, काठमाडौं उपत्यकामा अनेक नगरराज्यहरू, पूर्वमा वल्लो किराँत, पल्लो किराँत, माझ किराँत र सेनहरूका विजयपुर, चौदण्डी, मकवानपुर आदि राज्यहरू थिए । बंगाल र विहारमा आधिपत्य जमाइसकेको अंग्रेजलाई असंगठित टुक्रे राज्यहरू हात पार्न कुनै साइत हेर्नुपर्दैनथ्यो । तर तत्कालीन परिस्थिति बुझेका पृथ्वीनारायण शाहले अंग्रेज पक्ष यता बढ्न नपाउँदै खण्डित राज्यहरूलाई एक गर्ने दूरगामी महत्वाकांक्षा लिए । 

पृथ्वीनारायण शाह आजको नेपालको एकीकरणकर्ता हुन् । उनले आफ्नो जीवनकालमा नेपाललाई पश्चिममा महाकाली र पूर्वमा मेची नदीसम्म विस्तार गरेका थिए । पृथ्वीनारायण शाह यदि नभइदिएका भए आजको नेपाल सम्भव थिएन । 

२६ सेप्टेम्बर १७४४ मा दोस्रो पटक नुवाकोटमाथि सफल आक्रमण गरेर उनले राष्ट्रिय एकीकरणको अभियान सुरु गरे । राष्ट्रिय एकीकरणको अभियान पूर्वतिर निरन्तर अगाडि बढ्दै सन् १७६६ मा कीर्तिपुर, १७६८ मा कान्तिपुर, १७६९ मा ललितपुर र भक्तपुरलाई एकीकृत गरेपछि १७७३ मा माझ किराँत हुँदै १७७४ को अन्त्यतिर दार्जिलिङ पुग्यो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । कसैको धर्म संस्कृतिमाथि आघात गरेनन् । काठमाडौं जितेपछि उनले जीवित देवी (कुमारी) लाई ढोगे । भक्तपुर राज्यको चन्द्रसूर्य अंकित झण्डालाई राष्ट्रिय झन्डा स्वीकार गरे । नेवारी संस्कृतिलाई सम्मान गरे र काठमाडौंलाई राजधानी बनाए । उनले देशको नाम गोरखा राखेनन् नेपाल राखे । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, गृहमन्त्री कृष्णप्रसाद सिटौला गृहसचिव उमेश मैनालीलगायतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अपमान गर्दै राष्ट्रिय एकता दिवस खारेज गरे । यसो गर्नमा विशेषतः माओवादी र क्रिश्चिनरी मिसनको मुख्य हात थियो । पृथ्वीनारायण शाहले केपुचिन पादरीलाई क्रिश्चियन धर्म प्रचार गर्न नदिई उपत्यकाबाट लखेटेका थिए । यसकै बदलामा क्रिश्चियनहरूले पृथ्वीनारायण शाहलाई अपमान गर्न तत्कालीन सरकारलाई समेत प्रभावमा पार्न सफल भए । 

पृथ्वीनारायण शाह आजको नेपालको एकीकरणकर्ता हुन् । उनले आफ्नो जीवनकालमा नेपाललाई पश्चिममा महाकाली र पूर्वमा मेची नदीसम्म विस्तार गरेका थिए । पृथ्वीनारायण शाह यदि नभइदिएका भए आजको नेपाल सम्भव थिएन । इतिहासमा नेपाल कहिले कसैको पराधीन भएन । अंग्रेजहरूले नेपाललाई अधिनस्थ गर्न खोज्दा पृथ्वीनारायण शाहले नै उनीहरूलाई असफल बनाइदिएका थिए । शाहकै कारण देशले स्वतन्त्रता दिवस मनाउनु परेन । तर नेपाललाई एकीकरण गर्ने यी महान् सपूतलाई सम्मान गर्दै राष्ट्रले एकता दिवस मनाउँदै आएको थियो । गणतन्त्र आएपछि पृथ्वीनारायण शाहलाई अवमूल्यन गर्दै राष्ट्रिय एकता दिवस एवं उनको जन्मजयन्ती समेत मनाउन छाडिएको थियो अहिले पुनः राष्ट्रिय स्तरमा मनाउन थालिएको छ । अहिले देशमा लादिएको संघीयताले पृथ्वीनारायणले एकीकरण गरेको तराई भूभाग अलगाउवादी आप्रवासी भारतीयहरूले टुक्र्याउन खोज्दैछन् । 

एकीकृत समृद्ध र अखण्ड नेपालका अभिष्टता पाल्ने पृथ्वीनारायण शाहलाई यतिबेला देश र जनताले झल्झली सम्झिरहेका छन् । यतिबेला नेपालको राष्ट्रियता गम्भीर संकटको अवस्थामा गुज्रिरहेको प्रस्ट हुन्छ । पृथ्वीनारायण शाह पहाडी राज्य गोरखाका राजा भएर पनि उनले नेपाल राष्ट्र बनाउन गरेको महान योगदान नै सबै नेपालीले उनलाई सम्झनुपर्ने कारण हो । वि.सं. १७६८ अघिसम्म नेपाल ‘नेपाल राष्ट्र’ थिएन । यसै मितिदेखि नेपालको इतिहासको आधुनिक काल मानिन्छ । 

पृथ्वीनारायण शाहले गुरिल्ला युद्धद्वारा नेपाल एकीकरणको आरम्भ गरे । यस अभियानको नेतृत्व उनले गरे । बिसे नगर्चीदेखि कालु पाँडे समेतले उनको एकीकरण अभियाननलाई साथ दिए । नेपालमा सैनिक संरचनाको सुरुवात पनि उनले गरे । एकीकरण अभियान उनले एक्लै गरेका होइनन्, उनलाई जनताले पनि साथ दिएका थिए । भलै उनले नेपाल एकीकरणको नाम दिएर युद्ध लडेनन् राज्य विस्तार गरे । त्यही राज्य विस्तार अभियान नै नेपाल एकीकरणको ऐतिहासिक अभियान थियो । आज हामीले टेकेको धर्ती उनकै नेतृत्वमा भएको जनबाहुबलको परिणाम हो । पृथ्वीनारायण शाहको राज्य विस्तारको अभियानलाई खुनी हमला देख्नेहरू उनलाई द्रव्यपिसाचका रुपमा व्याख्या गर्नेहरू, विलासी एवं क्रुर शासकको रुपमा उनको व्याख्या गर्नेहरूले नेपाल राष्ट्रको एकतालाई खारेज गर्नुपर्ने भाषाहरू परोक्ष रुपमा बोलिरहेका छन् । अर्थात् फेरि जातीय राज्यहरूको अस्तित्व स्थापित हुनुपर्ने घुमाउरो तर्क गरिरहेका छन् । 

कोशी प्रदेशको नामाकरणपछि जातीय राज्यको माग सडकमा छताछुल्ल भइसकेको छ । किराँत राज्यसँग, उपत्यकाका मल्ल राज्यहरूसँग, लमजुङसँग पृथ्वीनारायणले गरेको सम्झौता उनले पूरा नगरेको भनेर उनलाई धोकेबाजको पगरी गुथाउने स्वघोषित बुद्धिजीवीहरू पनि देखिँदैछन् । सर्वमान्य कुरा हो युद्ध र प्रेममा जे पनि जायज हुन्छ । यसकारण पृथ्वीनारायण शाहले विल्कुलै ठीक गरेछन् । उनले अधिनस्थ गरेका राज्यहरूलाई फेरि स्वअस्तित्वमा आउन दिएनन् र टुक्रा टुक्रा भूभागलाई मिलाएर भावी सन्ततिलाई सिंगो नेपाल दिए । 

पृथ्वीनारायणको नेपाल एकीकरण अभियानलाई ‘खुनी’ हमला बताउनेहरू पनि छन् । तिनले शाहअघिकै भुरे टाकुरे राज्यहरूको अस्तित्व चाहेका हुन् भने तिनीहरू देशद्रोही करार भएर जेलमा ठिंगुरा ठोकाएर जाकिन लायक छन् । विश्वमा राष्ट्र निर्माताहरूलाई अघोर नै सम्मान गरेको पाइन्छ । छिमेकी मुलुक भारतमा महात्मा गान्धीलाई, चीनमा सनयात सेनलाई राष्ट्रपिता मानिन्छ । अमेरिका जर्ज वाशिंगटन, थोमस जेफरशन, बेन्जामिन फ्रेंकलिन, जोन एडम्स, जेम्स मेडिसन, अलेक जेन्डा हेमिल्टिन, अमेरिकाका फाउन्डिङ फादरक रुपमा चिनिन्छन् । उनीहरूले १३ वटा राज्यलाई मिलाएर युनाइटेड स्टेट्स अफ अमेरिकाको स्थापना गरेका थिए । 

इटलीका मिनटर इमानुअल द्वितीयलाई फादर अफ फादर ल्यान्ड भनिन्छ । गैरीवाल्डी, मेजिनी, क्यामिना वेल्सो, काउन्ट कैबुरलाई संस्थापक पिता मानिन्छ । टर्कीका मुस्तफा कमाल अर्नातुकलाई पनि राष्ट्रपिताकै दर्ज दिइएको छ । लि क्यान युलाई सिंगापुरका राष्ट्रपिता मानिन्छ । फ्रान्स र जापानको उपनिवेशबाट भियतनामलाई मुक्त गराउने होची मिन्हलाई भियतनामी जनताले कति आदर गर्छन् ? पाकिस्तानका मोहम्मद अलि जिन्नालाई कवाइद आजम अर्थात् महान नेता भनेर सम्मान गरिन्छ । टुँकु अब्दुल रहमानलाई विकासवादी नेताका रुपमा चिनिएका महाथिरले समेत सम्मान गर्छन् । तर आज नेपालमा भने जाति, धर्म, वर्ण र क्षेत्रका आधारमा विभाजनको रेखा कोर्न खोजिँदैछ । 

रुसका पिटर, जर्मनीका विस्मार्क, बेलायतका एगवर्ड, फ्रान्सका नेपोलियन, जापानका ओडानोगुन एजा, टोकुगावा र इयसो, इटलीका क्यामिलो क्याभोर जिसेफ गरिवाल्डी, ग्रिसका अलेक जेन्डर महानकै जत्तिको योगदान छ नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको ।

पृथ्वीनारायण र उनको न्याय व्यवस्था

लोकतन्त्रको प्राण नै कानुनी राज्यको अवधारणाको सफल कार्यान्वयन हो । हाम्रो इतिहास र परम्परालाई हेर्ने हो भने राजा राम शाह, राजा जयस्थिति मल्ल, राजा महेन्द्र मल्लका पालादेखि नै न्याय र कानुनको समुचित व्यवस्था गरी जनतामा रीतिस्थिति सञ्चालन भइरहेको र न्याय एवं कानुनको क्षेत्रमा राज्यहरू पूर्ण रुपले विकसित अवस्थामा रहेको पाइन्छ । आजभन्दा दुई सय वर्षअगाडि पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरी जनतालाई सुशासनको प्रत्याभूति गराएका थिए । उनको सिंगो जीवन सिपाही सरह युद्ध मोर्चामा बिते पनि उनले अदालत, न्याय र कानुनको क्षेत्रमा आस्था राखी कानुनी राज्यको अवधारणालाई पूर्णरुपमा लागू गर्न प्रयत्नशील रहेको इतिहासले बताउँछ । 

पृथ्वीनारायण शाहको दिव्योपदेशले प्रमाणित गर्छ कि उनले अदालतको संगठन, कानुनको निर्माण र न्याय सम्पादनमा विशेष नीति निर्देशन कायम गरी न्यायप्रति आस्थावान राजाका रुपमा शासन सञ्चालन गरेका थिए । अदालतको संगठन सम्बन्धमा पृथ्वीनारायणको उपदेश थियो—‘अदालतमा पनि ठकुरी जाँची डिठ्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी न्यायशास्त्र बमोजिम अदालत चलाउनु । यसरी ठकुरी, क्षेत्री, मगर (वैश्य) पण्डित (ब्राह्मण) तीनै जातको गुण कर्म विभागका आधारमा नै श्रीमद्भागवत गीताको उपदेशको आधारमा अदालतको जनशक्ति निर्माण गरी अदालतको संगठन गर्नुपर्ने उनको सिद्धान्त देखिन्छ । यसका साथै दिव्योपदेशमा ‘निआशास्त्र बमोजिम अदालत चलाउनु’ भनिएको छ । 

यसरी संविधान र कानुनको कार्यान्वयन भएमा न्यायिक अराजकता, अन्याय, पक्षपात र दूषित निर्णय र फैसला हुने कुनै गुन्जाइस रहँदैन । यसैलाई भनिन्छ विधिको शासन । यदि पृथ्वीनारायण शाहले भनेजस्तो निआशास्त्र बमोजिम अदालत चलेको भए नेपालको कानुनी इतिहासमा विवादमा न्यायलय तानिने नै थिएन । नत प्रधानन्यायाधीशमाथि महाअभियोग लाग्थ्यो न त अदालतप्रतिको जनआस्था नै डगमगाउने परिस्थिति सिर्जना हुन्थ्यो ।

पृथ्वीनारायण शाहले न्यायपालिकाको संगठन र न्याय सम्पादनमा विधिशास्त्रसम्मत व्यवस्था मात्र गरेनन्, त्यही सिद्धान्तलाई मध्यनजर राखी न्यायपालिका र शासन व्यवस्थामा भ्रष्टाचार र घूसखोरीलाई समेत निषेध गरेका थिए । यदि न्यायपालिका र शासन व्यवस्थामा भ्रष्टाचार र घूसखोरी बढ्यो भने त्यसले न्याय कानुन र शासन व्यवस्थालाई नै समाप्त पार्छ भन्ने कुरामा उनले गम्भीरतापूर्वक सतर्कता र निगरानी राखेका थिए । तब राजाले ठूलो न्याय निसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनु, नियाँ निसाफ बिगान्र्या भन्याको घुस दिन्या र घुष खान्या हुन्, ईन दुईको ता जिउधन गरिलियाको पनि पाप छैन, इ राज्यका महासतुर हुन्’ भन्ने दिव्योपदेशबाट राज्य र न्यायपालिकालाई भ्रष्टाचारको घेराबाट मुक्त राख्नुपर्ने अनिवार्यतालाई विशेष जोड दिएको देखिन्छ । यदि उनको दिव्योपदेशको अनुशरण गर्ने हो भने न्यायपालिका मात्र होइन सम्पूर्ण प्रशासन र शासन संयन्त्र नै भ्रष्टाचारको दलदलमा फस्ने थिएन । भ्रष्टाचार र घूसखोरी उन्मूलन आजको राष्ट्रिय कार्यक्रमको मूल एजेन्डा बन्न पुगेको छ । 

नेपाल विश्वकै भ्रष्ट देशहरूको टपटेनमा सूचीकृत हुन पुगेको अहिलेको यथार्थता हो । वेद, उपनिषद्, पुराण धर्मशास्त्रले न्यायमा भ्रष्टाचार चल्नु हुँदैन भनेर किटानी धर्मोपदेश दिएका छन् । संविधान र कुनै पनि ऐन नियमहरूले भ्रष्टाचार गर्न नपाइने बाध्यात्मक व्यवस्था गरेका छन् । धर्म र लोकव्यवहारले भ्रष्टाचार र घूसखोरी गर्न नहुने प्रमाणित गरेको छ । यसैलाई आधार मान्दै पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा भनेका छन्— ‘अदालतको पैसा दरबारभित्र नहाल्नु, फर्काएर फकिड, अतित जोगी, संन्यासी, ब्राह्मणहरू इनैलाई दछिना भोजन चलाइदिनु, उब्रेको पैसा दछिना चलाइ जोगी धोती रुमाल चलाइदिनु यस्व भया असत्यको दोष लाग्दैन ।’ यसरी अदालतको पैसा घरमा लैजान र आफूमा पनै नहुने, असत्यको दोष लाग्ने कुरा शास्त्रकै आधारमा व्यवहारमा ल्याइएको देखिन्छ ।

पृथ्वीनारायण शाहले उपयुक्त र योग्य व्यक्तिलाई राखी अदालतको गठन गर्नुपर्ने विधिशास्त्रकै आधारमा कुनै घूस र भ्रष्टाचार नगरी निष्पक्ष न्याय सम्पादन गर्नुपर्ने निर्देशन दिई स्वच्छ न्यायपालिकामा जोड दिएको दिव्योपदेशमार्फत थाहा पाइन्छ । उनले विभिन्न राज्य, रजौटा र अवस्थाबारे अध्ययन गरी तिनका तत्कालीन चल्तिका नियम कानुनलाई परिभाषित गरी समानतामा आधारित न्याय व्यवस्थाको जग बसालेका थिए । उनी न्यायमा विश्वास गर्थे र न्यायालयप्रति अगाध आस्था राख्थे । ऐतिहासिक कालदेखि नेपालले अपनाउँदै आएको सुरक्षा चासोबारे उल्लेख गर्नुपर्दा पृथ्वीनारायण शाहकालीन सुरक्षा चासोका सम्बन्धमा उनको उक्ति रहेको थियो– ‘सन्धिसर्पन हेरी गढी तुल्याइराख्नु र रस्ता–रस्तामा भाँजा हालिराख्नू । जाई कटक नगर्नू, झिकी कटक गर्नु र श्रीगंगाजीको साँध पनि लाग्नेछ ।’

यसअनुसार सिन्धुलीगढी, रसुवागढी, जितपुरगढी, मकवानपुर गढीजस्ता प्रवेश गर्ने मुख्य–मुख्य नाकामा गढी वा किल्ला बनाइएकाले नेपाल–अंग्रेज सीमायुद्धका सन्दर्भमा सिन्धुलीगढीबाट क्याप्टेन किनलकको फौज उत्तर घुस्न सकेको थिएन ।

यसैगरी नेपाल–तिब्बत युद्धताका रसुवागढीबाट तिब्बती फौज नेपालतर्फ बढ्न सकेको थिएन । शाहको उक्तिअनुसार वर्तमानकालमा पनि राष्ट्रको सिमानामा सीमा सुरक्षा बल तैनाथ गुर्नपर्छ भन्ने यथार्थ बुझ्न सकिन्छ । तर, पृथ्वीनारायणको उक्ति बेलामौकामा अनुसरण हुन नसकेका कारण दक्षिणी सीमारेखाको सुरक्षा हुन नसकी नेपालका ७१ भन्दा बढी स्थानमा सीमा अतिक्रमण, मिचान, वाद–विवाद हुन पुगेको छ । सीमा व्यवस्थापन र शान्ति सुरक्षा ः देशको सीमा पद्धतिको व्यवस्थापन गर्न र जनताको शान्ति–सुरक्षाका निम्ति ‘पक्की किल्ला बनाउनु, किल्लापिच्छे तोप लम्छट् गरी राषिदिनु र जति भञ्ज्याँङ छन् भञ्ज्याँङपिच्छे यक यक फलामे ढोका बनाई ढोकापिच्छे यक यक तोप लम्छट् गरी राषिदिनु र पपाँच सिपाहीँ राषिदिनु ।

यस्व भयापछि चेवा गन्र्या, चर्चा गन्र्या, भागन्या, नास्न्या, ढुकुवा, फसादि, षुनी यस्ताहरूको पनि केही चल्नेछैन, चारै बादसाही चढाइँ गरी आयो भन्या पनि कसैको केही चल्न्या रहेनछ’ भन्ने पृथ्वीनारायणको उक्ति रहेको पाइन्छ । यस उक्तिको मनसाय अंग्रेज अत्यन्तै चतुरो जाति रहेको छ । लडाइँ–झगडा नगरी छलकपट गरेरै भए पनि हाम्रो देशभित्र आउन सक्छन् । त्यसैले, सन्धिसर्पन हेरी उचित ठाउँमा किल्ला बनाई तिनलाई रोक्न सकिन्छ भन्ने हुन सक्छ । यसअनुसार सिन्धुलीजस्तो डाँडाको गढीमा अग्लो पर्खालको किल्ला बनाई फलामे तोप तथा बमगोलाहरू राखिएका थिए । नेपाली फौजका सम्बन्धमा पृथ्वीनारायणको भनाइ रहेको थियो– ‘सिपाही भन्याको तिषारिराष्नू तिषारिराष्याका सिपाही कसैका मलाजामा पस्तैनन् र आफ्नू काज फत्य हुन्छ ।’ यसअनुरूप हिजोआज नेपाली सेनाले आफ्ना सैन्य बललाई तिखारिराख्न अर्थात् चुस्त राख्नका लागि विभिन्न तालिम तथा सैन्य शैक्षिक कोर्स सञ्चालन गरेको छ । यिनै परिप्रेक्ष्यमा सुरक्षा नीति तयार पार्दा पृथ्वीनारायणका पालादेखिको ऐतिहासिककालका क्रियाकलापलाई विश्लेषण तथा मनन गर्दै आधुनिककालको भावी सुरक्षा रणनीति तय गर्नु सान्दर्भिक हुन्छ ।

इसाईहरु प्रति पृथ्वीनारायण

पृथ्वीनारायण शाह इशाई धर्मालम्बी र पादरीप्रति कठोर थिए । उनले धर्म प्रचार र धर्मान्तरणलाई कडाईका साथ रोके । यसकारण पनि उनीप्रति इशाई धर्मालम्बीहरु जहिले पनि नकारात्मक बने । कीर्तिपुरेको १६ धार्नी नाक काटेको कथा बुने । जयप्रकाश मल्लले इशाई पादरी र धर्मालम्बीहरुलाई निकै महत्व दिएकोमा पृथ्वीनारायण शाह ठिक विपरित रुपमा प्रस्तुत भएका थिए  ।

डा. जगमान गुरुङ समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह पुस्तकमा प्रकाशित आफ्नो लेख पृथ्वीनारायण शाह, नेपालको एकीकरण र राष्ट्रिय एकतामा नेपाल त्यतिबेला चौवन्न टुक्रामा विभाजित भएको उल्लेख गर्छन् । पूर्वमध्यकालमै नेपाल उपत्यका जर्जर भइसकेको र शासकहरु एक समूहले अर्को समूहलाई दमन गर्न एकथरीले जुम्लाका खसलाई र एक थरीले सिम्रौनगढका डोयहरुलाई झिकाउने गरेको उनले लेखेका छन् । 

डा. गुरुङ लेख्छन्– पृथ्वीनारायण शाहको समयताका अघि नेपाल तराईमा विकसित मिथिला र कपिलवस्तुको प्राचीन गौरव गाथा लोप भइसकेको थियो । सिम्रौनगढको पतन भइ सकेको थियो । थारु राजा दङ्गी शरणको कथा मात्र बाँकी थियो । त्यस कारण त्यस वेला नेपाल तराईमा कुनै स्वतन्त्र राज्य थिएनन् । केवल जमिनदारी मात्र थिए । त्यस बेला भारतमा मुसलमानी साम्राज्यको पतन भएर अंग्रेजी साम्राज्य स्थापना हुन लागेको थियो । नेपाल उपत्यकामा इसाई पादरीहरु आएर बसिसकेका थिए । तिनीहरुले नेपालीहरुलाई पनि इसाई बनाएका थिए ।

सिल्भाँ लेभीको पुस्तक नेपालः हिन्दू अधिराज्यको इतिहास पहिलो खण्डमा लेखिएको छः अंग्रेजहरुको नेपालमाथि हस्तक्षेप र मेजर किनलोकको नेतृत्वमा नेपालमा फौज पठाएको कारणले गर्दा गोरखा राजाको मिसनरीप्रतिको विचार बदलियो । गोरखाले सबै युरोपेलीहरुलाई शंकाले हेर्न थाले । पृथ्वीनारायण सिंगो नेपालका राजा भएपछि सन् १७६९ मा क्यापुचिनहरुलाई आफ्ना अनुयायीहरुलाई पनि लिएर नेपाल छोडी बाहिर जाने आदेश दिए ।

डा. जगमान गुरुङ लेख्छन्– जयप्रकाश मल्लले आफ्नो सहयोगका लागि अंग्रेजलाई गुहारेका थिए । अंग्रेजले त्यही मौका खोजी रहेका थिए तर पृथ्वीनारायण शाहले अंग्रेज र मुसलमानलाई सिन्धुलीगढीबाट माथि आउन दिएनन् । नागा जोगीहरु अंग्रेजका हरिद्वारदेखि कलकत्ताको दिनाथपुरसम्म खोलिएका व्यापारी कोठीहरुमा लुटपाट मच्चाएर नेपालको जंगलमा आएर लुक्थे । जयप्रकाश मल्लले ती नागा जोगीहरुलाई पनि गुहारेका थिए तर तिनलाई पनि पृथ्वीनारायण शाहले साँगा भञ्ज्याङबाट भित्र आउन दिएनन् । पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छः जयप्रकाश मल्लका मतलबलाई दक्षिणबाट नागा झिकाइए र नेपालभित्र पस्न नदिई सातगाउँभित्रैमा भिजाइदिएँ ।

पृथ्वीनारायण शाहले नेपाल आएका इसाई पादरी तथा तिनले ईसाई बनाएका नेपालीहरुलाई देश निकाला गरिदिएका थिए । यसरी नेपालबाट निष्कासित इसाई पादरी तथा तिनले इसाई बनाएका नेपालीहरु बेतिया र दार्जिलिङमा बस्न गए । पृथ्वीनारायण शाह ब्रिटिस उपनिवेशवादको विरोधी तथा आफ्नो मुलुकबाट इसाईहरुलाई निष्काशन गर्ने अभियानका अभियन्ता पनि पृथ्वीनारायण शाह नै थिए जगमान गुरुङले लेखेका छन् ।

डा. रमेश ढुंगेलले पनि इशाई पादरीप्रति पृथ्वीनारायण शाह कठोर बनेको उल्लेख गरेका छन् । पृथ्वीनारायण शाह धर्मान्तरण रोक्न लागेको ढुंगेल बताउँछन् ।

पृथ्वीनारायण शाहका बारेमा कर्कप्याट्रिकले एन एकाउन्ट अफ द किङ्गडम अफ नेपाउलमा पृथ्वीनारायण शाहलाई छलपूर्ण चतु¥याईँ गर्ने तर बुद्धिमतापूर्ण कार्य गरेका राजा भनेका छन् । एफ.बी. हेमिल्टन एन उकाउन्ट अफ द किङडम अफ नेपालमा लेख्छन्ः पृथ्वीनारायण शाह सन्तोष नलिने महत्वाकांक्षी, स्पष्ट न्यायी, दृढ साहसी र निरन्तर कर्मठ, दयालु र उदार व्यक्ति थिए ।

योगी नरहरिनाथले संकलन गर्नुभएको पृथ्वीनारायण शाहको दिव्यउपदेशमा भनिएको छः उप्रान्त । यो राजे दुई ढुङ्गा को तरुल जस्तो रहेछ । चीनका बादशाह सित ठूलो घाहा राख्नु । दषिणको समुन्द्रका बादशाहा सित घाहा राख्नु तर त्यो महाचतुर छ । हिन्दुस्थान दबाई राखेछ । 

दिनेशराज पन्त आफ्नो पुस्तक श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनीमा दिव्योपदेशको मूलपाठलाई यसरी लेख्छन्ः दख्खिनका समुद्रका बादशाहसित घा ता राख्नू, तर त्यो महाचतुर छ, हिन्दुस्थान दबाइराखेछ, सरजमीनमा परिरहेछ । हिन्दुस्थान जम्यो भने कठिन पर्ला भनी किल्ला खोज्न आउनेछ । सन्धिसर्पन हेरी गढी तुल्याई राख्नू र रस्तारस्तामा भाँजा हालिराख्नू । एक दिन त्यो बल आउनेछ ।

यही विषयलाई रामनारायण देवले राष्ट्रियता, सामाजिक र सांस्कृतिक एकताका प्रवर्तक पृथ्वीनारायण शाहमा लेखेका  छन्ः चीनको शासकसित शंका राख्नु तर दक्षिणको अंग्रेज शासकसित बढी आशंका राख्नु किनभने त्यो महाचतुर छ । पृथ्वीनारायण शाहले जाइकटक नगर्नु झिकि कटक गर्नु अर्थात् कसैमाथि पहिला आक्रमण नगर्नु र कसैले आक्रमण गर्न आएमा पनि प्रत्याक्रमण गर्न पनि नछाड्नु भनी उपदेश दिएका छन् ।

डा. तुलसीराम वैद्य समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह पुस्तकमा प्रकाशित आफ्नो लेख ‘पृथ्वीनारायण शाहः राष्ट्र निर्माणका अभियन्ता’ मा लेख्छन्ः असी प्रतिशतभन्दा बढी जनता हिन्दूहरु भएको देशलाई हिन्दू राष्ट्र भन्नु गलत होइन । चार्तुयताका साथ नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाह इशाईप्रति कठोर बनेका थिए । उनले नेपाललाई असली हिन्दूस्थान भने । ‘चार वर्ण र छत्तिस जातको साझा फूलबारी’ भने । बौद्ध र मुसलमानहरुलाई सहज रुपमा लिए तर, इशाईप्रति उनको कठोर व्यवहार देखिन्छ । पृथ्वीनारायण शाह पश्चिमाहरुको विस्तारप्रति शतर्क थिए । यसलाई रोक्न उनले आँट गरेर एकीकरणको अभियान नै चलाए ।

निष्कर्ष

१२ सय घरधुरीरहेको गोरखामा पृथ्वीनारायण शाह २० बर्षको उमेरमा राजा भए । तीन दशकभन्दा लामो समयसम्म निरन्तर युद्धरत रहे । अमेरिका स्वतन्त्र नहुँदै (४ जुलाई १७७६), फ्रान्समा राज्य क्रान्ति (१७८९–९९) भएर आधुनिक युग आरम्भ नहुँदै पृथ्वीनारायण राजा भइसकेका थिए । कार्लमाक्र्स जन्मिदा पृथ्वीनारायण राजा भइसकेका थिए । कार्लमाक्र्स जन्मिदा पृथ्वीनारायणको निधन भएकै त्रिचालीस बर्ष भइसकेको थियो । नेपाली भूगोलमा बेलायती उपनिबेशवादी क्रुर दृष्टि परेको थियो भने बंगाल र विहारका नबाब मिर कासिमको आक्रमणलाई परास्त गर्नु परेको थियो । त्यसवेलासम्म पुनर्जारण काल युरोपेली जातिहरुले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा अभूतपूर्व प्रगति गरेको अवधि चौधोदेखि सत्रौं शताब्दीसम्म र प्रवोधन काल (सत्रौं अठारौं शताब्दीको युरोपेली बौद्धिक दार्शनिक आन्दोलन) का झिल्काहरुसमेत नेपालसम्म आइपुगिसकेका थिएनन् । पुँजीवादी गन्ध पनि नआएको त्यो सामन्तबादी युग थियो ।

पृथ्वीनारायणकै कुरा गर्दा इतिहासमा मान्छेको भूमिका र कामको चर्चा गरिनु पर्छ । इतिहासको सम्बन्ध मान्छेसँगै अतीतसँगै भएको घट्ना पात्र र प्रकृतिबारे विवाद उठ्नु स्वभाविकै हो । विगतबारे धारणा र व्याख्यामा एकमत नहुनसक्छ । चेतनशील मान्छेको अतीत बर्तमानको ज्ञानको स्रोत हो । मान्छेका काममा उसका मनोबृत्ति, विचार, रुचि, स्वार्थ, वर्गचेतना जोडिएका हुन्छन् । हेमिल्टनका अनुसार पृथ्वीनारायण अत्यन्त महत्वकाँक्षी थिए । निर्णय क्षमता, साहस र निरन्तरको क्रियाशीलतामा असाधारण प्रतिमा थियो । उनको मृत्युको दुई दशकपछि मात्रै कर्णेल कर्क प्याट्रिक नेपाल आए । उपनिबेशबादी बेलायतलाई टक्कर दिनेमात्र होइन पराजितै गर्ने र इसाई मिसिनरीलाई देश निकाला गर्ने, तिब्बत व्यापारमा नाफा सुविधा नदिनेलाई देश निकाला गर्ने, तिब्बत व्यापारमा नाका सुविधा नदिनेलाई उनीहरु राम्रो मान्नै सक्दैनथे । 

इतिहासका कुशल व्यवस्थापकहरु हित अनुसारको विश्लेषण गर्छन नै, पक्षधरता लिन्छन् नै, त्यसैले विभत्स कथा रचे । जुनसुकै युद्ध यसै पनि आदर्श र सुन्दर नभएर त्यसमा शाक्तिको दमन, हत्या र प्रतिशोध हुन्छ । युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति र रक्तपातविहिन युद्ध । पिछडिएको गोरखासँग फौज र रणकौशल भए पनि विद्धत समुह थिएन, पराजित र उपनिबेशबादीसँग इतिहास व्यवस्थापनहरु थिए । कालान्तरमा विकास भएको विकास भएको कथित माक्र्सबादी विचारले पृथ्वीनारायणमा युद्ध उन्माद र ज्यादतीको चर्चा गर्दै एकीकरणको महिमामण्डनलाई छिपाउन खोज्यो । 

इतिहासको द्वन्द्ववादी नगरेकाले देश राष्ट्र र राज्यको भूमिका बीच फरक छुट्याउन नसक्दा द्वन्दवादी भनिए पनि नेपाली कम्युनिष्टहरु पृथ्वीनारायणको मूल्याँकन गर्न चुके । देश राष्ट्र र राज्यका चरित्र र अवस्थाको बुझाइमा कमजोर हुँदा उनीहरुले भौगोलिक एकीकरण गरेर उपनिबेशबाद पराष्ट गर्ने पृथ्वीनारायणलाई राष्ट्रवादी देख्न सकेनन् । पृथ्वीनारायणको शासनकाल वर्चश्वशालीको शासन पद्धति पक्कै थियो तर त्यसबेला उनको अभियान नभएको भए आज नेपालको अवस्था के हुन्थ्यो ? भुरे टाकुरे राजाहरु बेलायती उपनिबेश सामु टिक्न सक्थे ? देशको भूगोलको एकीकरण गरे पनि उनले देशको नामाकरण ‘गोरखा’ बनाउन सक्ने आधार थियो तर ‘नेपाल’ बनाएर जनताको मनोविज्ञान जिते । भूगोल केन्द्रीकरण र आधुनिक नेपाल बनाउन पृथ्वीनारायणको भूमिका प्रगतिशील सामन्तबादीको थियो । जसले सार्वभौम भौगोलिक इकाई निर्माण ग¥यो । फ्रान्सिसी विचारक रेमो आरोंका शब्दमा – मान्छे एकैसाथ इतिहासको कर्ता र पात्र दुइटै बनिरहेको हुन्छ । पृथ्वीनारायण पनि त्यस्तै थिए, जस्ता इतिहासका हरेक पात्र हुन्छन् । इतिहास बोधले नै समय र समाजलाई चिनेर युगलाई हस्तक्षेप गर्न सक्छ ।