
युवराज गौतम,
निकिता खुस्चेभ क्रेमलिनमा बसेर धेरै राष्ट्रका करोडौँ कम्युनिस्टलाई ‘कमान्ड’ गर्ने प्रबल नेता थिए । तत्कालीन सोभियत संघका ती सर्वाधिकारीको अन्तर्वार्ता लिने नेपालका पत्रकार थिए, कृष्णप्रसाद भट्टराई । सत्यनारायणबहादुर राजभण्डारीलगायतका युवा मिलेर खोलेको ‘नेपाल युनियन अफ जर्नलिस्ट’ संस्थाको सभापति छँदा मस्को पुगेका कृष्णप्रसाद भट्टराईका दाजु गोपालप्रसाद भट्टराई गोरखापत्र दैनिकका प्रधानसम्पादक भए । कृष्णप्रसाद प्रधानमन्त्री बने।
महाकाली सन्धि गरेमा नेपाललाई हरेक साल अर्बौ रूपैयाँ प्राप्त हुनेछ भन्ने एकजना कम्युनिस्टले अहिले आएर महाकाली सन्धि गरेर गल्ती गरिएछ भनेका छन्। गल्ती गरेर खल्ती भरेपनि वा खल्ती भरेर गल्ती गरेपनि नेपाली राजनीतिमा अक्षम्य मानिँदैन । कतिपय राष्ट्रमा प्रचलन, परम्परा वा जनमतलाई शिरोधार्य गरेर संवैधानिक प्रावधानजस्तै शक्तिशाली प्रब्न्ध गरिएका उदाहरण छन्। इटलीमा जन्मेकी युरोपियन क्रिस्चियन सोनिया गान्धीले जवाहरलाल नेहरूले हाँकेको दलको अध्यक्ष बन्नसम्म पाइन्। तर विदेशमा जन्मिएकै कारणले भारतको प्रधानमन्त्री बन्ने उनको इच्छा पूर्ण भएन ।
विदेशी मूलका मानिसलाई राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायत महत्वपूर्ण पदमा पु¥याउने बाटो खोल्ने हो भने अनर्थ हुन्छ भन्ने बुझेर अधिकांश राष्ट्रले नागरिकताका बारेमा कठोर कानुन बनाएका छन् । जर्मनीको फर्थमा सन् १९२३ मा जन्मेका विद्वान् कूटनीतिज्ञ हेनरी किसिन्जर अमेरिकाको विदेशमन्त्री र राष्ट्रपति रिचर्ड निक्सनका सल्लाहकार भए तर राष्ट्रपति बन्न पाएनन् । किसिन्जरको हालै देहान्त भएको छ ।
एकाउन्न प्रतिशत व्यक्तिले राष्ट्रघातीलाई समर्थन गरे भने ४९ प्रतिशत इमानदार, सज्जन र देशभक्तहरूको आवाज मधुरो सुनिन्छ । यस्तो प्रणालीमा ‘सत्य मेव जयते’ नै मिथ्याको दास बन्छ । ‘मिथ्या मेव जयते’ अंक गणितकै आधारमा बलियो बन्छ । एकाउन्न प्रतिशतको टिमका खेलाडीहरू जतिसुकै अपराधी भए पनि समाज र राष्ट्र उनीहरूकै आदेशमा चल्छ ।
श्री ३ जंगबहादुर राणाका कर्मचारी थिए, कालीदास कोइराला । श्री ३ चन्द्रशमशेरका पालामा पनि २६ वर्ष उच्चपदस्थ भएर बसे उनी । कालीदासका भाइ कृष्णप्रसाद कोइरालाका जेठा छोरा तथा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले विसं १९९० को भूकम्पपछि आफू विराटनगरबाट जागिर खोज्दै आएर जेठाबा कालीदासकै घरमा काठमाडौँमा बसेको लेखेका छन् ।
‘अ रोल इन अ रिभोल्युसन’ नामक ग्रन्थमा मातृकाले निजामती क्षेत्रमा कालीदासले गरेको कुनै निर्णय राणा प्रधानमन्त्री र कमान्डर–इन–चिफले मात्र हेरफेर गर्न सक्थे भनेका छन्। कृष्णप्रसाद कोइरालाको सम्पत्ति खोसेर श्री ३ चन्द्रले भ्रष्टाचार मुद्दा लगाए । त्यसपछि कृष्णप्रसादले मातृका, बिपी, गिरिजा लगायतका छोराछोरीलाई अत्यन्त कष्ट, अभाव र संघर्षका साथ हुर्काएको बिपीले लेखेका छन् । कालीदासले दिएको जमिनको आयस्रोतले धेरै कोइरालाहरूको पालनपोषण भएको विराटनगरका पुराना मानिस बताउँछन् ।
इतिहासमा जे लेखिन्छ, त्यो सबै सत्य हुँदैन । कतिपय कुरा ‘गाडधन’ जस्तै गुप्त हुन्छन् । घरमै आएर हातगोडा भाँचिदेलान् वा बाटोमा पैदल हिँड्दाहिँड्दै गाडीले किचिदेलान् भनेर कतिपय लेखक, पत्रकारहरू मौन बस्नुपर्ने अवस्था छ । माओवादीले आफूलाई पवित्र र दशवर्षे द्वन्द्वका बेला राष्ट्र र जनताको रक्षा गर्न चाहनेहरूलाई ‘मानवताविरोधी’ भन्दा प्रायःजसो मिडिया मौन बस्नुका कारण छन्। जुन विदेशी शक्तिले माओवादीलाई ‘सत्य’ र अरूलाई मिथ्या ठानेर पुल्पुल्याए, उनै शक्तिले नेपालका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतका यावत् क्षेत्रमा प्रभाव बढाएका छन्। तसर्थ ती मालिकले जसलाई ‘सत्य’ भन्छन्, त्यो सत्य ‘बहुमत’ नामको अंकगणितले पुष्टि गर्छ । नेपाल सुरक्षित रहनुपर्छ भन्नेहरू मिथ्या ठहरिएका छन्। यस्तो पीडा हरेक कमजोर राष्ट्रले भोग्नुपर्छ ।
नेपालका उच्चपदस्थहरूको व्यक्तिगत विवरण (डोसिअर) राख्ने चलन राणाकालमै सुरु भयो। २००७ सालपछि काठमाडौँस्थित अमेरिकी दूतावासले समेत त्यसरी डोसिअर राखेको पाइन्छ । योग्य व्यक्ति चयन गरेर तद्नुरूप दायित्व दिने मानिस पहिले त आफू योग्य हुनुपर्छ । असल र योग्य छान्न कलेजको ‘नलेज’ नभए पनि हुन्छ भन्ने कुरा राजा महेन्द्रले प्रमाणित गरे । उनले पचासौँ क्षेत्रमा योग्य व्यक्ति छानेर जिम्मेवारी र पुरस्कार दिए । घर÷परिवार पाल्ने चिन्ताबाट त्यस्ता व्यक्तिलाई मुक्त गराउन पर्याप्त चल–अचल सम्पत्ति दिए । अभिभावक, पुर्खा र इतिहासले सत्य मानेका शाश्वत सत्यलाई आजका कतिपयले मिथ्या ठान्छन् । ‘मिथ्या मेव जयते’ सदैव मिथ्या हुन्छ । दलनायक, गुटनायक, जातनायक, भ्रष्टनायक र नालायकहरूलाई राष्ट्रनायकको हाराहारीमा उभ्याउने भूल गरेका जनताले आज पश्चाताप गरिरहेका छन् ।
२०४६ साल र २०६३ सालपछिका दृश्यहरू सिंहावलोकन गर्दा खुसी हुनेहरू थोरै छन्। पदमा पुगेर वा सत्ताको स्वाद चाखेर लुट्न सक्नेहरू बाहेक अरू त आफ्नै यत्नले जीवन चलाइरहेका छन्। ‘महिनावारी’ भनिने तलव इमानदारका लागि जाडोको छोटो सिरक जस्तो हुन्छ । यता तान्यो, उता हुँदैन, उता तान्यो यता हुँदैन । सरल, सज्जन र इमानदार जनताले जतिसुकै दुःख गर्दा पनि ‘खुसी’ बेरुजु निस्कन्छ ।
‘सेना राजनीतिबाट टाढा बस्छ र सरकारको आदेश पालना गर्छ’ भन्ने गीत अब थोत्रो र पुरानो भइसक्यो। राष्ट्र र त्यसका हरेक राज्यसंयन्त्र राजनीतिले विकृत बनेका छन्। सेनालाई आदेश दिने ठाउँमा राष्ट्रघातीको बाहुल्य भयो भने त्योबेला सेनाले राष्ट्र र सरकारमध्ये एउटा कित्तामा उभिनैपर्छ । राष्ट्रिय स्वाभिमान र जागिरमध्ये एउटा मात्रै रोज्नुपर्ने अवस्थामा कुन रोज्छन्, राष्ट्रिय सुरक्षाका मठाधीशहरूले ?
‘डेमोक्रेसी’ नामको टुनामुना लगाएर सिक्किमलाई भारतमा गाभिँदा सिक्किम बचाउन अन्तिम क्षणसम्म लडिरहे, १९ वर्षका वसन्तकुमार क्षत्री । नेपालमा त्यस्ता व्यक्ति कति होलान् ? सुडान, इन्डोनेसिया, इथियोपिया आदि राष्ट्र टुक्र्याउँदा साहसपूर्वक बोल्ने कति थिए ? नेपालमा राजदरवारले पालेका र हुर्काएका धेरैले मध्यरातमा मालिक फेरे । आजको अवस्थामा राष्ट्रघाती र राष्ट्रवादी चिन्न नसक्ने, राष्ट्रघातीलाई काखी च्यापेर राष्ट्रवादीलाई सताउने तथा गुप्तरूपले विदेशीका लागि काम गर्ने टाठाबाठाहरू हरेक ठाउँमा छन् । त्यसैले सार्वभौमसत्ताको मालिक जनता नै हो भन्ने कथन प्रहसनको सम्वाद जस्तो बनेको छ ।
सत्तरी हजार हेक्टर नेपाली भूभाग मिचिँदा किन बोलेनन्, राष्ट्रका रक्षकहरू? राष्ट्रघातीका अंगरक्षक बन्न गर्व गर्नेहरू किन राष्ट्रको अंगरक्षक र संरक्षक हुन सकेनन ? हजारौँको हत्या गर्नेहरूलाई सलाम ठोक्दा किन यिनीहरूको मुटु पोल्दैन ? लाखौँ विदेशीलाई राष्ट्रपति, प्रधानमन्त्री, सेनापति लगायतका आसनमा सजिलै विराजमान गराउन सकिने नागरिकताको जालझेल के नेपालका लागि हितकारी छ ? राष्ट्रको सर्वोच्च हितमा समेत निरर्थक बहस किन ? यी सबै विद्रुप दृश्य हेरिरहेका जनताले पुनः राष्ट्रघातीहरूलाई नै राष्ट्रको सर्वस्व सुम्पिने निर्णय गरे भने त्यसपछि उनकै सन्तानले विदेशीको बुट खाने अवस्था आउन सक्छ ।


0 comment