
प्रभातराज पाण्डे,
पत्रकार सम्मेलन गरेर आफैले गाडी हाँकेर राजाले नारायणहिटी दरबार छोडेको घटनाले डेढ दशक पार गरिसकेको छ । अन्तरिम संविधानमा अपुर्ण संविधानसभाको पहिलो बैठकबाट कार्यान्वयन गर्ने गरेर तात्कालिन व्यवस्थापिका संसदले पारित गरेको प्रस्ताव संविधानसभालाई आदेश नै थियो । त्यसको वैधानिकतामा अनेकौँ प्रश्न खडा भएका थिए र छन् पनि । नेकाका विचारक नेता मानिने प्रदिप गिरीले एक अन्तरवार्तामा त्यसको वैधानिकता सावित गर्ने प्रयत्न गरेका थिए । उनले भनेका थिए जनताले दुई किसिमले मतदान गर्दछन्, पहिलो मतपत्रमा छाप लगाएर दोश्रो सडकमा खुट्टा बजारेर । उनको वैधानिकता सावित गर्ने तर्कलाई संवत नलेखिएको ७२ को संविधानले अविछिन्नता दिएको छ । करिव दुई सय शब्द सात अनुच्छेदको एकै वाक्य भएको प्रस्तावनाले आन्दोलन, सशस्त्र संघर्ष आदिलाई पनि संविधानको श्रोत स्विकार गरेको छ । यसरी यो संविधान पनि जनआन्दोलन, सशस्त्र संघर्ष आदिले परिवर्तन हुनसक्ने आशय निक्लन्छ ।
यो संविधान जसरी निर्माण भएको छ त्यही तरिकाले अर्को संविधान पनि आउन सक्ने नजिर प्रस्तावनाको यो भागले स्थापित गरेको छ । ऐतिहासिक, गौरवपूर्ण आदि विषेशणहरू कुनै आन्दोलन सफल भएपछि स्वतः नै लाग्ने गर्दछ । इतिहासले राज्यको वा राज्यहरूको शक्ति-संघर्षमा हारेकाहरूलाई खलनायकत्व र जितेकाहरूलाई नायकत्व प्रदान गर्ने गरेको पाइन्छ । त्यसैले आन्दोलन, सशस्त्र संघर्ष जस्ता बाटोले शक्तिमा पुगेको सत्ता, नेता हमेसा त्रस्त रहन्छ । आफूलाई अनावश्यक रुपमा उचित, राम्रो, जनहितकारी आदि सावित गर्ने अनावश्यक प्रयत्न गरिरहेको हुन्छ । स्वमुल्यांकन बाहेक आफ्नो मुल्यांकनबाट सशंकित हुने गर्दछ, आलोचना सुन्न नसक्ने गुण विकशित हुने गर्दछ । अनि आफूलाई सत्ताशक्तिमा पुऱ्याउन आन्दोलन, संघर्षमा होमिएकाहरूलाई आफ्नो वैचारिकलगायत हरेक किसिमका प्रतिरक्षा गर्न खटाउने प्रवृत्ति रहन्छ । तर दरबार छोडेर गएको दिनदेखि नै पूर्व पारिएका राजाले आफूलाई प्रतिस्थापन गर्ने व्यवस्थाको विरोधमा कुनै गतिविधि गरेको पाईन्न ।
उनबाट अवस्थाको बारेमा चासोसम्म व्यक्त हुने गरेको भने पाइन्छ । त्यो चासो नेपाली नागरिकको रूपमा प्राप्त अधिकारको प्रयोग हो । संविधानले नेपाली नागरिकलाई अवस्थाको बारेमा हस्तक्षेपकारी चासो राख्ने पनि अधिकार दिएको छ । सत्ताका विपक्षी नयाँ तथा पुराना दलहरू यही अधिकारका उपभोक्ता हुन् । विभिन्न व्यक्ति तथा दबाब समुहहरू पनि खराब अवस्थामा हस्तक्षेप गरेर त्यसलाई सुधार्ने त्यही हकका उपभोक्ता हुन् । यस्ता व्यक्ति, दबाब समूहहरूले जनताको विचार निर्माणमा तीव्रता दिने काम गर्दछन् । जहाँसम्म गद्दी खोसिएका राजाको कुरा छ, उनले नेपाली नागरिकको यो अधिकार पनि उपभोग गरेको पाइन्न । उनको पक्षमा भनेर अनेकौँ सङ्गठन व्यक्तिहरूले त्यो भूमिका लिन नखोजेका बिल्कुलै होइनन् । तर त्योसँग आफ्नो कुनै संलग्नता नभएको अनि आफू तटस्थ रहेको कुरा उनले बारम्बार अभिव्यक्त गर्दै आइरहेका छन् । एकपटक अन्नपुर्णका तात्कालिन प्रधानसम्पादक युवराज घिमिरेलाई लामो अन्तरवार्ता पनि दिएका थिए ।
गद्दी छोड्ने ताका शाहवंशका राजामा सबैभन्दा कम लोकप्रियता रहेको थियो । ऋणात्मक लोकप्रियता अझ भनौँ अलोकप्रिय नै रहेका उनको अलोकप्रिय हुने क्रम दरबारमा गरिएको अन्तिम पत्रकार सम्मेलनको लगत्तै पछिदेखि रोकियो । उनले छोडेको कुर्सीमा फोटो खिचाउन केही पत्रकारहरूले गरेको तँछाडमछाड प्रत्यक्ष प्रशारणमा देखेपछि आफूले राजालाई गाली गरेर कतै गलत त गरिएको थिएन भन्ने सोच आउन शुरु त्यही सामान्य जस्तो लाग्ने घटनाले गऱ्यो । त्यसपछि लगातार व्यवस्थाको लोकप्रियतामा ह्रास हुने र राजाको लोकप्रियतमा वृद्धि हुने क्रम निरन्तर छ । राजा, राजसंस्था वा राजतन्त्रको खराबी देखाउन जुन तर्कहरू प्रयोग हुने गरेका छन् त्यसले पनि राजाको लोकप्रियतामा वृद्धि गर्ने गरेको छ । अझ आफूलाई राजनीतिबाट अलग राखेका उनलाई दल खोलेर मैदानमा आउन दिइएको चुनौतीले त उनको लोकप्रियता वृद्धिमा उर्वरकको काम गरेको छ ।
जसले राजालाई यस्तो चुनौती दियो उसैको लोकप्रियतामा कमी आएको र आलोचनाको सामना गर्नु परेको अवस्था छ । उसका शुभचिन्तकहरूको अथक प्रयास पनि ब्यथ्र्यसरह छ । यसले आफैमा हीनभावनाको जन्म दिएको जस्तो देखिन्छ । त्यसैले गणतन्त्र घोषणाको झण्डै दुई दशक हुन लाग्दा पनि गणतन्त्र खतरामा रहेको अभिव्यक्ति सुन्न पाइन्छ । मुलुकको कार्यकारी प्रमुखदेखि अलङ्कारिक राष्ट्रप्रमुखसम्मले यो भन्दै आएका छन् । गणतन्त्र ल्याउन आफ्नो योदान सम्झने स्वदेशमा रहेका केही व्यक्तिहरू यसलाई जोगाउन आफूले सकेको प्रयत्न गर्दैछन् भने पश्चिमा मुलुकमा गएकाहरू फेरि गणतन्त्रको निमित्त सङ्घर्ष गर्न उद्यत् देखिँदैछन् । नेपाली समाजमा अब फेरि गणतन्त्र र राजतन्त्रको बहस चुलिँदैछ । यो बहस नेपालमा भन्दा विदेशमा बसोबास गर्न थालेका नेपालीहरू मा थप उग्ररूपमा देखापर्दैछ । यसले एक प्रश्न पैदा भएको छ- के अब नेपालमा साँच्चै राजतन्त्रको पुनरागमन हुँदैछ त ? नत्र किन यत्रो छटपटी ?


0 comment