
अगनसिंह थापा,
एकाबिहानै घुइँचो लागिसकेको छ । पुनहिलको आँगन (३,२१० मिटर) भरि । मानौं सांस्कृतिक मेला भर्नेहरूको भीड हो । यतिबेला तापक्रम छ १ डिग्री । मन थाम्न नसकिने अपूर्व सौन्दर्यमा नुहाउन नशा–नशामा उत्साहको भेरी उर्लाएर भेला भएका छन् पर्यटकहरू ।
सुनौला रंगमा खुल्न खोज्दैछन् लस्करै उभिएका हिम शृंखला । माछापुच्छ्रे, हिमचुली, अन्नपूर्ण, नीलगिरी, धम्पुस–टुकुचे चुली, धौलागिरी लगायतका लोभलाग्दा हिमाली चुचुरा । सूर्योदयका पहिलो किरण यिनै हिम शृंखलामा पोतियो, बिहान ठीक ६ः३५ बजे । हिमशिखरहरू तामाका मुना जस्तै एकपछि अर्को टुसाउदै गए । सुखद आश्चर्यमा परम तृप्ति बनेर । सौन्दर्यका यिनै आभामा छिरलिएका घामका सुन्दर फिँजहरू उतार्न ननस्टप क्लिक गरिरहेछन् क्यामेराहरू ।
उचाइ नापेका हिम सौन्दर्यको भब्य दृश्याकोलनको लागि प्रख्यात पुनहिलमा सूर्यसँग पहिलो भेट गरेपछि उल्लास र उमंगको उत्सव छाउछ आगन्तुकहरूमा । यस्तो अनुपम दृश्यले एकैसाथ थाहै नपाइकन हर्ष, प्रसन्नता र रोमान्चकताको लहर मौलाउछ मुहारमा । जसरी मनभरि देशप्रेमको भाव जागेको थाहै हुदैन, गतिलो राष्ट्रिय गीत सुनेपछि । मौलिक सृजनाका सेरोफेरो समेत मस्किन थाल्छन् । मस्त अध्याँरोमा निदाइरहेको कालीगण्डकीको गहिरो गल्छीले विस्तारै आकार लिन थाल्छ । थाल्छ आफ्नो सौन्दर्य प्रदर्शन गर्न, गामबेशीको भाका बोकेर रोधी बसेका वरपरका पहाड प्राकृतिले समेत ।

पुनहिलको अर्को सौन्दर्य हो, ५० पर्यटक अट्ने ३५ फिटको फलामे टावर । स्वाभाविक रुपमा फलामे टावर टेक्नेबित्तिकै पर्यटकहरू पुनहिलका खोजीकर्ता मेजर टेकबहादुर पुनप्रति नतमस्तक हुन्छन् । जसले वरपर पुन बस्ती भएकाले २०२८ मा यो लुङतुङ डाँडालाई ‘पुनहिल’ नाम दिए । म्याग्दीको यो डाँडा पुग्ने पहिलो व्यक्ति उनै मेजर टेकबहादुर थिए ।
मायालुको मुस्कानले जस्तै आजकल बालबालिका र स्वदेशी विद्यार्थी तथा युवा जमात पनि मनग्ये तान्न थालेकोछ पुनहिलले । भर्खर मन्टेस्वरी पढ्दैका चितवन बासी एक बालक देखापरे भिडमा । पोहर यही उमेरका अर्का चिनियाँ बालक पनि आफ्ना अविभावको साथ लागेर पुनहिल पुगेका थिए । यसपालि १५० जनाको चिनियाँ जत्थाले रेकर्ड राख्यो, सर्वाधिक ठूलो समुहको नाममा । त्यस्तै दाङ्बाट कलेजका ६५ र काठमाडौंबाट ३५ स्कुले विद्यार्थी लस्कर लागेर आएका रहेछन् पुनहिल । साथीसंगीको सानोतिनो समुह बनाएर पुग्ने नेपाली पर्यटकको संख्या समेत बढ्दोछ ।
एकैछिनको खुसीको लागि निन्द्रा, जाडो केही नभनी पौने घण्टाको उकालो उक्लेका छन् । यसको के कुरा ? सयौंको संख्यामा आएका छन्, चिसोचिसो ठाउँको न्यानोन्यानो अविस्मरणीय स्मृति बटुल्न सात समुन्द्रपारीबाट लाखौ खर्चेर । आखिर सम्पत्तिको उपयोगिता भन्नु आनन्द र खुसी प्राप्तिको निम्ति न हो । नेपाल हाइप्वाइन्ट ट्रेकिङ एण्ड एक्स्पेडिसन मार्फत बेलायतबाट पुनहिल पुगेका रोरी पिटर्स भन्छन्, “पुनहिलसम्मको पदयात्रा सानोतिनो कुरा होइन । तर दशगुणा बढी पुरस्कृत गर्ने यसको सूर्योदयले हो ।
पुनहिल उक्लदा भेटिने दायाँतिरको तेर्सो बाटो पछ्याउँदै जादा शान्त र रमणीय “लालीगुराँश पार्क“ पुगिन्छ । मात्र २० मिनेटमा । अग्लाअग्ला लालीगुराँशको जङ्गल बीचमा अवस्थित यो सुन्दर पार्क (५ महिना अघि निर्मित) पुग्न भ्याएका रहेनछन् कतिपय स्थानीयबासी । पर्यटक कसरी पुगोस् ? जबकी अधिकाश गाइडहरू अनभिज्ञ छन् । जेहोस् कालन्तरमा पुनहिलको पपुलारिटी बढाउन थप सहयोग गर्ने नै छ यसले ।



0 comment