युवराज गौतम,

जहाँ ज्युँदा जनता बस्छन्, उनीहरू असत्य र अन्याय खपेर बस्दैनन् । जुरुक्क उठ्छन्। विप्लवी हुन्छन् । थिचोमिचो गर्नेहरूको सम्मान होइन, सामना गर्छन् । भ्रष्टाचार, दमन, अत्याचार सहेर बस्दैनन् । जनता बेलैमा जागे भने राष्ट्र डुब्दैन । सास नफेर्ने लासहरू मात्र मौनधारण गरिबस्छन् । नेल्सन मन्डेला, स्यामुअल एडम्स चार्ल्स द गाल मात्र होइन, ’महिला राजा’ (फिमेल किङ) क्लियोपेट्रा जस्ता कतिपय पात्रको प्रशंसा गरेका छन्, इतिहासकारहरूले ।

नेफरटिटी. निमाथप बोदिका, जेनोबिया, इसाबेलादेखि लिएर नेपाल, भारत आदि राष्ट्रमा अनेक वीर– वीरानाको प्रसंग आउँछ । उनीहरुको गाथा काल्पनिक कथा होइन । राज्यलक्ष्मी हुन् वा झाँसीकी रानी, काल्पनिक पात्र होइनन् । प्रसिद्ध तान्त्रिक धनशमशेरले राजनीतिमा निहित ’तन्त्र’ शब्द प्राचीन तन्त्र–परम्पराबाटै अनुप्राणित भएको तर्क गरेका छन् । उनको कथन छ आध्यात्मिक र भौतिकतन्त्रका हाँगाबिंगामध्ये ’स्वतन्त्र र परतन्त्र’ दुवै भौतिकतन्त्र हुन् ।

राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र शब्दमाधुर्यका दृष्टिले ’स्वतन्त्र’ मानिन्छन् । उनले भनेको ’स्वतन्त्र’ शब्दार्थ जीवित आत्माहरूको आत्मनिर्णयको क्षमता, साहस, विवेक र राष्ट्रप्रतिको निष्ठामा मात्रै सार्थक हुन्छ । अधिकार (त्यो पनि सीमित मात्रै) आफूमा राखेर सर्वाधिकार अरूलाई बुझाइन्छ भने त्यो राष्ट्रको सार्वभौमसत्ता निष्प्राण हुँदै ’सुजेरेन्टी’ बन्छ । तसर्थ, जुन राष्ट्रको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सेना, प्रेस र समस्त राज्यसंयन्त्र नै पराधीन जस्तो बन्छ, त्यो राष्ट्र सजीव रहँदैन ।

प्रचुर क्षमता भएका युवा लाखौं छन्, नेपालमा । ती सबैको जोश, जाँगर, राज्यलक्ष्मी हुन् वा झाँसीकी रानी, सिप र ज्ञानको सदुपयोग गर्ने÷गराउने प्रयत्न नै गरिएन । युवा–विद्यार्थीका संगठन नेतागणका ’अंगरक्षक गुल्म’ भए । अभाव लगायतका अनेक कारणले पढ्न नपाएका, परिवारबाट टाढा हुनुपरेका लाखौँलाई पसिना र सत्कर्मको मूल्य दिएर स्वदेशमै रोजगारी दिलाउन कसैले प्रयत्न गरेनन् ।

राष्ट्रलाई स्वावलम्बी बनाउने भरपर्दो र दिगो कोसिस नै गरिएन । धेरै उच्चपदस्थहरू विदेशीद्वारा, विदेशीका लागि काम गर्ने यन्त्रमानव मात्र भए । राष्ट्रहित भन्दै विदेशीको स्वार्थमा निर्णय गरेर विदेशी कलमले हस्ताक्षर गरिरहे । महाकाली सन्धिदेखि नागरिकता विधेयकसम्म राष्ट्रिय हित कति सुरक्षित छ भनेर धेरैले प्रश्न गरिरहेका छन् ।

राष्ट्रका नायक हुने क्षमता नभएपछि राजनीतिकर्मीहरू ’ग्याङ लिडर’ बन्छन् । सभ्य भाषामा ’दलीय नेता’ भन्ने जलप लगाइन्छ । तसर्थ, आज नेपाली देखिएका राजनीतिमा धेरैजसो पात्र परजीवी, परावलम्बी, पराश्रित, परतन्त्र छन् । बितेका ३० वर्षयता उनीहरूले पटकपटक मौका पाए पनि राष्ट्र र जनताका लागि कनै उल्लेख्य काम गरेनन् । तसर्थ यी कोही पनि नेता होइनन् ।

खास गरी तराईका जिल्लामा गैरनेपालीले रैथानेसरह नेपालीका हक, अवसर वा यावत् सुविधा पाउँदा रसुवा, दार्चुला वा मनाङका बासिन्दा होइन, हजारौँ सालदेखि तराईमै बसेका नेपाली अल्पमतमा पर्छन् । तराईका रोजगारी, कृषि, उद्योग, व्यापार, स्कुल, कलेज, अस्पताल लगायतका क्षेत्रमा ’नयाँ नागरिकता’ लिएका विदेशीको हुलमुल बढ्छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक र धार्मिक क्षेत्रमा प्रदूषण बढ्छ । भारतका युपीको जनसंख्या झण्डै २३ करोड र बिहारको ११ करोड छ । सिमानामा पर्ने अर्को राज्य पश्चिम बंगालको जनसंख्या दश करोड बराबर छ । तसर्थ उनीहरूमध्ये एक÷दुई प्रतिशत मात्र ’नेपाली’ भएमा ठूलो समस्या आउने देखिन्छ । पटक–पटक हिंसा र अराजकता भइरहने भारतका विभिन्न राज्यमा पचासौं आतंकारी संगठन, लाखौं तस्कर, हत्यारा, डाँका आदिका लागि नेपालको नागरिकता कछुवाको बलियो हाडजस्तो सुरक्षा कवच सांवित हुन सक्छ । अव्यवस्थित सिमाना भएका नेपाल जस्ता राष्ट्र कति छन् ? सहज रूपमा कुन–कुन राष्ट्रमा दलहरू नै मिलेर राष्ट्रघातका नवीनतम् नजीर बनाउँछन् ? राष्ट्र नरहे पनि सुख सुविधा रहोस् भनेर कतिवटा र कुन कुन राष्ट्रमा राष्ट्रिय स्वाभिमानमाथि खेलबाड़ गरिएको छ ?

विदेशीको मन्त्रले चल्ने नेपाली तन्त्रले नेपाल र नेपालीको हित गर्दैन भन्नेहरू किन ऐक्यबद्ध हुन सक्दैनन् ? किन ज्युँदो देखिएका छैनन् । यदाकदा घाटमा पु¥याइएको लास पनि बौरिएका खबर सुनिन्छन्, बूढापाका छन् प्रत्यक्षदर्शी । तीसौं वर्षदेखि उनै अकर्मण्य, भ्रष्ट, राष्ट्रघाती, कुरौटे र विदेशीका भरौटेहरूलाई नै जनताले राष्ट्र हाँक्ने लाइसेन्स दिएका छन् । के अब पनि त्यही भूल दोहोर्‍याउलान् ?

नक्कली नागरिकता लिएका र विदेशीका दास बनेकाहरू पनि त्यस्तै हुन् । नेपाल आमाले शरण दिँदैमा ती खाँटी नेपाली हुन सक्दैनन् । नेपाली हुन नेपाललाई माया गर्नुपर्छ । राष्ट्रवादी हुनैपर्छ । सुन्दर इतिहास बनाउने मौका पाएर पनि नेपालका नेताहरू ’ट्रेटर’ बनेका छन् । यसमा एमाले, कांग्रेस माओवादी र तराईकेन्द्रित दलका कतिपय पार्टी पदाधिकारी, अगुवा कार्यकर्ता आदि पनि पर्छन् । जनताले यी राष्ट्रघातीहरूकै एजेन्डा स्वीकार गर्ने हो भने राष्ट्र बचाउँछ कसले ? विदेशी षड्यन्त्रहरूको पर्दाफास गर्छ कसले ? स्वाभिमानको लडाइँ हाक्छ कसले ? राष्ट्रियताको रक्षा गर्छ कसले ?

भ्रष्ट, अकर्मण्य, दास र दृष्टिहीन कथित नेताहरूका भरमा राष्ट्रको भविष्य सुम्पिने तपाईं हामी आफैं मूर्ख हौं कि होइनौं ? के आज देशमा प्रजातान्त्रिक शासन छ ? विधिको शासन छ ? सुशासन र पारदर्शिता छ ? कूटनीतिक मर्यादा छ ? स्थानीय सरकारमा जनताको प्रतिनिधित्व छ ? संसद छ ? संसदले चुनेको सरकार छ ? सरकार जनताप्रति उत्तरदायी छ ? जनताका जल्दाबल्दा समस्याप्रति सरकार संवेदनशील छ ? जनतामा दलहरूप्रति आस्था र विश्वास बाँकी छ ? नेपालबारे नेपालीले नै निर्णय गर्ने हक सुरक्षित छ ? छैन । त्यसो भए यो लोकतन्त्र हो कि पराइतन्त्र ? यो सुशासन हो कि दुशासनहरूको कुशासन ? जनताले प्रश्न गर्नुपर्छ । जनता बोल्नुपर्छ । जाग्नुपर्छ । उठ्नुपर्छ । विदेशी षड्यन्त्रकारी र तिनका आज्ञाकारी दासहरूको सशक्त विरोध गर्नुपर्छ । विदेशीले उचाल्दा मात्र ’जनआन्दोलन’ गर्ने ज्युँदा लाशहरूले अब आफैँलाई चिमोट्नुपर्छ । ज्युँदै छन् भने लाखौं जनता मिलेर सडकमा आउनैपर्छ ।