प्रा.डा. डिल्ली ओली,
चान्द्रमास पद्धतिअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको समय तिहार हो । यसलाई यमपञ्चक पनि भनिन्छ । अर्थात् यमराज र पाँच दिनका विभिन्न पूजा यो समयसँग जोडिएका छन् । रमाइलो गर्ने, जुवा आदि खेल्ने परम्पराअनुसार यमपञ्चक पछि गएर जुवाखेल बोधक पनि हुन गयो । भारतमा यसलाई दिवाली, दीपावली भनिन्छ । तिहार अवधिभर बत्तीको झिलिमिली हुने भएकोले दीपावली भनिएको हो ।
यो पर्व पौराणिक बलिराजाको कथासँग पनि सम्बन्धित छ । कथाको बलि दानवीर थिए। यो सारांशअनुसार बुझेरै विष्णुले विक्रान्त रुप धारण गरेर बलिसँग तीन पाउ जमिन मागेका थिए । सोहीअनुसार बलिले आफ्नो वाचा अनुसारको जमिन दिने संकल्प गरे । शुक्राचार्यले यो विष्णुको छल भएकोले दिन हुँदैन भनी अडान लिन थाले । तर बलि आफ्नो बचन पालन गर्न संकल्पित थिए। शुक्राचार्यले बाचा तोड्नका लागि संकल्प गर्नुपर्ने सल्लाह दिए । संकल्प वाक्य पूरा गर्न पानी आवश्यक पर्ने भएकोले कमण्डलुबाट पानी आउन नदिन कमण्डलुको टुटीमा स्वयम शुक्राचार्य बसे । कमण्डलुबाट पानी नआएकोले कुशले टुटी खोल्दा शुक्राचार्यको आँखा फुट्यो र कमण्डलुबाट पानी भन्यो । बाचा अनुसार बलिराजाले विष्णुलाई तीन पाउ जमिन दिए । विष्णुका दुई पाउले आकाश र जमिन ढाक्यो । अर्को पाउ कहाँ राख्नेभन्दा बलिले अर्को पाउ राख्नको लागि आफ्नै शिर दिए । विष्णुको पाउ बलिको शिरमा परेपछि पाताल भासिए । बलि पाताल भासिए पनि उनी वर्षमा पाँच दिन पृथ्वीमा आउन पाउने सुविधा उनलाई प्राप्त तिथिमा बलि पृथ्वीमा आउन थालेको भयो । त्यसैअनुसार माथि उल्लिखित तिथिमा बलि पृथ्वीमा आउने थालेको र यस उपलक्ष्यमा उत्सव मनाउन थालेको पौराणिक मान्यता छ । यो समयमा बलिको स्वागत सम्मानका लागि पृथ्वीका विभिन्न ठाउँमा भैली, द्यौसी खेल्ने, जुवा फकाउने, झिलिमिली पार्ने, बत्ती बाल्ने, रमाइलो, भेटघाट गर्ने फूल महोत्सव जस्तै वातावरण बनाउने गर्न थालियो । बलिले पातालमा जस्तो ऐश्वर्य भोग्दथे । पृथ्वीमा पनि सर्वत्र त्यस्तो देखाउन पनि तिहार परम्पराको थालनी भएको मान्यता छ ।
तिहार कृष्ण र शुक्ल पक्ष अर्थात् नेगेटिभ र पोजिटिभ तत्व एकाकार भएको पर्व हो । तिहारमा कृष्ण पक्ष र शुक्लपक्ष दुवै हुन्छ । नेगेटिभ र पोजिटिभ तत्वको फ्युजनबाट जीव, जगत र ब्रह्माण्डको सृष्टि हुन्छ, सन्तुलन हुन्छ । तिहार पर्वको पौराणिक आयाम यमराज (मृत्युका देवता) सँग पनि जोडिएको छ। यो एकातिर मृत्यु र अर्कोतिर दीर्घायु र सुस्वास्थ्यसँग जोडिएको पर्व हो । तिहार यमराज र उनकी बहिनी यमुनासँग पनि जोडिएको छ । यमराज र यमुनाका प्रतीक नै तिहारमा दाजुभाइ दिदीबहिनी हुन् । दाजुभाइ पूजासँग जोडिएका सामग्री– मखमली माला, दुवोको माला, तील, ओखर, तेलको घेरा, अपामार्ग आदि पोजिटिभ र यमराज नेगेटिभ पक्षका प्रतीक हुन् । यिनको मनोवैज्ञानिक धार्मिक, सांस्कृतिक र शारीरिक सन्दर्भ पनि छँदैछ । नेपालमा तिहारलाई कतै कतै खस संस्कृतिको द्योतक पनि भनिन्छ । कसैले यसलाई सपादलक्ष्य खसादि राज्य सिंजाबाट विस्तार भएको मानेका छन् । बलिराज जुम्ला राज्यका पहिलो कल्याल राजा थिए । उनलाई पन्ध्रौं शताब्दीमा चन्दननाथले अभिशेष गरेर सिंहासनमा राखेका थिए । त्यसबेला त्यहाँ देवदास र देवदासी भएको, जुम्ला राज्यबाट उनीहरुलाई मागी खान पाउने व्यवस्था गरिएको र अझ यो तिहारको समय भएको संकेत त्यहाँका विभिन्न स्रोतहरुबाट पाइन्छ । देउसी भैलीमा गीतै छ– हामी त्यसै आएनौं, बलिराजाले पठाएका.... आदि भनेर । त्यस क्षेत्रमा सुरुताका देवदासले द्यौसी र देवदासीले भैली खेल्ने चलन थियो । द्यौसी तिहारभरी र भैली औंशीको दिनमा मात्र खेल्ने परम्परा हो । मूलतः तिहार पौराणिक मान्यता अनुसार भए पनि नेपालमा यसको विस्तार कर्णाली प्रदेशबाटै भएको बुझिन्छ ।
तिहारको पाँच दिन पशुपक्षी र मानिसको पूजा सम्मान र तीसँग जोडिएका मानवीय र भावनात्मक पक्ष र महत्वसँग सम्बन्धित छ। तिहारको पहिलो दिन कागपूजा हुन्छ । काग शुभ, अशुभ सन्देश बाहक पक्षी मानिन्छ । बिहान घरको अगाडि काग कराएमा मानिसले शुभबोल, भनेर कागबाट शुभ सन्देशको चाहना राख्छन्, खाने कुरा दिन्छन् । यसरी काग सन्देश बाहक मात्र नभएर उसले विभिन्न कीरा फट्याङ्ग्रा, भुसुना आदि खाएर वातावरणीय स्वच्छतामा सहयोगीको भूमिका निर्वाह गर्दछ । यो पक्षी अरुजस्तो समाजबाट धेरै टाढा रहन सक्दैन । त्यस्तै कागचेष्टालाई मानिसको लागि प्रेरणादायी हुने कुरा नीतिशास्त्रले पनि बताएको छ ।
दोस्रो दिन कुकुर तिहार हो । कुकुर घरको रक्षक, आज्ञाकारी सेवक र सहयोगी घरेलु जनावर हो । यो समाजको अभिन्न अंग हो । अर्कोतर्फ यो यमराजको बाहन पनि हो । यो नरक चतुर्दशीको दिन पनि हो । नरक चतुर्दशीले यमराज (मृत्यु), मर्त्ये लोक र कुकुरलाई (मृत्युको बाहन) समेटेको छ । युधिष्ठिरसँग स्वर्ग जाने बाँकी त कुकुर मात्रै थियो । मानव जीवनको अनिवार्य सत्य मृत्यु भएकोले मृत्युसँग जोडिएको कुकुरको पूजा, सम्मान यस दिन हुन्छ। त्यस्तै स्वान निद्रालाई पनि नीतिशास्त्रले प्रेरणादायी बताएको छ । यस्ता धेरै विषयहरु कुकुरसँग जोडिएका छन् ।
तिहारको तेस्रो दिन गाई तिहार, लक्ष्मीपूजा हो । यो वैश्य परम्पराको महत्वपूर्ण दिन हो । प्राचीन समयमा गाई सबैभन्दा ठूलो धन, सम्पत्ति थियो । गाईको दही दूध, मलमूत्र अमृत समान मानिन्छ । त्यसैले यिनको प्रयोजन धेरै र महत्वपूर्ण ठाउँमा हुन्छ । वैदिक कालदेखि गाईलाई आमा पनि भनिदै आएको छ । यस दिन बिहान गाई पूजा र साँझ धनकी प्रतीक लक्ष्मीको पूजा हुन्छ । वर्षको सबै दिनभन्दा यो दिनमा बढी उज्यालो झिलिमिली, संगीतमय पूजामय हुन्छ। औंशीको रात, प्रकाशमय हुनु, बनाइनु नेगेटिभ र पोजिटिभ तत्वको फ्युजन नै हो । अँध्यारोमा धन सम्पत्ति, सुख समृद्धि र प्रकाश प्राप्त गर्ने हेतु लक्ष्मी पूजा मनोवैज्ञानिक । द्योतक पनि हो । यस दिन बाटो, रुख विरुवा, घरमा झुण्ड्याइने तोरणको ठूलो महिमा हुन्छ । यस दिन बावियोको डोरीमा आँप, वर, पिपल, हजारी फल, द्वारे फल, जमरा आदिका पातहरु राखेर झुण्डयाउने काम परम्परा अनुसार हुन्छ । डोरीमा राख्ने बस्तुहरुको आयुर्वेदिक र वातावरणीय महत्व पनि त्यही स्तरमा छ । कतैकतै यो डोरीलाई वलिराजाको बाटोको रुपमा पनि बुझ्ने गरिन्छ ।
तिहारको चौथो दिन गोवर्धन पूजा हुन्छ । यसलाई गोरु तिहार पनि भनिन्छ । यो दिन भगवान कृष्ण, गोवर्धन पर्वत, ग्वाला, गोरु, कृषि अर्थतन्त्र आदिसँग जोडिएको हुनाले यिनको पूजा, सम्मान हुन्छ । हाम्रो जस्तो कृषि प्रधान मुलुकमा यसको महत्व टड्कारो छ । वर्तमान समयमा कृषिका लागि विभिन्न वैज्ञानिक उपकरणहरुको प्रयोग भए तापनि हाम्रो सभ्यता, इतिहास र परम्परागत संस्कृतिले कृषि कर्ममा गोरुको महत्वलाई सर्वथा प्राथमिकतामा राखेको छ । गोरुलाई समाजको पालनपोषण गर्ने घरेलु जनावर मानिन्छ । त्यसैले वर्षमा एक दिन भए पनि गोरुको पूजा गर्ने मानवीय कर्म र दायित्व बन्न गयो । त्यसैले यो कृषि युगको प्रतिनिधि दिन पनि हो । तिहारको पाँचौं अथवा अन्तिम दिनलाई भाइटीका भनिन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्दछन् । पौराणिक मान्यतामा जसरी यमुनाले दाजु यमराजको पूजा गरेकी थिइन्। त्यसैगरी दिदी बहिनीले दाजुभाइको यसै दिन पूजा गर्दछन् । यस अनुसार दिदी बहिनीले दाजुभाइलाई सप्तरंगी टीका, जमरा, मखमली माला, दुबोको माला अपामार्ग लगाइदिने, मिष्ठान्न भोजन, खानेकुरा दिने गर्दछन् र दाजुभाइले पनि त्यही स्तरमा उनीहरुलाई दक्षिणा, वस्त्र, गहना आदि दिने परम्परा छ ।
तिहारको पाँच दिन मानव विकासक्रमसँग पनि जोडिएका छन् । विष्णुका दश अवतारमा पनि यो क्रम देखिन्छ । त्यहाँ यसलाई धार्मिक मान्यता र अवतारवादसँग जोडिएको छ । तर यसमा अवतारवादको सिद्धान्त छैन । काग मानिसको घुमन्ते जीवनसँग, कुकुर मानव सभ्यताको सिकारी अवस्थासँग, गाई पशुपालनसँग, गोरु कृषि युगसँग र दाजुभाइ अर्थात् मानिस व्यवस्थित जीवन र समाजसँग जोडिएका छन् । त्यसैले यस अर्थमा तिहारले मानव जीवनको प्रारम्भिक अवस्थादेखि विकसित अवस्थासम्मको सम्झना र सम्मान दिलाउँछ । परम्परागत रुपमा तिहारमा विभिन्न प्रकारका रोटीका परिकारहरु आवश्यक मानिन्छन् । यस प्रकारका रोटीहरुमा सेलरोटी, फिनी, अर्सा, अनरसा प्रमुख हुन् । पश्चिम नेपालमा यस समयमा जुम्ली अर्साको बढी महत्व हुन्छ । समाज र समयको परिवर्तनले यस्ता सामग्रीहरुमा भने परिवर्तन भैरहेको देखिन्छ । रोटीहरुको ठाउँमा वर्तमानमा फलफूल, मिठाई आदि प्रचलनमा छन् । तिहारको समयमा रोटी पकाउँदा घ्यू, तेलबाट आउने धुँवा र बास्नाले वातावरणीय स्वच्छता र प्रफुल्लता फैलिन्छ ।


0 comment