विष्णु भट्टराई,

सानातिना पार्क, चौतारा, चियापसल, विश्राम स्थल र फुटपाथमा काम गर्ने समयमा पनि ठूलो भिडभाड देखिनुले बेरोजगार मानिसको सङ्ख्या दिन प्रतिदिन थपिएको सङ्केत गर्छ । विकसित मुलुकहरूमा सार्वजनिक बिदाको दिनमात्र सार्वजनिक ठाउँहरूमा भिडभाड देखिन्छ । बाँकी समय हाम्रोमा जस्तो ठेलमठेल मान्छे देख्न नपाइने अनुभव बाहिर घुमेर आउनेहरू सुनाउने गर्छन् । काठमाडौका भित्री गल्लीका चिया पसल तथा विश्राम स्थलहरूमा मोबाइल सेटमा तास, लुडो खेल्ने युवाहरू थुपै्र भेटिन्छन् । पहिला क्यारमबोर्ड खेल्नेहरू अहिले डिजिटल गेममा व्यस्त भएको देखिन्छ । काम गर्ने उमेरका युवाहरू यसरी खेलेर दिन बिताउनु बाध्य हुनुको कारण बेरोजगारी नै हो । काम गर्ने प्रबल इच्छा, शारीरिक क्षमता भएका उत्पादनमा लाग्नु पर्ने जनशक्ति बेरोजगार हुँदा यसको नकारात्मक प्रभाव घर परिवार र व्यक्ति स्वयम्लाई त पर्छ नै यो विषय राष्ट्रिय अर्थतन्त्रको पनि टाउको दुखाई बनिरहेको छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि राष्ट्र निर्माणमा लाग्नु पर्ने युवाशक्ति देश छोडेर पलायन हुन बाध्य बनिरहेको अवस्थाले मुलुकको विकासमा ठूलो असर पुगिरहेको छ । बेरोजगारी समस्या सम्बोधन गर्ने कुराहरु केवल राजनीतिक नारा र भाषणमा सीमित भएका छन् । समस्या दिनानुदिन बढी नै रहेको छ । 

हरेक वर्ष देशको श्रम बजारमा पाँच लाख भन्दा बढी जनशक्ति थपिने गरेता पनि नगन्य सङ्ख्याले मात्र रोजगारी पाउने गरेका छन् । करिब ५ प्रतिशत जनशक्ति मात्र मुलुकको श्रम बजारमा खपत हुने र बाँकी ९५ प्रतिशतले बिदेसिनु पर्ने बाध्यता उत्पन्न भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीले नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पा¥यो । करिब १५ लाख मानिसले रोजगारी गुमाउनु परेको तथ्याङ्क विभिन्न सर्बेक्षणले देखाएका छन् । स्वदेशमा नेपाल राष्ट्रको सर्वेक्षण अनुसार कोभिडको समयमा औद्योगिक प्रतिष्ठानमा २२.५ प्रतिशत श्रमिक कटौती गरिएको थियो भने होटल, रेस्टुरेन्ट अर्थात पर्यटन क्षेत्रमा ४० प्रतिशतसम्म श्रमिक कटौती गरिएको थियो । लक डाउनपछिको अवस्थामा पनि सुधार नआएको र गुप्रै व्यापार व्यवसाय धमाधम बन्द भएका कारण रोजगारी गुमाउनेको सङ्ख्या दिनहुँ थपिदै गएको छ । 

श्रम बजारमा थपिने युवाहरूले स्वदेशमा अवसर नपाएपछि जस्तोसुकै जोखिम मोलेर पनि विदेश तर्फ लाग्ने गरेका छन् । दिनहुँ २ हजार युवा जनशक्ति रोजगारीको खोजीमा विदेसिने गरेको छ । खाडी राष्ट्र मलेसिया, दक्षिण कोरिया, जापान जस्ता मुलुक युवा शक्तिको रोेजगारीको लागि गन्तव्य हुँदै आएकोमा अहिले युरोपका विभिन्न मुलुकहरूमा पनि नेपाली श्रमिकको पहुँच बढिरहेको छ । भारतमा मौसमी अर्थात सिजनेबल रोजगारीमा जाने र चाडपर्व, भैपरी आउने परिवारको गर्जो टार्ने प्रचलन त विगतदेखि चलिनै रहेको छ । विदेसिनु युवाको ताँतीमा अहिले विद्यार्थी भिसामा जानेको सङ्ख्या अत्यधिक बढिरहेको छ । प्लस टु को शिक्षा हासिल गरेका युवा काम गर्दै पढ्ने उद्देश्यले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत लगायत विश्वका विकसित मुलुकलाई गन्तव्य बनाउने गरेका छन् । काम  गर्ने र पढाईको बहानामा वार्षिक झण्डै ८ लाख युवाले मुलुक छाड्नाले गाउँघर युवाविहीन बन्दै गएका छन् । प्लस टु पछिको अध्ययन गर्ने विद्यार्थीको अभावमा उच्च शिक्षा पढाउने कलेजहरू ताला लाग्ने अवस्थामा पुगेका छन् । त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायमा विद्यार्थी भर्ना अत्यन्तै न्यून भएको र कतिपय विषयमा शून्य भएकाले प्राध्यापकहरूले हाजिर मात्र गरेर तलब खाइरहेका छन् । 

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार गतवर्ष मात्र १ लाख १० हजारभन्दा बढी विद्यार्थीले विश्वका १ सय ११ वटा मुलुकहरूमा पढ्न जान “नो अजेक्सन लेटर” लिएका थिए । यो तथ्याङ्कले एकातिर युवा पलायनको अवस्था झल्काउँछ भने अर्कातिर अर्कै रुपैयाँ अध्ययन खर्चको नाममा बाहिरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोविता गौतमले विकसित मुलुकमा जस्तै घण्टाको हिसाबले काम गर्ने र ज्याला पाउने नियम हाम्रोमा पनि हुनु प¥यो भनेर संसदमा कुरा उठाएकी थिइन् । अध्ययन गर्ने विद्यार्थीका लागि घण्टाको आचारमा पारिश्रमिक पाउने कुरा सुन्दा राम्रो लागे पनि हाम्रोमा त्यो अनुसारको कामको व्यवस्था पनि त हुनु पर्‍यो । नियमित रोजगारी गर्नेले रोजगारी गुमाएर अलपत्र परेको अवस्थामा घण्टाको नियम त टाढाको विषय भयो । युवा पलायनको अवस्था कहाली लाग्दो भए पनि मुलुकको जिम्मा लिनेहरूले समय समयमा चिन्ता व्यक्त गर्दै भाषण गर्ने तापनि युवालाई स्वदेशमै रहेर केही गर्ने भरपर्दो उपाय सुझाउन सकेको देखिदैन । युवा स्वरोजगारको नाममा अर्थमन्त्रीको भाषणमा केही शब्द खर्च हुने गरेता पनि त्यो केवल भाषणको फुलबुट्टा मात्र हुने गरेको छ । मुलुकमा भएका उद्योगधन्धा कलकारखाना सिध्याएर वेरोजगारीको अन्त्य गर्छु भन्नु आफैमा झुटको खेती बाहेक केही होइन भन्ने प्रष्ट हुन्छ ।

विगतमा काठमाडौं उपत्यकामा मात्र गलैंचा र गार्मेन्टमा रोजगारी गर्नेको सङ्ख्या ठूलो सङ्ख्याले रोजगारी पाएका थिए । गाउँघरबाट सहर छिर्ने विद्यार्थी देखि लिएर रोजगारको खोजी गर्नेको पहिलो गन्तव्यका रूपमा रहेका यी उद्योगहरू मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनासँगै मासिएर गएका थिए । उद्योग धन्धाहरुमा समेत भएको अत्यधिक राजनीतिकरण, मजदुर हड्ताल जस्ता कुराले नेपालमा लगानी गर्ने लगानीकर्ता र सामान किन्ने वायरहरू अन्यत्रै मोडिए । नेपालसँगै तयारी पोशाक (गार्मेन्ट) को उत्पादन थालेको बंगलादेश आज चीनपछिको विश्वकै ठूलो गार्मेन्ट निर्यातकर्ता बनेर २० लाख बढीलाई यस क्षेत्रमा रोजगारी दिन सफल भएको छ । मेची देखि महाकालीसम्म विस्तार हुँदै गरेको उद्योग धन्धाको जग भत्काएर ठूलो अपराध गर्नेहरू अहिले पनि मुख मिठ्याँउदै सत्तामा बसेर बेरोजगारी अन्त्यको गफ गरेर खाइरहेका छन् । जनताले दण्डित र बहिष्कृत गर्न योग्य पात्रहरूकै नीति, निर्माण तहमा हालीमुहाली चलेसम्म रोजगारी सिर्जना र युवा पलायनको अवस्थामा फेर बदल आउने देखिदैन । 

बेरोजगारी समस्याले निम्त्याएको युवा पलायनले हाम्रो देशको सामाजिक संरचनाको जरोसम्मै हल्लिन पुगेको छ । संयुक्त परिवारको अवधारणा टुटुदै गएको छ । विदेश जाने र फर्किनेले गाउँघर छोडेका कारण पहाडका गाउँ, बस्ती युवाविहीन र खेतबारी बाँझै रहेका छन् । कृषि मजदुर र विकास निर्माणमा खटिने मजदुरको अभाव छ । शहरी क्षेत्रको घनत्व र अव्यवस्थित बसोबास तीव्रगतिमा बढेको छ भने शहरका घरहरू पनि युवा नभएका वृद्धाश्रम जस्ता भएका छन् । सन्तान उत्पादन गर्ने उमेरका दम्पती लामो समय अलग बसेका कारण जनसङ्ख्याको सन्तुलन बिग्रिएको छ । बाँझोपना बढ्ने र निसन्तान हुने क्रम बढेको कुरा डा. भोला रिजाल बताउँछन् ।

लामो समय विदेश बसेर फर्किएका कतिपय युवाले सन्तान उत्पादन गर्ने क्षमता गुमाएको भनाई समेत डा. रिजालको रहेको छ । यसै गरी पति, पत्नी बीच अविश्वासको वातावरण पैदा भएर डिभोर्स गर्नेको सङ्ख्या समेत अत्यधिक बढिरहेको छ । काम गर्ने युवा काम नपाएर श्रमविहीन हुँदा विभिन्न खाले सामाजिक अपराध र विकृतिमा युवाहरू फस्ने गरेका छन् । मदिराजन्य पदार्थ, लागु पदार्थको सेवनले युवा शक्तिको जोश, जाँगर र ऊर्जालाई समाप्त पार्दै लगेको छ । राष्ट्र निर्माणमा लाग्नु पर्ने तरुण जनसङ्ख्याको पलायन र बढ्दै गएको चरम निराशाप्रति मुलुकले तत्काल सम्बोधन गर्ने उपाय नखोज्ने हो भने भोलिको दिन अझ भयावह र कष्टकर बन्दै जाने निश्चित छ ।