प्रभातराज पाण्डे,

राजनीतिज्ञलाई मार्गदर्शन गर्ने काम राजनेताको हो। लाज नमान्ने हो भने नेपालमा आज कोही पनि राजनेता (स्टेटसम्यान) देखिँदैनन्। तसर्थ राजनीति अभिभावकबिहीन बनेको छ।

क्रिस्चियन धर्मग्रन्थ बाइबल भन्छ– “पतनका लागि धन नै पर्याप्त हुन्छ।”अर्थात्, धनार्जनको प्रचुर प्रलोभनमा परेर जनार्दन (भगवान) पनि बदनाम हुन सक्छन्। नेपाली राजनीतिको दृश्य हेर्दा पैसा, पद, प्रतिष्ठा र पावर (शक्ति) जस्ता कारणले पचासौँ वर्ष राजनीति गर्नेहरू पनि दुर्गन्धित भएका देखिन्छ।

भगवान कृष्णले गीतामा “तृष्णा त्याग” भनेका छन्। यो सजिलो छैन। सत्य के हो भने मानव जीवनमा लोभ, घृणा र रोगले धेरै जना आक्रान्त छन्। सनातन धर्मको इतिहास रोचक र रहस्यमय छ। वेद, रामायण, गीता र महाभारत जस्ता ग्रन्थमा मात्रै होइन, धेरै अन्य धर्मका अनुयायीले आशक्ति, लोभ र तृष्णा मानवीय कमजोरी भएको स्वीकार गरेका छन्। यही कारण अवसर पाए पनि धेरै जिम्मेवार मानिस गैरजिम्मेवार बन्ने गरेका पाइन्छ।  

राष्ट्र र जनताको हित गर्ने प्रण गरेका नेपालका पचासौँ चर्चित नेता आज सडकमा एक्लै हिँड्न नसक्ने अवस्थामा छन्, जनआक्रोशको डरले। राजगद्दी र राजदरबारबाट अलग बसेका मानिस मेचीदेखि महाकाली जनताको भिडमा रमाउन सक्छन् तर “जनताका नेता” भनिएका कैयौँ मानिस ठूलो सुरक्षा घेरामा पनि भयाक्रान्त देखिन्छन्। किन ? किन उनीहरू शक्तिशाली बनेर पनि इमानदार, साहसी र लोकप्रिय हुन सकेनन्रु आत्मसमीक्षा, आत्मनिरीक्षण र आत्माआलोचना गर्नुपर्दैन ?

राजा महेन्द्र राष्ट्रनायक मात्रै नभएर राजनेता होइबक्सन्थ्यो। राजा महेन्द्रले ५३ राष्ट्रसँग कूटनीतिक सम्बन्ध बनाएर नेपाल र नेपालीलाई संसारमा परिचित गराएको, राष्ट्रसंघको सदस्य बनाएर त्यहाँको सुरक्षा परिषद्मा स्थान दिलाएको, चीन र भारत जस्ता परस्पर विरोधी राष्ट्रसँग सन्तुलित कूटनीतिक सम्बन्ध राखेको, राष्ट्रहितमा धेरै महत्वपूर्ण कदम चालेको धेरै उदाहरणहरु छन् ।

भनिन्छ, राजनीतिज्ञहरू आगामी चुनाव मात्रै हेर्छन् तर राजनेताले भविष्य, भावी पुस्ता र सुदूरसम्म विचार गरेर काम गर्छन्। स्विट्जरल्यान्डमा राजा त्रिभुवनको स्वर्गवास भएपछि राष्ट्रको बागडोर महेन्द्रले सम्हाल्नुपर्ने भयो। २००७ सालमा राणाशासनबाट स्वतन्त्र भए पनि हजारौँ चुनौती थिए। राष्ट्र आर्थिकरूपले कमजोर थियो। अहोरात्र, अहर्निश र अथक परिश्रम गर्ने राजा महेन्द्रले स्वदेशका कुनाकुना र कतिपय राष्ट्र भ्रमण गरेपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था बुझ्न सहज भयो। अमेरिका र ब्रिटेनलगायतका राष्ट्रले महेन्द्रको भव्य स्वागत गरे।

जब राजनीति गर्नेहरू पराजित, पराधीन र परावलम्बी हुन्छन् तब राष्ट्रिय चरित्र नै सन्देहको घेरामा पर्ने गर्छ। “किङ इन पार्लियामेन्ट” भनिने ब्रिटेनको संसदीय प्रणाली जस्तै २०४७ सालको संविधानले राजा, सरकार र संसद् ९जनप्रतिनिधि० मिलेर राष्ट्रिय हित बचाउनुपर्छ भन्ने अख्तियार प्रदान गरेको थियोे। नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले संविधान बनाउने काम गरेको थियोे। प्रधानन्यायाधीश रहिसक्नुभएका विश्वनाथ उपाध्यायको संयोजकत्वमा तीन महिनामा संविधान बन्यो। दुर्भाग्यवश, नेपाली कांग्रेस नै संविधानविरुद्ध उभियो। सशस्त्र विद्रोहको नाममा सिमानापारिबाट तालिम, हतियार, पैसा र निर्देशन लिएर आउनेहरूले तहसनहस बनाए। त्यो नेपालविरूद्ध छद्म युद्ध (प्रोक्सीवार) थियो।

गणतन्त्र स्थापना गरेपछि नेपाल राष्ट्र कमजोर हुन्छ भन्ने बुझेका विदेशी शक्तिले राजतन्त्र उन्मूलन गरेर गणतन्त्र, संघीयता र धर्म निरपेक्ष ९सेक्युलर० जनमत बनाउन खोजे पनि जनताले त्यसको विरोध गरिरहेका छन्। लामो कुरा गरिरहनै पर्दैन, “गणतन्त्र चाहिन्छ कि चाहिँदैन” भनेर स्वतन्त्र ढंगले जनमत बुझ्ने हो भने अधिकांश जनताले अस्वीकार गर्ने निश्चित छ।

२००७ सालपछि पटकपटक सरकार परिवर्तन भएर विकासको गति अल्मलिएको अवस्थामा राजनीतिक अस्थिरता फैलाउने काममा विदेशी शक्ति सक्रिय थिए। अहिले जस्तो हाकाहाकी थिएन तर राजनीतिक दलहरूलाई प्रयोग गरेको प्रमाण फेला परेपछि राजा महेन्द्रलाई त्यो सह्य भएन । भारतले नेपाली सेनाको संख्या घटाउन दबाब दियो। उत्तरी नाकाहरूमा चीनलाई लक्षित गरेर राखिएका भारतीय सैनिक हटाउन राजा महेन्द्रलाई कति कठिन भयो होला, त्यो अनुमान गर्न सकिन्छ।

राष्ट्रको संरक्षण, संवद्र्धन र सम्पोषणका लागि मात्रै होइन, स्थिरता, शान्ति र परराष्ट्र नीतिमा सन्तुलन राख्न राजतन्त्र नै चाहिने रहेछ भन्ने कुरा युवा वर्गले पनि आत्मसात गरिरहेकाले गणतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो। कमजोर राष्ट्र संयुक्त राष्ट्रसंघको खातामा असफल राष्ट्रका रूपमा दर्ता भएपछि विदेशी सेना पस्ने संभावना प्रवल हुन्छ। नेपाली जनतालाई अनेक जात, दल, गुट आदि झिनामसिना कुरामा अल्मलाउने र एकताबद्ध “नेपाली” हुन नदिने खेल हामीले अझैसम्म बुझ्न सकिरहेका छैनौँ।

राजतन्त्र मान्दिन भनेर हठ र शठ चरित्र प्रदर्शन गरिरहने हो भने एकदिन नेपाल पराधीन बन्ने खतरा छ। त्यो अवस्थामा हामीले विदेशीलाई राजा मान्ने कि नेपाली राष्ट्रनायकरु विकल्प छ तर विदेशीलाई राष्ट्र सुम्पेको अवस्थामा भावी सन्ततिलाई हामीले के जवाफ दिनेरु कहिले सोच्नुभएको छ?

ठट्यौली गरेर बस्ने बेला छैन। राज्यसंयत्रका सबै अवयव पतीत देखिन्छन्। राजनीति गर्नेहरूमा सैद्धान्तिक मतभेद होइन, भागबन्डा नमिलेपछि झगडा गर्ने प्रवृत्ति देखिन्छ। आदर्श, नीति, सिद्धान्त, मूल्य÷मान्यता सबै पुस्तकमा थन्क्याएर दलहरू आफ्नो मादल बजाइरहेका छन्। यसकारण राष्ट्र जोगाउने हो भने २०४७ सालको संविधान सक्रिय गराउनेबाहेक अरू उपाय देखिँदैन।

ज्ञानको स्रोत मानिने ब्रिटानिकाका अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, कर्मचारीतन्त्र आदि शिथिल हुँदा अराजकता बढ्दै जान्छ। भ्रष्टाचार, बेरोजगारी र बेइमानीले राजनीतिक प्रणालीलाई नै बर्बाद पार्छ।

महाभारतमा यक्ष प्रश्नहरूका उत्तर खोज्दै युधिष्ठिरलाई यक्षले प्रश्न गर्छन्, “राष्ट्र कहिले मर्छरु” युधिष्ठिर उत्तर दिन्छन्, “जब अराजकता बढ्छ, तब राष्ट्र सजीव रहँदैन।” नेपालीले बुझ्नुपर्छ, हामी सुगौली सन्धिपछि राष्ट्र कमजोर भएकै कारण निरीह बन्दै आए पनि अहिले जस्तो कहिले पनि शिथिल बनेका थिएनौँ।