काठमाडौं - नेकपा (एमाले) कोशी सरकारबाट बाहिरिएको छ।

नेकपा (एमाले)का तर्फबाट कोशी प्रदेश सरकारमा बिना विभागीय मन्त्री बनेका रामबहादुर रानामगरले शनिबार बिहान पदबाट राजीनामा दिएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो। मुख्यमन्त्री केदार कार्कीको निवासमा पुगेर रानाले राजीनामा बुझाएका हुन्। 

गठबन्धनबाट विद्रोह गरेका नेपाली कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ जना प्रदेशसभा सदस्य (सांसद)को समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले गठबन्धनलाई भित्र्याएपछि एमालेले सरकार छाडेको हो। योसँगै केन्द्रीय गठबन्धनविपरीत प्रदेशमा बनेको कांग्रेस र एमालेको गठबन्धन टुटेको छ। 

कोशीमा गठबन्धनका अन्य दल बिना कांग्रेस र एमालेको मात्रै सरकार बन्नुपर्ने एमालेको ‘बटमलाइन’ थियो। तर, मुख्यमन्त्री कार्कीले एमालेसँगको सहमति तोड्दै माओवादी र नेकपा (एकीकृत समाजवादी)लाई शुक्रबार सहभागी गराएपछि एमाले सरकारबाट बाहिरिएको हो। माओवादीबाट गणेश उप्रेती र समाजवादीबाट कमलप्रसाद जबेगू मन्त्री बनेका छन्। माओवादीलाई सामेल गराए सरकारबाट बाहिरिने चेतावनी एमालेले दिँदै आएको थियो। 

एमालेसँगको सहमति मुख्यमन्त्रीले कार्यान्वयन नगरेपछि आफूले पदबाट राजीनामा दिएको रानाले बताए। उनले शुक्रबार नै राजीनामा बुझाउन खोजेपनि समय अभाव भएकाले भोलिपल्टसम्म पर्खनु परेको सुनाए। 

‘एमालेले प्रदेशको अस्तव्यस्त राजनीतिलाई निकास दिन खोजेको थियो। त्यही भएकाले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गर्‍यौं’ रानाले भने, ‘तर, अहिले हामी आफैंले राजीनामा दिनुपर्ने अवस्था आएको छ। उहाँ (केदार कार्की)ले गठबन्धनमै रहन्छु भन्ने आशय व्यक्त गरेपछि बाधा गर्न चाहेनौं।’ आफूहरुका कुरा मुख्यमन्त्रीले मान्न छाडेको र सबै हिसाबले अनुकूल नहुने बुझेपछि एमाले सरकारमा बसिरहनुको औचित्य नभएको रानाको भनाइ छ। 

पद तथा गोपनीयताको शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सहमतीय सरकार गठनका लागि आह्वान गरेका थिए। सर्बदलीय सरकार गठनको उनको प्रयासमा एमालेले साथ नदिने बताउँदै आएको थियो। यसअघि संविधानको धारा १६८ को उपधारा २ र उपधारा ३ अनुसार दुईपटक मुख्यमन्त्री बनेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि प्रदेशसभाको अंकगणितका आधारमा सहमतीय सरकार निर्माणको आह्वान गरेका थिए। 

त्यतिबेला उनको आह्वानलाई अस्वीकार गरेका अहिलेका मुख्यमन्त्री केदार कार्कीले एमालेकै समर्थनमा उपधारा ५ बमोजिम आफू मुख्यमन्त्री बनेपछि भने सहमतीय सरकार निर्माणमा जोड दिएका थिए। गठबन्धनलाई सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने गठबन्धनको दबाबले कार्की दोहोरो चेपुवामा परेका थिए। सत्तारुढ गठबन्धन दलसँग शुक्रबार छलफल गरेपछि उनी अन्ततः एमालेलाई धोका दिँदै गठबन्धनमा फर्किएका छन्। 

कार्कीले धोका दिएपछि एमालेले पनि सरकार छाडेको हो। कार्कीले भारी विश्वासको मत पाउनसाथ एमाले सरकार बाहिर पुग्ने आंकलन गरिएको थियो। एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अब सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइने बताए। ‘एमालेले गठबन्धन चिन्दैन। मुख्यमन्त्री मात्रै चिन्छ,’ उनले भने, ‘हामीले गठबन्धनलाई नभइकन केदार कार्कीलाई समर्थन गरेका हौं। उहाँले एमालेसँगको समझदारी पालना गर्नु भएन।’ भर्खरै सरकार छाडिएको बताउँदै भण्डारीले सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा आगामी सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय लिइने उल्लेख गरे। 

प्रदेशसभा बैठक पनि सोमबारकै लागि बोलाइएको छ। प्रदेशसभा सुरु हुनुअघि बस्ने एमाले संसदीय दलको बैठकमै निर्णय गरेर पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भण्डारीले बताए।