विष्णु भट्टराई,

काठमाडौं – आधा शताब्दी बढी भयो सुस्तामा बस्ती बसेको । ०२२ सालमा आइपुगेका पाँचसय भन्दा बढी परिवारले सुस्ताको घना जंगललाई आवाद गराए । युगौं देखि बाँझो भूमिलाई तिनै परिवारले उर्वर बनाए । बालीनाली लगाएर हराभरा पारे । सुस्तामा आइपुग्ने पहिलो पुस्ताले निर्जन भूमिमा समाज बसायो । त्यसयताका चारपुस्ताले सुस्ता बनाउन मेहनत गरिरहे । तर यो नयाँ बस्तीको जीवन कथामा अनेक हण्डर ठक्करहर जोडिएका छन् । आजसम्म आइपुग्दा यो सिमान्त बस्ती आफैमा सास्तीको अर्को नाम भएको छ । 

नारायणी नदीमा गण्डकबाँध बनेपछि साँधमा अवस्थित यो भूमिका बासिन्दाले अनेकौ पटक अनेक दुःख झेलिरहेका छन् । ०२२ सालमा राजा महेन्द्रले बस्ती बसाउने भएपछि विभिन्न ठाउँबाट फरक फरक रहनसहन भएका परिवारहरु सुस्ता आइपुगेका थिए । किशोर गुरुङले बसाई आइपुगेका पाँचसय परिवारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा सुस्ताको जंगल क्षेत्रलाई आवाद गरिएको थियो । यहाँ आइपुग्ने मध्ये भूपू सैनिकहरुको संख्या उल्लेख्य थियो । विभिन्न जातजाति, धर्म, संस्कृतिका मानिसलाई सरकारी तवरबाटै जग्गा उपलब्ध गराइएको थियो । 

सरकार चाहन्थ्यो साँध छेउ बस्ती बसाएर देशको सीमा रक्षा हुन्छ । यहाँ आइपुग्नेहरुलाई पनि लागेको थियो, सुस्ता आवादीले उनीहरुको जिन्दगीका अप्ठ्याराहरुलाई सहज बनाई दिनेछ । तराईकै आदिवासी थारु, पहाडी मूलका दलित तथा जातजाति लगायतको समुदाय मिश्रित ढंगले सुस्तामा बसोबास गर्न थालेको थियो । बस्ती बसेसँगै सुनसान सुस्तामा मान्छेहरुको चहलपहल र आउजाउ बढ्दै गयो । गाउँमै निम्नमाध्यमिकसम्म पढाई हुन्थ्यो । चिठी आदानप्रदान गर्न हुलाक कार्यालय थियो । जनताको जिउधनको सरक्षा गर्न प्रहरी पनि राखिएको थियो । प्रशासनिक र राजनीतिक इकाइका रुपमा गाउँ पञ्चायत थियो । ठूलो हाटबजार लाग्थ्यो । मान्छेहरु आफ्नो उब्जनी लगेर त्यहाँ बेच्थे र आवश्यक सामान किन्थे । भारतीय नागरिकहरु समेत व्यपार गर्न सुस्ता आउँथे । 

सुस्ता गाउँपञ्चायतका नौवटा वडा थिए । ०३१ सालमा यहाँका स्थानीयलाई लालपुर्जा दिइएको थियो । हुन त ०२० सालमै लालपुर्जा दिने भनेर नापीका कर्मचारी पुगेका थिए । तर नापी विभागका कर्मचारीलाई भारतीय पुलिस प्रशासनले पक्राउ गर्‍यो । र बेतिया जेलमा हालिदियो । एक बर्षपछि नेपाल भारतको ‘को अपरेसन’ मिटिङ बस्यो र ०२९ सालमा सुस्ताको जग्गा नापी भयो । सुस्ता गाउँ अघिल्तिरको नारायणी नदीको बहाव अहिलेजस्तो थिएन । मान्छे नदी तर्न सक्थे । डुँगाको आवश्यकता नै थिएन । नारायणी नदीको किनारमा ठूलो गौचरन थियो । स्थानीयहरुले गाईबस्तु पाल्थे र चराउनलाई नारायणी नदी किनारको गौचरण लैजान्थे । डुँगामा पार गर्न अहिले झण्डै आधाघण्टा लाग्ने नारायणी त्यतिबेला सानो खोलो थियो । गण्डक व्यारेक बनेपछि नारायणीले सुस्तालाई पीडा दिए पनि सुस्ताबासी आत्तिएका थिएनन् । गाउँमा थोरबहुत सेवा सुविधा उपलब्ध थियो । दुःख सुख साट्न मान्छेहरु थिए । 

०३४ मा नारायणीमा उर्लिएको बाढीले सुस्ताको खुशी बगायो । नौ वडामा फैलिएको सुस्ता सोत्तर भयो । सुस्ताका बासिन्दा खोलाबारिको नेपाल आए । सरकारले रासन लत्तकपडा दियो । बाढी पीडितहरुले नजिकैको केउलाउती, पर्सैया, टटियातिर जंगल फाँडे । जग्गा पाइने आशले बाढीपिडितले दिनरात नभनी जंगल फँडानी गरे । तर नागरिकता हुनेले मात्रै जग्गा पाए । नहुनेको बसोबास विचल्ली भयो । जग्गा नपाउनेहरु पुनः सुस्ता फर्कन बाध्य भए । सुरुमा ३५ घर फर्किएको थियो । अहिले २७० भन्दा बढी छन् । पुरानो चहलपहल सहितको सुस्ता सखाप बनिसकेको थियो । त्यहाँ मान्छेहरुले साना तिना झुप्रा बनाए । उब्जाउ जग्गा बालुवाले ढाकको थियो । तैपनि तरकारी खेती सुरु गरे स्थानीयले । पहिले जस्तो उब्जनी हुँदैनथ्यो । उब्जिएको तरकारी बेच्न उनीहरु भारतीय बजार जान्थे । सुस्तामा विस्तारै मान्छेहरु थपिन थाले । ०३६ सालको चुनाव अघि सुस्तालाई त्रिवेणीमा लगेर गाभियो । सुस्तालाई ४ नम्बर बनाएर त्रिवेणी–सुस्ता गाउँ पञ्चायत बनाइयो । 

पहिलेका सेवासुविधाहरु केही पनि भएनन् सुस्तासँग । न बजार थियो न पुलिस । बस, चकमन्न ठाउँ थियो । त्यसपछिका दिनहरुमा सुस्ताका जनता लामो समयसम्म कहिले बाढी, कहिले भारत त कहिले आफ्नै राज्यबाट पीडित बनिरहे । यो गाउँलाई ०३४ सालपछि पनि बाढीले तनाव दिन छाडेन । सानातिना बाढी गाउँमा पसिरर्‍यो । तर उठीबास चाहिँ लगाएन । ०६० पछि यो बस्ती ले भारतीय सीमा सुरक्षा बल एसएसपीको हैरानी सहनुपर्‍यो । एसएसबीले घरघरमा आएर गाली गर्दथ्ये, थर्काउँथे । इन्डियामा आएर किन बसेको भन्दै घरघर गएर एसएसबीले थर्काउँथे र पिटाइ समेत गर्दथे । महिलाहरुमाथि हातपात गर्न पछि पर्दैनथे । एसएसबीका जवानहरु । ०६२ मा उखुबारीमै एसएसबीले आगो लगाईदिएको घट्नाले अहिले पनि सुस्तावासीको मन कुँडिएर आउँछ । नेपालकै भूमिमा बनाएको कल्भर्टका बारेमा ०७५ भदौमा एसएसपी र सुस्ताबासीबीच ठूलो विवाद भयो । कल्भर्ट बनाउन बन्द नगरे गोलीले उडाईदिने एसएसबीले धम्की दियो । नेपालको भूमिमा एसएसबीको यस्तो गर्जन ?

४० हजार ९ सय ८० हेक्टरमा फैलिएको सुस्ता अहिले ७ हजार हेक्टरमा मात्रै सिमित भएको छ । सुस्ताको अहिलेको गाउँबाट १७ किलोमिटर दक्षिणसम्म थियो सुस्ताको सिमाना । तर अहिले डेढ किलोमिटर परसम्म पनि बाँकी छैन । त्यहाँ सीमा स्तम्भ छैन । जंगे पिलर पनि गायब गरिएको छ । नेपाली भुमि भएपनि १९ हजार ९ सय ८० हेक्टर भारतले अतिक्रमण गरिसकेको छ । सुस्तामा ०६३ देखि नेपाली सेना बस्न थालेपछि भने एसएसबीको ज्यादती कम भएको र सीमा अतिक्रमण पनि रोकिएको अनुभव छ स्थानीयबासीको । सुस्ता नवलपरासीको दक्षिणपूर्वी त्रिवेणी अन्तर्गतको गाउँ हो, यहाँ करिब ३५० घरधुरी सहित २६ सय जनसंख्या छ । सुस्ताबासीले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता गराउन संघर्ष समिति नै बनाएर धेरै बर्ष देखि लडिरहेका छन् । संघीय सरकारको आँखा खोल्न राजधानी काठमाडौं आएर पटक पटक अनसन समेत बसिसकेका छन् । तर पनि सुस्ता समस्या जहिँको त्यही छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा नेपालले सुस्ता समस्याको उठान गरेको सुन्नमा आएको छैन ।