
प्रभातराज पाण्डे,
जब मानिसले सर्वसत्तावादी, सर्वाधिकारी तथा निरंकुश बन्ने प्रयास गर्छ, तब ऊ आफैँलाई ईश्वर र सर्वज्ञ ठान्न थाल्छ । धर्मको अस्तित्व मान्दिनँ भन्न थाल्छ । धर्मका आधारमा राज्य चल्दैन भन्न थाल्छ । टिनको सानो छाप्रोमा जन्मेको दरिद्रको छोरो कालान्तरमा राजासँग काँध जोड्ने हैसियतमा पुगेपछि रास्पुटिनले राजालाई पनि थर्काउन थाले । ‘सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति, घोच्ने ती जंगली काँडा पहिले नै तिखा कति’ भनेर नैतिक दृष्टान्त कवितामा कवि शिरोमणि लेखनाथले अकाट्य प्रमाण र प्रमेह प्रस्तुत गरेका छन् । तर दुष्टको भविष्य लामो हुँदैन । रास्पुटिन पनि ४७ वर्षमै मारिए, परम्पराको पालना गर्नेहरूमध्ये नेपालमा कैयन् ज्ञानीहरू विशिष्ट तहको अधिकृतसम्म भएका छन् तर रास्पुटिनहरूलाई मन्त्री र प्रधानमन्त्री मान्नुपर्ने पीडा बोकेर ती सेवानिवृत्त हुने गर्छन् । नेपालमा पनि कतिपय रास्पुटिनहरू क्षमताले होइन, भाग्यले सिंहदरबार पुगेका छन्।
उल्लुले सूर्य छैन भन्नु र ‘प्रगतिशील हुँ’ भन्ने कतिपयले ईश्वर र धर्मको अस्तित्व अस्वीकार गर्दै ‘नेपाल धर्म निरपेक्ष भइसक्यो’ भन्नु उस्तै कुरा हो। असल मानिसको जीवन छलकपटमय हुँदैन । उनीहरू सरल हुन्छन् । देवकोटा लेखनाथ, सिद्धिचरण धेरैको जीवन सरल पाइन्छ । नेपाल सबै जात र प्राचीन धर्म–संस्कृतिको साझा आँगन हो भन्ने बुझेका यस्ता सुसंस्कृत मानिस उदार धारणा राख्छन् । अर्को जातलाई हेपेपछि आफ्नो जात (सम्पन्न) बन्छ भन्ने फिरंगीको विकृत चिन्तन बोक्ने कतिपय एनजिओजीवीहरू आज आगो झोस्दै हिँडेका छन् । धेरैजसो राजनीतिक दल विदेशी दातृनिकायबाट सञ्चालित भएकाले ती ठूला साना सबै दल हिन्दु, बौद्धलगायतका पुराना धर्म तथा प्राचीन संस्कृति मास्न खोज्नेहरूप्रति नरम छन् । तर बहुसंख्यक जनता धर्म–संस्कृतिप्रति प्रगाढ आस्था राख्छन् भन्ने डा. जगमान गुरुङलगायत धेरैको तर्क छ।
भोटिङ मेसिनका रूपमा प्रयोग गरेर नेताले चुनावका बेलामात्र सम्झने गर्छन् जनतालाई । दलका उच्च पदमा पुगेर सिंहदरवारका बडाहाकिम हुनेहरू राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा उनको जन्मदिनलाई महत्वहीन ठान्छन् । ‘कार्ल मार्क्स मेरा देवता हुन्’ भन्छन् । ‘ईश्वर छैन’ पनि भन्छन् । उच्च पदमा पुगे पनि ईश्वरको नाममा शपथ ग्रहण गर्नु पाप ठान्छन् । ईश्वर छैन भन्ने, धर्मका आधारमा काम गर्दिनँ भन्ने अनि कार्ल मार्क्स, माओ, स्टालिन र लेनिनलाई ईश्वर मान्नु ढोग, पाखण्ड र अभिमान नभए के हो ? ईश्वर र धर्म नमान्ने सिंहदरवारका रास्पुटिन र सम्धी साहेबहरू पार्टीका ‘सरदार’ मात्र होइनन् । लाखौँ ‘धार्मिक’ नेपालीको समर्थन पाएर त्यहाँ पुगेका प्राणी हुन् । उनीहरूले धर्म, इतिहास र जनताको अपमान गर्दा केही ‘कार्यकर्ता’ त हाम्रा मालिकले सही कुरा बोले भनेर खुसी होलान् तर लाखौँ जनताको छाती चसक्क दुख्छ । गाउँका जाली मुखियाले जस्तो तुक्का जोडेर, कथा हालेर, राष्ट्रवादको ‘रेशम फिरिरी।।।’ सुनाएर एक दुई वर्ष चल्न सक्छ, सधैँ चल्दैन।
हामीलाई उदाहरण दिएर मान्छेहरू ‘कस्तो उल्लु’ भनेर गाली गर्छन् । घामका कुरा गर्नेहरू सबै उल्लु हुन् ।’ उल्लु पिताले दर्शन छाँट्यो । सूर्यको अस्तित्व नै स्वीकार गरेन उसले । चार वेद, उपनिषद्, गीता, महाभारत, नीतिशास्त्रहरू, हजारौँ वर्ष पुराना धर्मग्रन्थ सबैले धर्म, देवीदेवता र ती सबैसँग सम्बद्ध सत्यलाई स्वीकार गरेका छन् । धर्म छैन, ईश्वर छैन, धर्म भनेको अफिम र फाल्तु कुरा हो, म धर्मका आधारमा चल्दिनँ भनेको के हो र उल्लुले सूर्य छैन भन्नु र ‘प्रगतिशील हुँ’ भन्ने कतिपयले ईश्वर र धर्मको अस्तित्व अस्वीकार गर्दै ‘नेपाल धर्मनिरपेक्ष भइसक्यो’ भन्नु उस्तै कुरा हो । नेपाल धार्मिक राष्ट्र नै हो । यो राष्ट्र धर्मनिरपेक्ष हुनै सक्दैन । नेताले आफ्ना निधारमा ‘धर्मनिरपेक्ष’ भन्ने ‘ट्याटु’ खोपे पनि हुन्छ तर जनता त्यस्ता अधर्मी र विधर्मीको पक्षमा लाग्दैनन् । जनताले केही नेतालाई ‘राष्ट्रवादी’ मानेको राष्ट्रका धर्म, संस्कृति, सिमाना, परम्परा, इतिहास र मूल्य मान्यताको रक्षक बनाउनका निम्ति हो । तर ‘धर्म मान्दिनँ’ भन्नेहरू राष्ट्रवादी हुन सक्दैनन् । किनभने हाम्रो राष्ट्रियता र राष्ट्रवाद, धर्म, संस्कृति, परम्परा, इतिहास सबैसँग गाँसिएको छ । दलहरू नभए पनि राष्ट्र मर्दैन । प्रजातन्त्र मर्दैन । तर धर्म र संस्कृति मासियो भने राष्ट्र रहँदैन । विनास हुन्छ।
दिल्लीमा गएर नेपालको तत्कालीन राज्यसत्ताविरुद्ध बिलौना गर्ने सात दलका नेताले गरेको काम सही थियो कि गलत र भारतमा बसेर नेपालविरुद्ध हतियार उठाउँदै सत्र हजार मानिस मार्नु उचित थियो कि अनुचित र त्यस्तो राष्ट्रवादी थियो कि राष्ट्रघाती, जनघाती र रास्पुटिनमात्र सही र अरु साना पादरी गलत ठहर्याए झैँ केन्द्रमा बस्नेले ‘बाह्रबुँदे’ सम्झौता र महाकाली सन्धि गरेको ठीक कि बेठीक र जनतालाई जवाफ दिनुपर्छ । ‘साना’ नेताले त्यसरी नै विदेशी नेताका सामुन्ने ‘जय गुजरात के पावन माटी।’ भन्दै आरती गर्दा केन्द्रका नेताहरूकै पदचिह्न पछ्याएको देखिन्छ । किनभने २०६३ सालभन्दा पहिले विदेशी हस्तक्षेप यति नांगो थिएन । स्वागत गरिन्थ्यो विदेशी नेताको तर भजन गाउने चलन थिएन । सन् १९५० को सन्धि भन्दा हजारौँ गुणा राष्ट्रघाती दिल्ली सम्झौता–२ आजको यावत् राजनीतिक विकृतिको जरो हो । विष रोपेपछि त्यहाँ अमृत कसरी फल्छ र तसर्थ, राष्ट्रवादी हुँ भनेर हुँकार गर्नेहरूले दिल्लीको ‘भाइसाहेब’ हुँदा गर्व गर्ने होइन, महाकाली र दिल्ली सम्झौता–२ रद्द गरेर सगर्व इतिहासमा नाम लेखाए हुन्छ।
२०६३ सालपछि लाखौँ भारतीयलाई नवप्रवेशी नागरिक बनाउने नागरिकता प्रमाणपत्र रद्द गरेर देखाउनु बहादुरी ठहरिनेछ । भारतसँग झन्झन् आश्रित र निरीह बन्दै गएको कूटनीतिक भूल स्वीकारेर स्वावलम्बनको बाटो देखाए हुन्छ । सक्छन् त्यति गर्न र पचासौँ लाख युवक युवतीको रगत पसिनाले धानिएको अर्थतन्त्रमा उभिएर ‘सरकारले यो गर्नेछ र त्यो गर्नेछ’ भन्ने हावादारी गफ गर्नुभन्दा गरिबका लाखौँ छोराछोरीलाई स्वदेशमै रोजगारी दिएर देखाउन सक्छ ? सरकारले स्वच्छ हावा र पानी उपलब्ध गराएर देखाउन सक्छ र रेल त दश वर्षपछि भए पनि चढुँला, तेलमात्र सस्तो पारेर देखाउन सक्छ र के गर्न सक्छ सरकारले, त्यतिमात्र बोले हुन्छ।
जनताका पीरमर्का, व्यथा र कथा नसुन्ने, उल्टो बाटो बुर्कुसी मार्दै माओवादीका अजेन्डामा कुद्ने, राष्ट्रियतालाई ‘महेन्द्रको राष्ट्रवाद’ मात्र देख्ने, आपसमा गाँड कोराकोर र धोती तानातान गर्न रमाउने कांग्रेसका अदूरदर्शी नेताहरूले आफ्नो बाटो बिर्सेर हिँड्दा दुर्गति भएको छ । सही बाटो हिँडेको भए ‘अधिनायकवाद आयो’ भनेर आज रुनुपर्ने थिएन । कांग्रेसलाई जनताले लाखौँ मत दिए अरु दल रोज्न नसकेर । नेपाली कांग्रेसले राष्ट्रवाद, परम्परावादी शक्ति, धर्म–संस्कृति, परम्परा, प्रगति, स्पष्ट आर्थिक र परराष्ट्र नीति लिएर अभिमानको बाटो त्याग्यो भने उसका पक्षमा अझै पनि जनता उभिन सक्छन् । एक अर्कालाई धक्का दिएर साँघुबाट नदीमा झरेका मूर्ख बोकाहरूको कथा कांग्रेसका पुराना नेताले अवश्य पढेकै होलान्।
राष्ट्रवादी, असल मान्छे राजनीतिमा टिक्न गाह्रो छ । कहिले राजतन्त्र महान् भन्ने कहिले गणतान्त्रिक संविधानको हनुमान बन्दै हिँड्नेहरू आज ‘धोबीका कुत्ता घरका न घाटका’ भनेझैँ निरीह बनेका छन् । तराई टुक्र्याउँछौँ भन्ने नेता र एनजिओकर्मीहरू हुटिट्याउँले आकाश थाम्छु भनेर खुट्टा ठाडो पारेर अवसरवादको बालुवामा सुतेका छन् । हामी बबुरा जनता सिंहदरवारका गफाडी सन्धीहरूका मीठामीठा गफमा रमाएका छौँ । आजको नेपालको राजनीतिक तस्बिर वृद्ध चित्रकारले कुची पुछ्ने थोत्रो कपडा जस्तो छ । बाबु मरेपछि छोराले ‘यो पनि अर्मूत कला रहेछ’ भन्दै प्रदर्शनीमा राखेछ । कला नबुझेका केही दर्शकले भनेछन्– ‘वाह, चित्र भनेको यस्तो पो हुनुपर्छ ।’ हामी त्यस्तै दर्शक बनेका छौँ।
योग्य व्यक्तिहरू जहाँ पुगे पनि उदाहरणीय, वन्दनीय र आदरणीय बन्छन् । छोटो बुद्धिले राजकाज चल्दैन । नेपालमा बितेका पच्चीसरछब्बीस वर्षमा मात्र झण्डै पच्चीसजना प्रधानमन्त्री र पचास ट्रक जति मन्त्री भइसके । सांसद हुनेको रेकर्ड त संसद् सचिवालय र मदन पुरस्कार पुस्तकालयतिर मात्रै होला । पदबाट हटेपछि जनताको स्मृतिबाट ती हराउँछन् । राष्ट्र र जनताका पक्षमा साँच्चै सत्कर्म गर्ने असल व्यक्तिलाई मात्र इतिहासले सम्झिरहनेछ । सिंहदरवारमा प्रधानमन्त्रीको जागिर खाने कति आए कति । कतिले त राष्ट्र नै ध्वस्त पारे । कतिले आफू र परिवारलाई मात्रै सिंगारे। जनताले खोजेको परिवर्तन सत्ताको होइन। सिंहदरवारका सम्धीहरूले यतिमात्र बुझिदिए पुग्छ।

0 comment