“घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने मनाईने यो अभियानले महिला सशक्तीकरण जागरणको स्तरमा वृद्धि र लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन मद्दत पुर्याएता पनी विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा जिवनसाथीबाट हिंसाको शिकार हुन्छन् ।
प्रत्येक दिन महिलामाथि हातपात हुन्छ, शारीरिक प्रताडना दिइन्छ । बेइज्जती गरिन्छ, धम्क्याइन्छ, यौनदुराचारका साथै हत्या समेत गरिन्छ तर यस्ता हिंसाहरूका बारेमा हामी साहै कम सुन्न पाउछौ किनभने यस्तो दुराचारको सामना गरिरहेका महिलाहरू लाज, सरम र डरका कारण यी कराहरू भन्न सक्दैनन् । धेरैे जसो डाक्टर, नर्स र स्वास्थ्य कार्यकर्ताहरू पनि हिंसालाइ गम्भीर स्वास्थ्य समस्या हो भनेर र मान्दैनन् ।
नेपालको सन्दर्भमा महिलामाथि हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा फरक किसिमले भइरहेको पाइन्छ । हिमाल, पहाड देखि तराई सम्म उच्च घरानिया देखि सुकुम्वासी झुपडी सम्म जहाँ सुकै, जो सुकैबाट र जहिले पनि हिंसा हुन सक्ने सम्भावनाको जोखीममा महिलाहरू हुन्छन् । नेपालमा घरेलु हिसाका अनेक कारणहरू छन् । नेपाली महिलालाई होच्याउने सोच समाजमा अझै व्याप्त छ । त्यसैले हरेक पुरुष वा पुरुषत्व धारण गरेको व्यक्ति चाहे त्यो सासु मालिक्नी किन नहोस् सबैले महिलामाथि हिंसा गरेका छन् ।
घरेलु हिंसा संसारका हरेक देश तथा संस्कृतिमा हुन्छ र यसले समुदायका सबैलाई असर गर्दछ । संसारभरका ३५% महिलाले आफ्नो जीवनको कुनै समयमा घनिष्ठ सम्बन्ध भएको व्यक्तिबाट शारीरिक वा यौनजन्य हिंसा तथा यस्ता सम्बन्ध नभएको व्यक्तिबाट यौनजन्य हिंसाको सामना गर्नुपरेको अनुमान छ । कतिपय देशमा घनिष्ठ सम्बन्ध भएको व्यक्तिबाट हुने हिंसा ७०% सम्म पनि रहेको पाइन्छ ।
नेपाल यसको अपवाद होइन, यहाँ पनि घरेलु हिंसा मानव अधिकार तथा सार्वजनिक स्वास्थ्यको सवालको रुपमा निरन्तर आउने विषय हो । राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ (एनडीएचएस) अनुसार कुनै समयमा विवाह भएका महिलाको एक चौथाइभन्दा बढी (२६%) ले पतिबाट शारीरिक, यौनजन्य वा भावनात्मक हिंसा व्यहोरेका हुन्छन् ।
महिलामाथि हुने हिंसा सार्वजनिक वा निजी जीवनमा लिङ्गका आधारमा हुने विभेदपूर्ण कार्य हो, जसले महिलालाई शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउछ, वा पुर्याउने सम्भावना हुन्छ । यस अन्तर्गत त्यस्तो कार्य गर्ने, धम्की, दबाब र स्वेच्छाचारी रुपमा महिलाको स्वन्त्रतामा बन्देज लगाउने कार्य समेत पर्दछ । महिला हिंसा समाजको त्यो कुरुप तस्विर हो जसले महिलालाई मानवका रुपमा सामान्य अधिकार हरूको उपभोगबाट वञ्चित गराइरहेको हुन्छ ।
त्यसैले यो एउटा जघन्य अपराध हो । हाम्रो समाजमा अहिलेपनि महिलामाथि चरम र निकृष्ट खालका हिंसा भइरहेका छन् । महिलामाथिको हिंसाको प्रकृति र प्रवृत्ति पनि झन झन नौलो र जटिल हुँदै गइरहेको छ । महिलाविरुद्ध हिंसा विश्वभर व्याप्त समस्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन मध्ये एकजना महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोग्ने गरेका छन् । यो तथ्याङ्क अनुसार विश्वभरी नै महिलाहरू हिंसाको उच्च जोखिममा छन् । महिलामाथिका हिंसा उक्त देशको सामाजिक, आर्थिक अवस्था र सांस्कृतिक प्रचलन अनुसार फरक छ । यसको कारण सदियौँदेखि चलनचल्तीमा रहेको पितृसत्तात्मक सामाजिक संरचना, सोही अनुसारको सामाजिक व्यवस्था, विभेदपूर्ण मूल्यमान्यता तथा परम्परा नै हो, जसको आधारमा घर, परिवार, समुदाय, समाज र राज्य सबै तहमा महिलामाथिको हिंसा संस्थागत भएको छ ।
संसार भरका ३५ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट प्रभावित छन् । एक तथ्याङ्कनुसार विश्वमा हरेक दिन १३७ जना महिला आफ्नै परिवारका सदस्य वा पाटर्नरबाट मारिन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोगेकै हुन्छ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले सन् २००८ देखि हरेक वर्ष प्रकाशित गर्दै आएको पुस्तक अन्वेषी’ले नेपालमा महिला हिंसाका घटना बढेको देखाउँछ । ओरेकले गत वर्ष श्रावण २०७६ देखि असार २०७७ सम्मको अवधिमा १ हजार ७ सय ७ वटा हिंसाका घटना र श्रावण २०७५ देखि असार २०७६ सम्म १ हजार ३ सय १९ वटा महिला हिंसाका घटनाको अध्ययनसहितको विष्लेषण गरेको थियो ।
संस्थाले अभिलेख गरेका घटनाको विश्लेषण गर्दा प्रदेश नं १ बाट सबैभन्दा बढी महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । प्रदेश नं १ मा ३३ प्रतिशत (५८२) जना, प्रदेश नम्बर २ मा २९ प्रतिशत (५१५ जना), वाग्मती प्रदेशमा ७ प्रतिशत (११९ जना), लुम्विनी प्रदेशमा १२ प्रतिशत, (२०९ जना), कर्णाली प्रदेशमा १२ प्रतिशत (२१३ जना), सुदरपश्चिम प्रदेशमा ७ प्रतिशत (१३० जना) र गण्डकी प्रदेशबाट जम्मा ०.२ प्रतिशत (९४ जना) महिलामाथि हिंसाका घटना अभिलेख गरिएको छ ।
१ हजार ७ सय ७२ वटा घटनामा सबैभन्दा बढी ६३ प्रतिशत (एक हजार ११६ जना) महिलामाथि आफ्नै घरभित्र हिंसा भएको छ । हिंसा गर्नेहरू सबैभन्दा बढी श्रीमान् र घरपरिवारका सदस्यहरू छन् । १ हजार ११० घरेलु हिंसा मध्ये ७० प्रतिशत (८६० जना) महिला श्रीमान्बाट र २३ प्रतिशत (२५० जना) महिला घरपरिवारका सदस्यबाट हिंसामा परेका छन् । नेपाल प्रहरीमा आर्थिक वर्ष २०७७/०७८ मा आएका उजुरी मध्ये सबैभन्दा धेरै घरेलु हिंसा कै घटना छन् ।यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको अनुमान गर्न सकिन्छ । यद्यपि हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित प्रहरीकहाँ पुग्ने गरेको यथार्थ भने जगजाहेर छ ।
यस्तो सामाजिक संरचना जहाँ पुरुषले जन्मजात विशेषाधिकार पाइरहेको समाजमा महिलाहरूले आफूमाथि भएको हिंसाविरुद्ध बोल्न ठूलै जोखिम उठाउनुपर्दछ । संयुक्त राष्ट्र संघ (सन् १९९३)को महिलाविरुद्धको हिंसा उन्मूल गर्ने सम्बन्धी घोषणापत्र सबै नागरिक जन्मजात स्वतन्त्र र मर्यादा तथा अधिकारमा समान हुन्छन् । महिलामाथि हुने हिंसाको विश्लेषणात्मक अध्ययन प्रतिवेदन र महिलामाथि हुने हिंसाको यथार्थता हिंसारहित सुरक्षित वातावरणमा आत्मसम्मानपूर्वक जीवन जिउन पाउने प्रत्येक नागरिकको नैसर्गिक अधिकार संवैधानिक रुपमै व्यवस्था हुँदाहुँदै पनि यथार्थमा महिलामाथि विभिन्न स्वरुपमा हिंसा भइरहेको छ ।
हामी अहिले विज्ञान र प्रविधिको युगमा छौँ । जटिलभन्दा जटिल काम पनि प्रविधिको माध्यमबाट निकै सरल र सहज ढंगले फत्ते भइरहेका छन् । तर यही प्रविधिको युगमा महिलामाथिको हिंसाको प्रकृति र प्रवृति भने झन्झन् चरम र निकृष्ट तरिकाबाट हुँदैछ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको धारा एकले भन्छ, ‘सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन् तर बिडम्वना नेपाल मात्रै हैन विश्वका कुनै पनि देश महिला हिंसा मुक्त हुन सकेका छैनन् ।
महिला हिंसा अन्त्यका लागि यसमा जिम्मेवार के हो वा को हो ? भन्ने प्रश्नको उत्तर खोज्न अब ढिलो गर्नुहुँदैन । हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गकि हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ ।
हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी मेरी छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ ।
त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ? समग्रमा हामी आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रूर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलन् ?
अन्त्यमा, पुरुषले मनन गर्नुपर्ने केही कुरा छन् । तपाईं जतिसुकै प्रजातान्त्रिक, न्यायप्रेमी र क्रान्तिकारी नै किन नहुनूस्, महिलाको शरीर र आत्मसम्मानलाई व्यवहारतः सम्मान गर्ने सफा नियतको अभावमा तपाईंका सबै परिचय गौण बन्दछन् । तपाईंमा यौनजन्य हिंस्रक प्रवृत्ति छ भने र त्यसले सिर्जेका घटना सार्वजनिक भए भने तपाईंका अन्य सबै सद्गुण ‘शून्य’ मा विलुप्त हुन्छन । त्यति मात्र होइन तपाईं पुरुषको महिलाप्रति सदाशय र मैत्रीभाव हरदम परीक्षामा छ हिजोआज । तपाईंको ‘पुरुषत्व’सँगै तपाईंभित्रको मानवीय र ‘न्यायिक’ चरित्र नै परीक्षामा छ । हिजो थिएन भन्ने होइन, तर आज बढी छ । कार्ल माक्र्स र पाब्लो नेरुदा माथि लाग्ने गरेको आरोपले मात्र होइन, मोदनाथ प्रश्रति र रघुजी पन्तको टिप्पणीले पनि प्रष्ट पार्दछ । ‘मीटु’ अभियानलाई पनि लिन सक्नुहुन्छ ।
किनभने हिजो जसरी तपाईंका कर्तुत लुकाउने सजिला अस्त्र आज छैनन्, ढिलोचाँडो तपाईंको दोहोरो चरित्रको मखुन्डो खुल्छ । तपाईं प्रतिकारको निशानामा पर्नुहुन्छ । त्यसो भएको खण्डमा तपाईं सानो या ठूलो जुनसुकै स्तरको सार्वजनिक बेइज्जती खप्न तयार हुनुपर्छ, यो दाग जीवित हुँदा मात्र होइन मरणोपरान्त समेत वर्षौं वर्ष हजारौं वर्षसम्म प्रष्ट देखिन्छ । यदि यो कुरा तमाम पुरुष वर्गमा बुझाउन सकिने हो भने हिंसाको दर स्वतः आधा भन्दा बढीले घट्छ । सँगसँगै घरपरिवार, विद्यालयबाट नै छोराछोरीमा निगरानी, असल शिक्षा अनि दीक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तब मात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसूस गर्नुपर्दैन, हिंसामा पर्नुपर्दैन ।


0 comment